Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व १० प्रतिशतले बढ्यो

सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व १० प्रतिशतले बढ्यो


सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको आम्दानीमा १० प्रतिशतले वृद्धि भएको छ । निकुञ्जको कार्यालय नाम्चेका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा छ करोड २३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा छ करोेड ९६ लाख ७८ हजार संकलन भएको छ । चालू आर्थिक वर्षको साउनमा छ लाख ५६ हजार रुपैयाँ, भदौमा ३३ लाख ९५ हजार रुपैयाँ, असोजमा दुई करोड १० लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

यस्तै, कात्तिकमा तीन करोड १२ लाख २७ हजार रुपैयाँ, मङ्सिरमा एक करोड एक लाख ४३ हजार रुपैयाँ र पुसमा ३२ लाख एक हजार रुपैयाँ राजस्व उठेको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पर्यापर्यटन शीर्षकबाट छ करोड ६६ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, वन पैदावर बिक्री वितरण शीर्षकबाट ४० लाख ८३ हजार रुपैयाँ र दण्ड सजायबाट २५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

निकुञ्जको प्रमुख राजस्व सङ्कलनको स्रोत नै पर्यापर्यटन हो । चालू आर्थिक वर्षको पहिलो छ महिनामा २८ हजार तीन सय ९० जना पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ । गत आर्थिक वर्षको सोही अवधिमा २६ हजार नौ सय ४९ जना पर्यटकले भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष एक हजार चार सय ४१ जना बढी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् । निकुञ्जको कार्यालयका सूचना अधिकारी मण्डलका अनुसार यस वर्ष सार्क मुलुकका दुई हजार सात सय १९ जना, अन्य विदेशी मुलुकका २२ हजार ८८ र नेपाली तीन हजार पाँच सय ८३ जना पर्यटकले भ्रमण गरेका छन् । ‘नेपाली पर्यटकहरू अलिक कम आउँछन्, यहाँ घुम्न आउने अधिकांश पर्यटकहरू विदेशी नै हुन्छन्, कुनै हिमाल चड्ने हुन्छन्, भने कुनै घुम्न मात्रै पनि आउने हुन्छन्, त्यसैले सिजनमा निकुञ्जको डिउटी गर्न छुट्टै आनन्द हुन्छ, पर्यटकहरूसँग रामाउँदै काम गर्दाको मज्जा बेग्लै छ,’ उनले भने । यस क्षेत्रमा वर्षको छ महिना पर्यटकीय सिजन हुने र छ महिना अपसिजन हुने गर्छ । फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मंसिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अपसिजन’ मानिन्छ ।

सिजनमा दैनिक नौ सय जनासम्म पर्यटक प्रवेश हुने गरेकोमा अहिले मुस्किलले ५/७ जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जले प्रतिव्यक्ति नेपालीबाट प्रवेश शुल्कबापत एक सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकबाट एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट तीन हजार रुपैयाँ राजस्व लिने गरेको छ । यस्तै, हेलिकोप्टर अवतरण गरेबापत तीन हजार रुपैयाँ लिने गरिन्छ ।

कार्यालयले पर्यटक प्रवेश शुल्कसँगै भरिया प्रवेश शुल्क, साहसिक पर्यटन शुल्क (प्याराग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाइट) आदि शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको सूचना अधिकारी मण्डले बताए । ‘निकुञ्जको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक शुल्क हो, विश्वको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौँ हिमालहरू यही निकुञ्जमा पर्ने भएकाले विश्वका धेरै मुलुकका पर्यटकहरू भ्रमणका लागि आउँछन्’, उनले भने । सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण र अवलोकन, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ । विसं २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज ११४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुराहरू समेत रहेका छन् । निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायका अनुसार सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज १८ सय मिटरदेखि ८८४८ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पन्छी पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या तीन हजार जनाभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलको भनाइ छ ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया