Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगश्रमअध्यागमन कर्मचारीले भिसा नीति नबुझ्दा व्यवसायीको प्रदर्शन

अध्यागमन कर्मचारीले भिसा नीति नबुझ्दा व्यवसायीको प्रदर्शन


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरकारी कर्मचारीले भिसा नीति नबुझ्दा वैदेशिक रोजगारीका क्रममा कुवेत उड्न लागेका नेपाली श्रमिकलाई रोकेको भन्दै मेनपावर व्यवसायीले प्रदर्शन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारीले कुवेत जान लागेका नेपाली श्रमिकलाई गतसाता विमानस्थलमा रोकेसँगै त्यसविरुद्ध आइतबार मेनपावर व्यवसायीले प्रदर्शन गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीद्वारा श्रमिकमाथि गरिएको ज्यादतीविरुद्ध वैदेशिक रोजगार व्यवसायीहरूले शान्तिपूर्ण धर्ना कार्यक्रमअन्तर्गत आइतबार अध्यागमन विभाग, कालिकास्थानको परिसरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरूले विभागका महानिर्देशकको राजीनामा समेत मागेका थिए । ‘अध्यागमनका महानिर्देशक राजीनामा दे, अध्यागमनको ज्यादती बन्द गर, भिजिट भिसा सेटिङ बन्द गर, व्यवसायीलाई दुःख दिने काम बन्द गर, वैदेशिक रोजगारमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर’ लगायतका प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका थिए ।व्यवसायीहरूले यसअघि पनि संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरूलाई अध्यागमनका कर्मचारीहरूले विनाकारण दुःख दिने गरेको बताए । अध्यागमनका कर्मचारीहरूले विदेश जाने नेपाली श्रमिकलाई सहजीकरण गर्नुपर्नेमा विनाकारण समस्या सिर्जना गरी असहज वातावरण निर्माण गर्नेगरेको र ती कार्यहरू बन्द हुनुपर्ने व्यवसायीहरूको माग समेत रहेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले कुवेत जानबाट रोकेर अध्यागमन विभागले आफ्नो क्षेत्राधिकारबाहिर गई कार्य गरेको भन्दै त्यसको विरोधस्वरूप प्रदर्शन गरेको बताए । उनले अध्यागमन वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा गई मनोमानी गरेको हुँदा त्यसको प्रतिरोधस्वरूप विभागका महानिर्देशकको राजीनामा माग गर्दै प्रदर्शन गरिएको बताए । व्यवसायी मात्र नभई श्रमिकहरू समेत विदेश जाने क्रममा अध्यागमनका कर्मचारीद्वारा पीडित हुनेदेखि लिएर फर्केर आउँदा भन्सारका कर्मचारीहरूले भन्सार शुल्कका नाममा विदेशबाट फर्किने श्रमिकलाई पीडा दिएको पाइन्छ । पछिल्लो समय कार्यान्वयनमा नजाँदै मोबाइललगायतका सामग्री ल्याउन नपाउने तथा कर तिर्नुपर्ने भन्दै श्रमिकलाई दुःख दिएका थिए ।

अध्यागमनका कर्मचारीले कुवेतको भिसासम्बन्धी नीतिलाई नबुझ्दा संस्थागत श्रम स्वीकृति लिई कुवेत जान लागेका एक सय १७ जना श्रमिकलाई विमानस्थलमा रहेको अध्यागमनले रोकेको थियो । गतसाता एक सय ३० जना श्रमिकहरूमध्ये एक सय १७ जना श्रमिकहरूलाई रोक्दा उनीहरूको टिकटबापत झण्डै एक करोड रुपैयाँ समेत गुमेको थियो । कुवेत जान नदिएको विषयलाई लिएर सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले श्रमिकहरूको मानव अधिकारको हनन भएको हुँदा यस्तो घटना हुन नदिन विभागलाई सचेत रहन अपिल गरेको थियो ।


क्याटेगोरी : श्रम
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया