Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीमदत्तले पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ बनाउने

भीमदत्तले पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ बनाउने


धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ मा ‘नेपाल गेट’ बनाउने योजना बताएको हो । गड्डाचौकीबाट भारतलगायत तेस्रो मुलुकदेखि नेपाल प्रवेश गर्दा नेपालीको पहिचानका लागि नगरपालिकाले त्रिदेशीय नाकाको उक्त बिन्दुमा आधुनिक गेट बनाउन लागेको हो ।

गेट निर्माणका लागि सम्झौतासमेत भइसकेको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरका इन्जिनियर हिमालय सिंह ऐरले दुईवटा पास भएको गेट निर्माणका लागि अस्मिता विल्र्डस प्रालिसँग ६२ लाख लागतमा गेट निर्माण गर्ने सम्झौता भएको बताए । ‘गेटको दायाँबायाँबाट पास हुन्छ’, इन्जिनियर ऐरले भने, ‘आउँदो माघ मसान्तसम्ममा गेट निर्माण कार्य सकिन्छ ।’ गेटमा नेपालको नक्सा, बुद्धको मूर्तिलगायत नेपाली भूगोल, लोक संस्कृति झल्किने प्रतीक राखिने बताइएको छ ।

भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भारत चीनको त्रिद्देशीय नाका गड्डाचौकी नेपाल प्रवेशद्वारमा गेट निर्माण कार्यको परिकल्पना जनताको मर्मअनुरूप भएको बताए । महाकाली नदीमा पुल निर्माणसँगै भारत जोड्ने र गड्डाचौकी, ब्रम्हदेव हुँदै चीन जोड्ने महाकाली कोरिडोरको नेपाल प्रवेश बिन्दुमा गेट निर्माण कार्य नेपालीको स्वाभिमान र बाहुनालाई स्वागतका लागि बनाउन लागिएको भीमदत्त नगरपालिकाका नगरप्रमुख विष्टले बताए ।

‘कामका लागि हाम्रा नेपाली दाजुभाई दिदीबहिनी भारत गएका छन्’, नगरप्रमुख विष्टले भने, ‘फर्किदा गेट देखेर मातृभूमी पुगेको आभास हुन्छ ।’ विदेशी पाहुनालाई नेपाल प्रवेश गर्दा गेटबाट नेपालका राष्ट्रिय प्रतीक र गौतम बुद्ध जन्मेको देश भनेर अनुभूति हुनेछ । ‘गेटले पूर्ण नेपालीपनको झल्को दिन्छ’, नगरप्रमुख विष्टले भने, ‘स्वदेशीको स्वाभिमान र विदेशीको स्वागत एव बिदाई गर्ने गेट हुनेछ ।’

भारतीय सीमासँग जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले सिंगो नेपालको आभार हुने हिसाबले गेट निर्माण गर्न लागेको मेयर विष्टले बताए । गत आर्थिक वर्ष २०७६/०७७ मा भीमदत्त नगरपालिकाले नै नेपाल प्रवेश क्षेत्र गड्डाचौकीमा ७७ फिट अग्लो नेपालको झण्डा स्थापना गरेको थियो । ‘भारतबाट नेपाल प्रवेश गर्दा नेपाली राष्ट्रिय झण्डाको आभास हुन्छ, ‘नगरप्रमुख विष्टले भने, ‘झण्डाको अलि पूर्वतिर नेपाल गेटबाट झन् नेपालीलाई अपनत्व हुन्छ ।’ जनमत र चुनावी प्रतिबद्धताअनुरूप गेट निर्माण कार्य अघि बढाइएको नगरप्रमुख विष्टले बताए । पश्चिम नेपालको गड्डाचौकी नाका भारतको राजधानी दिल्लीसँगको सबैभन्दा नजिकको नाका हो ।

गड्डाचौकीदेखि दिल्ली करिब तीन सय ७९ किलोमिटर मात्रै छ । महाकाली नदीमा पुल निर्माणसँगै नेपालको विकास र समृद्धि हुने अपेक्षा गरिएको छ । संघ र प्रदेश सरकारबाट परिकल्पना समेत नगरिएको योजना स्थानीय सरकार भीमदत्त नगरपालिकाबाट सुरुवात भएको छ । भारतले समेत आफ्नो राष्ट्रियता झल्किने हिसाबले भारत प्रवेशद्वारमा गेट निर्माण गरेको थियो । त्योसँगै भीमदत्त नगरपालिकाले समेत नयाँ परिकल्पनाका साथ गेट निर्माण कार्यअघि सारेको छ । गेट निर्माण कार्यलाई स्वाभिमानसँग जोडिएको जानकारहरूको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया