Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध४ सय केभी क्षमताको तामाकोसी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

४ सय केभी क्षमताको तामाकोसी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने


काठमाडौं ।
सरकारले चार सय केभी क्षमताको तामाकोसी–काठमाडौँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार, नेपाल विद्युत् प्राधिरकण तथा एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न थालिएको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त तामाकोसी–काठमाडौँ २२०/४०० केभी क्षमताको प्रसारण लाइन आयोजनाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य सार्वजनिक निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्नेछ । यस्तै रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्राणलीमा जोडिने भएको छ ।

न्यू खिम्ती सवस्टेसनदेखि काठमाडौँसम्म कुल चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको हो । सोही प्रसारण लाइन निर्माणको क्रममा दोलखा जिल्लाको मेलुङ गाँउपालिका, भीमेश्वर नगरपालिकालगायत विभिन्न स्थानमा पर्ने चार सय केभी आयोजनाको टावर निर्माणका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले मंगलबार एक सार्वजनिक सूचना प्रकाशित गरी आयोजनाले प्रभावित पार्ने क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण गर्न लागेको हो । सरकारले गत साउन १९ गते आयोजना प्रभावित क्षेत्रको जग्गा प्राप्ति गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेको थियो । ‘जग्गा प्राप्ति ऐन, २०३४’ को दफा ९ बमोजिम जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइएको मंगलबार प्रकाशित सूचना उल्लेख छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गाको भोगचलनसम्बन्धी काजगात, निस्सा तथा प्रमाणसहित रीतपूर्वक नेपाल विद्युत् प्राधिकरण, तामाकोसी–काठमाडौँ प्रसारण लाइन आयोजना भक्तपुर र साइट कार्यालय चरीकोटमा आवेदन दिन आग्रह गरिएको छ । आयोजनाले कुल तीन सय ६६ जनाको जग्गा लिन लागेको छ । आयोजनाले रीतपूर्वक निवेदन दिई सरकारको काममा सहयोग गर्नसमेत आग्रह गरेको छ । जग्गा प्राप्ति ऐनअनुसार आयोजना प्रभावितलाई कानुनअनुसार मुआब्जा उपलब्ध गराइनेछ ।

तामाकोसी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै छ । सोही करिडोरमा एक सय मेगावाट क्षमताको तामाकोसी पाँचौँको निर्माण सुरु हुनै लागेको छ ।

यस्तै झण्डै आठ सय ८० मेगावाट क्षमताको तामाकोसी तेस्रोलगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने तयारी छन् । निजी क्षेत्रले निर्माण सम्पन्न गरेका र निर्माणमा जान लागेका आयोजनाको संख्या झण्डै एक दर्जनको हाराहारीमा रहेको छ । माथिल्लो तामाकोसीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटीय क्षेत्रमा समेत थप दुई आयोजना अध्ययनको क्रममा छन् । त्यस्तै, दोलखा र रामेछापमा पनि अन्य आयोजना निर्माणाधीन तथा निर्माणमा जाने तयारी छन् । ती सबै आयोजनाबाट उतपादित हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणाली जोडेर बढी माग हुने क्षेत्रमा पु¥याउनका लागि प्रसारण लाइनसबैभन्दा महत्वपूर्ण हुन जान्छ ।

माथिल्लो तामाकोसीबाट उत्पादन हुने विद्युत् रामेछापको न्यू खिम्ती सवस्टेसनबाट सिन्धुली, महोत्तरी हुँदै धनुषाको ढल्केबरमा पु¥याएर मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । प्रसारण लाइन तथा अन्य संरचनाको अभावमा विद्युत् घुमाउनु परेको छ । यही अवस्थालाई मध्यनजर गरेर सरकारले चार सय केभी क्षमताको तामाकोसी–काठमाडौँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया