Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसरसफाइलाई ध्यान दिँदै मन्थलीमा ‘डोको डस्टविन’ अभियान

सरसफाइलाई ध्यान दिँदै मन्थलीमा ‘डोको डस्टविन’ अभियान


मन्थली (रामेछाप) । मन्थली नगरपालिका र रामेछाप–काठमाडौँ सिर्जनशील समाजले जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् ।

फोहर सङ्कलनका लागि जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक डोको राखेर अभियान सुरु गरिएको हो ।

मन्थलीको वाणिज्य बैंक चोकबाट रेडक्रस लाइन हुँदै कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, जिल्ला हुलाक, टेलिकम, पशुसेवा केन्द्र, घरेलु उद्योग हुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्रसहित कृषि विकास बैंकको चोकसम्मको चक्रपथ सडकमा रामेछाप–काठमाडौँ सिर्जनशील समाजले करिब ४३ डोको राखेको समाजका अध्यक्ष विपिन भट्टराईले बताए ।

नगरप्रमुख लव श्रेष्ठले नगरपालिकाले बजार क्षेत्र हुँदै मन्थली अस्पताल चोकबाट देवकोटा–बिपी–मदन आश्रित चोकसम्म करिब दुई सय डोको डस्टविन राखेको जानकारी दिए । बजारको सरसफाइलाई मध्यनजर गर्दै पहिलो चरणमा वडाध्यक्षसँगको समन्वयमा बजार क्षेत्रका वडाबाट अभियान थालिएको भन्दै अन्य वडामा पनि क्रमशः अभियान विस्तार गर्दै लैजाने उनले बताए ।

समाजका अध्यक्ष भट्टराईले स्थानीयस्तरमा उत्पादन भएका डोको वातावरण मैत्री हुने तथा उत्पादित सामान पनि बिक्री हुने भएकाले यसलाई छनोट गरिएको बताए । संस्थाबाट डोकोबापत सङ्कलन भएको रकमले स्थानीयको आर्थिक अवस्थामा टेवा पुग्ने उनको भनाइ थियो ।

अध्यक्ष भट्टराईले मन्थली बजारमा अधिकांश ठाउँमा स्टयान्ड बनाएर डोको डस्टविन राखिएको बताएका छन् । उनका अनुसार यो अभियान सञ्चालनपश्चात सरकारी कार्यालयमा आउने सेवाग्राही र बजारमा आउने नागरिकले प्रयोग गरेको पानीका बोतल, अन्य फोहरजन्य वस्तु डस्टविनमा सङ्कलन गरी भोलिपल्ट बिहान नगरपालिकाले उक्त फोहर व्यवस्थापन गर्ने गरेको भट्टराईले जानकारी दिए ।

यसअघि डोको नराख्दा जथाभावी फोहर थुपार्ने गरिएकामा डोको डस्टविन अभियानपछि बजार सुन्दर र सफा देखिएको व्यवसायी रामहरी उप्रेतीले बताए । यस्तो अभियान यसअघि अन्य जिल्लामा भएको भन्दै अहिले मन्थली सदरमुकाममा सुरु भएपछि आफू उत्साहित भएको स्थानीय टङ्क श्रेष्ठले बताए । सदरमुकाममा मात्र नभई जिल्लाका सबै पालिकाले यस किसिमका अभियान थाल्नुपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया