Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरूलाई तरलता सुविधा उपयोग गर्न राष्ट्र बैंकको नयाँ शर्त

बैंकहरूलाई तरलता सुविधा उपयोग गर्न राष्ट्र बैंकको नयाँ शर्त


काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले संशोधित कार्यविधि सार्वजनिक गरेको हो । उक्त संशोधनले बैंकहरुलाई तरलता सुविधा उपयोग गर्न केही शर्तहरु राखेको छ ।

गभर्नरबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउने यो कार्यविधिअनुसार बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा सहभागी संस्थाले मात्र दैनिक तरलता सुविधा उपयोग गर्न पाउनेछन् । दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुई जना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेश गर्नुपर्ने संशोधित कार्यविधिमा उल्लेख छ ।

दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागसँग दैनिक तरलता सुविधासम्बन्धी सम्झौता गर्नुपर्ने, दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खातामा जम्मा गर्ने प्रयोजनका लागि धितो व्यवस्थापन खाता खोल्न राष्ट्र बैंकको बैंकिङ विभागमा निवेदन दिनुपर्ने संशोधित कार्यविधिमा उल्लेख छ ।

कार्यविधिअनुसार दैनिक तरलता सुविधाबापत उपयोग गर्नसक्ने अधिकतम सुविधा सीमा र अवधिको लागि संस्थाले मौद्रिक व्यवस्थापन विभागसँग भएको सम्झौता र बैंकिङ विभागबाट खोलिएको खाताको विवरण तथा धितो राखिने सुरक्षणपत्रको सक्कलै प्रति (ब्याज भुक्तानी पुर्जा भएका सुरक्षणपत्रको हकमा सो समेत) राखेर मौद्रिक व्यवस्थापन विभागमा निवेदन दिनुपर्नेछ । उक्त निवेदनको आधारमा पेश भएका सुरक्षणपत्र रोक्का राखी मौद्रिक व्यवस्थापन विभागले धितो व्यवस्थापन खातामा सुविधा रकमको सीमा र अवधि निर्धारण गरी प्रचलित बैंकिङ प्रणालीमा प्रविष्टि गर्ने कार्यविधिमा उल्लेख छ ।

यसैगरी दैनिक तरलता सुविधामार्फत संस्थाले उपयोग गरेको रकम तोकिएको समय सीमाभित्र फरफारक हुन नसकेमा स्वीकृत सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाका रूपमा गणना हुनेछ । यस्तो सुविधामा लाग्ने ब्याजको गणना प्रचलित बैंकदरमा गरिने कार्यविधिमा उल्लेख छ । सार्वजनिक विदाका कारण सुविधाको समय एक दिनभन्दा बढी भएमा पनि सो अवधिको ब्याज गणनासमेत बैंकदरमा नै गरिनेछ । संस्थामा प्राप्त सुरक्षणपत्रको आधारमा धितो व्यवस्थापन खातामा रकम मौज्दात कायम भएपश्चात् दैनिक तरलता सुविधा उपयोग गर्न सकिने र सो कारोबारको हिसाब फरफारक सोही दिनको तोकिएको समयभित्र गरिने पनि कार्यविधिमा उल्लेख छ ।

दैनिक तरलता सुविधामार्फत संस्थाले उपयोग गरेको रकम तोकिएको समय सीमाभित्र फरफारक हुन नसकेमा स्वीकृत सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाका रूपमा गणना हुने कार्यविधिमा उल्लेख छ । यस्तो सुविधामा लाग्ने ब्याजको गणना प्रचलित बैंकदरमा गरिन्छ, कार्यविधिमा भनिएको छ । धितो सुरक्षणको शर्त र सीमासम्बन्धी व्यवस्थाअन्तर्गत भने दैनिक तरलता सुविधा उपयोग गर्नका लागि नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (प्रथम संशोधन, २०७९), २०७८ को विनियम २६ बमोजिमका सुरक्षणपत्र धितोमा राख्नुपर्नेछ र यस्ता सुरक्षणपत्रहरूको परिपक्व हुने अवधि रोक्का अवधिभन्दा पछाडि हुनुपर्नेछ । कार्यविधिअनुसार धितो राखिएका सुरक्षणपत्रको परिपक्व अवधिसम्बन्धी जानकारी गराउने दायित्व संस्था स्वयंको हुनेछ ।

राष्ट्र बैंकका अनुसार ओभरनाइट तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको नियमानुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाइनेछैन । कार्यविधिअनुसार न्यूनतम तीन महिना अवधिका लागि दैनिक तरलता सुविधा सीमा लिनुपर्नेछ । यस्तो सुविधाबापत धितो राखिएका सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागको स्वीकृतिमा त्रैमासिक रुपमा परिवर्तन वा थपघट गर्न सकिनेछ र सोहीअनुसार यस्तो सुविधाको नयाँ सीमा कायम हुनेछ । दैनिक तरलता सुविधाको सीमा वृद्धि गर्नु परेमा थप सुरक्षणपत्रको सक्कलै प्रति (ब्याज भुक्तानी पुर्जा संलग्न भएका सुरक्षणपत्रको हकमा सो समेत) मौद्रिक व्यवस्थापन विभागमा पेश गर्नुपर्नेछ र सोहीबमोजिम पुनः नयाँ सीमा कायम गरिनेछ । दैनिक तरलता सुविधा सम्झौताअन्तर्गत धितो राखिएका सुरक्षणपत्रको संस्थाले समेत छुट्टै अभिलेख राख्नुपर्नेछ । मौद्रिक व्यवस्थापन विभागले आवश्यकताअनुसार त्यस्तो अभिलेख निरीक्षण गर्न सक्ने कार्यविधिमा उल्लेख छ । उपत्यकाबाहिरका संस्थाले धितो राख्नुपर्ने सुरक्षणपत्रको सक्कलै प्रति राष्ट्र बैंकको नजिकको कार्यालयमा पेश गर्नुपर्नेछ । कार्यालयले मौद्रिक व्यवस्थापन विभागलाई सोको जानकारी गराई उक्त विभागले सम्बन्धित संस्थाको सीमा कायम गरिदिनुपर्नेछ ।

कुनै संस्थाले यस कार्यविधिबमोजिम तोकिएको अवधिभित्र आफूले उपयोग गरेको ओभरनाइट सुविधा भुक्तानी गर्न नसकेमा बैंकले संस्थाको नाममा यस बैंकमा रहेको कुनै पनि खाताको मौज्दातबाट सम्पूर्ण लेना रकम (तिर्न बाँकी सुविधा रकम, सो अवधिसम्मको ब्याज/हर्जाना र नियमानुसार लाग्ने शुल्कलगायतका रकमसमेत) असुल गर्न सक्नेछ । यदि सो मौज्दातले सम्पूर्ण लेना रकम नखामेमा संस्थाले यस बैंकमा धरौटीमा राखेका सुरक्षणपत्र जफत गरी बैंकले आफ् नो स्वामित्वमा लिई वा बिक्री गरी असुलउपर गर्न सक्नेछ ।

साथै, यस्तो बक्यौता रकम पूर्णरुपमा फरफारक नभएसम्म संस्थाको धितो व्यवस्थापन खाता प्रचलित लेखा निर्देशिका तथा बैंकिङ कार्य निर्देशिकाबमोजिम रोक्का राखी दैनिक तरलता सुविधा बन्द गरिने कार्यविधिमा उल्लेख छ । दैनिक तथा ओभरनाइट तरलता सुविधा उपयोग गर्न पाउने संस्था, धितो राख्नुपर्ने सुरक्षणपत्र, सुविधाको अधिकतम सीमा, दैनिक तथा ओभरनाइट तरलता सुविधाको शुल्क, ब्याजदर तथा अन्य शर्तहरू समय–समयमा निर्धारण भएबमोजिम हुने कार्यविधिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया