Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनम्बर प्लेट स्पष्ट नभएका सवारी कारबाहीमा

नम्बर प्लेट स्पष्ट नभएका सवारी कारबाहीमा


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बंग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाइका साथ कारबाही गर्न थालेको छ ।

महाशाखाले मंगलबार मात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका एक सय ६३ वटा सवारी साधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुनेजस्ता क्रियाकलापलाई रोक्न नै यस अभियानको थालनी गरिएको जानकारी दिए । यस अभियानलाई गत आइतबारदेखि कडाइका साथ कार्यान्वयन गरिएको उनको भनाइ छ । महाशाखले हालसम्म तीन सय ९९ वटा सवारीलाई कारबाही गरी नम्बर प्लेटसमेत स्पष्ट लेख्न लगाएको छ ।

यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए । उनले यस कारबाही अभियानले सवारी धनीहरूलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एवं मर्मत सम्भार गर्ने बानीको विकास समेत गर्ने अपेक्षा लिएको बताए । सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पूर्ण सवारी धनीहरूलाई महाशाखाले अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया