Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि क्षेत्रमा बैंकहरूको पाँच खर्ब बढी कर्जा

कृषि क्षेत्रमा बैंकहरूको पाँच खर्ब बढी कर्जा


काठमाडौं । कृषि क्षेत्रमा मात्र वाणिज्य बैंकहरुले पाँच खर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा पाँच खर्ब १९ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको गरेको छ । ‘यस अवधिमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २४ अर्ब ४५ करोड १० लाख रुपैयाँ रहेको र यसमध्ये १२ दशमलव ३८ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको देखियो’, गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबारे भने ।

गभर्नर अधिकारीका अनुसार ऊर्जा क्षेत्रमा भने वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीको पाँच दशमलव ८४ प्रतिशत अर्थात् दुई खर्ब ४५ अर्ब नौ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा एक करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्षरुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा समेत गरी कुल नौ दशमलव ४९ प्रतिशत अर्थात् तीन खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम भने ४५ खर्ब ४८ अर्ब ५७ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

विकास बैंकहरुले २०८० असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको १९ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असोज मसान्तमा उक्त क्षेत्रहरुमा औसत २६ दशमलव ११ प्रतिशत अर्थात् एक खर्ब १३ अर्ब ८० करोड कर्जा प्रवाह गरेको गभर्नर अधिकारीले बताए । यस अवधिमा विकास बैंकहरुको कुल कर्जा रकम चार खर्ब ५४ अर्ब १७ करोड ९० लाख तथा कुल निक्षेप रकम पाँच खर्ब १७ अर्ब ६६ करोड ३० लाख रुपैयाँ पुगेको छ । फाइनान्स कम्पनीहरुले पनि २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको १४ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असोज मसान्तमा उक्त क्षेत्रहरुमा औसत २१ दशमलव २२ प्रतिशत अर्थात् १८ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको गभर्नर अधिकारीको भनाइ छ । यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः एक खर्ब पाँच अर्ब ४३ करोड र ९१ अर्ब ५६ करोड ७० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असोज मसान्तमा वाणिज्य बैंकहरुको औसत छ दशमलव सात प्रतिशत, विकास बैंकहरुको ११ दशमलव पाँच प्रतिशत र वित्त कम्पनीहरुको सात दशमलव प्रतिशत कर्जा विपन्न वर्गमा लगानीमा रहेको छ । कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराइएको पुनर्कर्जा २०७९ असोज मसान्तमा एक खर्ब पाँच अर्ब ४७ करोड लगानीमा रहेको छ । सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ असोज मसान्तसम्म कुल एक लाख ४७ हजार छ हजार ४२ ऋणीलाई दुई खर्ब १० अर्ब ४७ करोड कर्जा लगानीमा रहेको गभर्नर अधिकारीले बताए ।

यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय शीर्षकमा ६० हजार ६१ ऋणीलाई एक खर्ब ३८ अर्ब २१ करोड र महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार सात सय ५० महिला उद्यमीलाई ६८ अर्ब ६९ करोड कर्जा लगानीमा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य आठ शीर्षकअन्तर्गत कुल दुई हजार आठ सय ३१ ऋणीहरुलाई तीन अर्ब ५७ करोड कर्जा लगानी गरेको जानकारी पनि गभर्नर अधिकारीले दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया