Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना रोक्न दोलखामा पनि ‘आइसोलेसन’ कक्ष

कोरोना रोक्न दोलखामा पनि ‘आइसोलेसन’ कक्ष


दोलखा, फागुन २५

छिमेकी देश चीनबाट फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारको लागि सदरमुकाम चरीकोटमा १० शय्या क्षमताको कोरोना आइसोलेसन (एकान्त) कक्ष निर्माण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्यकर्मी, भीमेश्वर नगरपालिका सम्मिलित जिल्ला सुरक्षा समितिको बैठकले तत्कालीन महिला तथा बालबालिका कार्यालय रहेको भवनमा १० शय्या क्षमताको कोरोना उपचार कक्ष निर्माण गर्ने निर्णय गरेको हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेसँगै चीनसँग सीमा जोडिएको दोलखा जिल्लाले पनि अलग्गै उपचारका लागि आइसोलेसन कक्षको व्यवस्था मिलाएको हो । चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रनजिकै प्रयोगविहीन अवस्थामा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयलाई आइसोलेसनको रुपमा प्रयोग गरिने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले वर्तमान परिस्थितिलाई मध्यनजर गरेर प्रयोगविहीन अवस्थाको सो भवनलाई अलग्गै उपचारको व्यवस्थाको लागि प्रयोग गर्न सहमति दिइएको बताए । आइसोलेसन कक्षको लागि बेड, स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्थापन चरीकोट अस्पतालले गर्ने प्रजिअ शर्माले जानकारी दिए । साथै प्रशासनले शुक्रबार एक सूचना जारी गरी सम्पूर्ण दोलखाली नागरिकहरुलाई सचेत रहन समेत अनुरोध गरेको छ । साथै प्रशासनले अर्को निर्णय नभएसम्मका लागि सामूहिक रुपमा भेला, मेला, महोत्सव, सभा, सम्मेलन तथा होलीलगायतका पर्व आयोजना नगर्न अनुरोध समेत गरेको छ ।गत महिना देखा परेको कोरोना भाइरसको संक्रमणका कारण विश्वका ८४ देशमा कोरोना भाइरस फैलिएको छ । दोलखा पनि संक्रमण राष्ट्रको सिमानामा रहेको जिल्ला भएकाले संक्रमण हुनुअगाडि नै सो भाइरस रोकथाममा लागी तयारी थालेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । हालसम्म ८४ देशका करिब एक लाखभन्दा बढी नागरिकलाई कोरोनाभाइरसले प्रभावित बनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया