Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीदार्चुला अस्पतालकी सिनियर अनमी विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

दार्चुला अस्पतालकी सिनियर अनमी विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार


काठमाडौं । दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्यसचिव डा रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कारसहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका थिए । विष्ट सिनियर अनमी छैटौँ तहमा कार्यरत छिन् । त्यसैगरी सोही अवसरमा चार जना स्वास्थ्यकर्मीलाई ५० हजार रुपैयाँ नगद राशीसहित स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा पुरस्कार पाउनेहरूमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक सुष्मा थपलिया रहेका छन् । पुरस्कृत सबै स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेत र सचिव डा पोखरेलले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

हरेक वर्ष स्वास्थ्य मन्त्रालयले एक जना स्वास्थ्यकर्मीलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कृत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यमन्त्री बस्नेतले जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई व्यवहारमा उतार्न लाग्नुपर्ने बताए । यस्तै, कार्यक्रममा उनले कुनै पनि कर्मचारीलाई आस्थाका भरमा पक्षपात नगरेको तर कामका आधारमा भने मूल्याङ्कन गरेर अवसर दिएको बताए । मन्त्री बस्नेतले भने, ‘यहाँ आफूले अवसर पाए पक्ष हुन्छ तर अरूले पाए मात्र विपक्ष हुने हो ।’ सीमित सिटका कारण एकै पटक अवसर दिन भने नसकिने मन्त्री बस्नेतको बताए ।

यस्तै, उनले काजमा बसेका कर्मचारीको काज फिर्ता गरेको, विदेश भ्रमणमा दुर्गमका काम गरेकालाई पनि अवसर दिएको र विभिन्न अस्पतालका कामचोर कर्मचारीलाई कारबाही गरेको दाबी गरे । केही सरकारी अस्पतालमा कर्मचारी युनियन र बिचौलियाका रूपमा कार्यरत तल्लो तहका कर्मचारीहरूलाई समेत कारबाही गर्न त्यहाँका प्रशासक डराउनु विडम्बना भएको मन्त्री बस्नेतले बताए । बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ ।’

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए । स्वास्थ्य सेवा दिवसमा अवसरमा स्वास्थ्य मन्त्रालय परिसरमा अङ्गदान शिविरका साथ रक्तदानलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया