Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखाद्य सुरक्षा र कृषि आय बढाउन निर्बाध बजार पहुँचको सुनिश्चिततामा जोड

खाद्य सुरक्षा र कृषि आय बढाउन निर्बाध बजार पहुँचको सुनिश्चिततामा जोड


काठमाडौं । दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजधानीमा यहाँ आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनमा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले संयुक्त रूपमा आयोजना गरेको उक्त सम्मेलनमा महासङ्घ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)मा यस क्षेत्रका मुलुकबीच व्यापार विस्तारको अवसर भए पनि कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोधलगायतका समस्या रहने गरेको छ । अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए । श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सीमान्तकृत किसान रहेकाले उनीहरूको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताए ।

उनले कृषि क्षेत्रको निर्यात लागत निकै महँगो भएको र यहाँका धेरै देशहरूले खुद कृषिजन्य वस्तु आयात गरेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेकोमा जोड दिए । दक्षिण एसियाले संयुक्तरूपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने मन्त्री फर्नान्डोले बताए । दुबई मल्टी कमोडिटिज सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताए । कृषि बजार विस्तारका लागि ब्लकचेनलगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने उनको भनाई थियो । सम्मेलनमा उद्योग सचिव डा तोयानारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताउँदै लगानी बढ्दा निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने उल्लेख गरे ।

यस्तै उनले साफ्टाअन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तुहरू घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए । दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने उनको भनाई थियो । सम्मेलनमा १२ देशका करिब चार सय सहभागी छन् । सम्मेलन शुक्रबार सकिनेछ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया