Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना भाइरसले दिएको स्वास्थ्य, कृषि र आर्थिक विकासको सन्देश

कोरोना भाइरसले दिएको स्वास्थ्य, कृषि र आर्थिक विकासको सन्देश


पोसकान्त पोखरेल
विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रूपमा फैलिएको छ । सुरुका दिनहरूको आतंकित अवस्थालाई हेर्दा अहिले संक्रमणको तुलनात्मक हिसाबले गति कम छ । संक्रमणको गति कम भएपनि सावधानी भने अपनाईरहनु पर्ने अवस्था छ । के धनी के गरिब, काला, गोरा सबैलाई त्रासमा बाच्न बाध्य बनाएको छ । भाइरसको महामारीले मानिसहरू स्वैच्छिक रूपमा आफ्नै घरभित्रै बन्धक भएका छन् । सरकारले गरेको लकडाउन र संक्रमण फैलिने त्रासले सबैको मनमा बाच्ने कसरी भन्ने मात्र छ । लकडाउन अवधिमा आर्थिक संकट, खाद्य संकटलगायतका विभिन्न संकटहरूसँग लड्दै मानिसहरूले दैनिकी गुजरा चलाएका छन् ।

अघिपछिको सामान्य अवस्थामा भन्दा यतिबेला मानिसहरूले आफ्नो स्वास्थ्यमा विशेष ख्याल राखेका छन् । स्वास्थ्यबद्र्धक खानपानसहित रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खानापानमा पनि मानिसहरूले विशेष ध्यान दिएका छन् । भारतबाट आयात हुने तरकारीहरू पूर्णरूपमा प्रतिबन्धित छन् । भने नेपालमै उत्पादित तरकारीहरू पनि हो होइन भनेर एकिन गरेपछि मात्र खाने प्रचलनको थालनी भएको छ । वर्तमानमा थालनी भएको यो प्रचलनले कृषि उत्पादनमा वृद्धि हुन्छ कि भन्ने झिनो खुशीको आशा पनि पलाएको छ । राम्रोसँग हात नधोई खानु हुँदैन भन्ने कुरा बच्चादेखि वृद्धसम्मको मनमस्तिष्कमा बसेको छ ।

एक, दुई, पाँच, दश धुर जोसँग जति जग्गा बचेको अर्थात् खाली छ, हिजो बाँझो रहेका जग्गाहरूमा तरकारी खेती गर्न सुरु भएको छ । हुन पनि देशको प्रत्येक परिवारले केही नभएपनि दुई/चारवटा खुसार्नीका बिरुवा मात्र रोपेर आफ्नो भान्सामा आवश्यक खुर्सानीको आवश्यकतालाई पूर्ति गर्न सके पनि वर्षेनी करोडौंको खुसार्नी आयात रोकिन्छ । जसले गर्दा देशको व्यापारघाटा न्यूनीकरणमा टेवा पुग्दछ । खुसार्नीका बिरुवाहरू रोप्नको लागि धेरै ठाउँ पनि चाहिँदैन । थोरै ठाउँमा वा अलि ठूलो गमलामा पनि रोपेर फलाउन सकिन्छ । घर बनाउँदा कहीँ कतै एक धुर जग्गा पनि नबचे घरको छतमा रोपेर पनि आवश्यकता पूर्ति गर्न सकिन्छ । तर, हाम्रा ठूला–ठूला नजरहरूले साना साना कुराहरू देख्न नसक्दाको परिणामस्वरूप राज्यको वर्षेनी व्यापारघाटा वृद्धि हुँदै गएको छ । जसको नोक्सानी हामी सबैले बेहोर्नु पर्छ । त्यो पनि राज्यद्वारा जनताको लागि छुट्याइएका विकास निर्माणका योजनाहरूबाट कटौती गरेर ।

खुसार्नीको विरुवा त केवल एउटा सानो उदाहरण हो । काम गर्नसक्ने सबै नेपालीहरूको एउटा एउटा उद्यम छ । सबै आ–आफ्नो काममा व्यस्त छन् । फुर्सदको समयमा इन्टरनेटमा गेम खेलेर पनि बिताउन भ्याउछौँ तर खाली जग्गा सदुपयोग गर्नुपर्छ भन्ने ज्ञान छैन । दुःख र मिहिनेत गर्नु भन्दा बजारमा पाइने कृषि जन्यखाद्यवस्तु सस्तो हुन्छ भन्ने बुझाइले हामीलाई झन अल्छी परनिर्भर बनाएको छ । काम छैन दुःख गरेर भन्ने गलत संस्कारले हाम्रो दिमागमा जरा गाडिसकेको छ । जसको दीर्घकालीन असरको भागिदार दृश्य वा अदृश्यरूपमा हामी नै हो भन्ने धेरैले बुझ्न सकेका छैनन् । बजारमा पाइने सबै खाद्यवस्तुहरू स्वस्थ्यकर हुन्छन् भन्ने छैन । बजारका तिनै खाद्यवस्तुको प्रयोगको हाम्रो स्वस्थ्यमा प्रतिकूल असर पारेको हुन पनि सक्छ ।

व्यावसायिकरूपमा उत्पादन गरिने तरकारीजन्य उत्पादनहरूमा अधिकांशले किटनाषक औषधिहरूको उच्चरूपमा प्रयोग गरेका पनि हुन सक्छन् । हाम्रा भान्सामा आएका कतिपय तिनै तरकारीहरू हाम्रो आयु कम गर्ने विष पनि हुन सक्छन् । हामीसँग पैसा छ पैसा भएपछि जे पनि हुन्छ भन्ने हाम्रो सोचका कोरोना भाइरसले केहीहद सम्म ब्रेक लगाएको छ ।

नेपाल त पहिल्यैदेखि गरिब देश हो । विदेशी राष्ट्रहरूसँग व्यापार गर्न जलमार्ग नहुनु देशको आर्थिक अवस्था फस्टाउन नसक्ने एउटा आधार हो । रोजगारी सृजना गर्ने प्रकृतिका आवश्यक उद्योग कलकारखानाहरू, आधुनिक व्यावसायिक कृषि प्रणाली, सम्भव र सम्भावित क्षेत्रहरूको विकासमा ढिलासुस्ती, गरिबलाई जमिन अभाव पुँजीपतिहरूका जमिनहरू बाँझै रहँदा आम्दानीका अवसरहरू सृजित नहुँदा लाखौं जनताहरू गरिबीको रेखामुनि छन् । बिहान खाए साँझको छाकको लागि जोहो कसरी गर्ने भन्ने चिन्तामा पर्ने जनताहरू पनि उत्तिकै छन् । रेमिट्यान्सले धानिएको अर्थतन्त्रमा रेमिट्यान्सको पनि सही सदुपयोग हुन नसक्दा झन समस्या उत्पन्न गराएको छ ।

अधिकांश विपन्न परिवारका सदस्यहरू रोजगारीका लागि दोस्रो र तेस्रो राष्ट्रमा कार्यरत छन् । नेपालमा भन्दा आम्दानीको स्रोत स्वतः वृद्धि हुँदा उनीहरूका परिवारले आर्थिक छलाङ मारेको छ । आर्थिक स्रोत वृद्धि हुँदै गएपछि स्वाभाविकरूपमा विलासी जीवनको चाहनाले नेपालीहरूलाई झन अल्छी र परनिर्भर बनायो । जुन परनिर्भरता क्षणिकरूपमा फाइदाजनक देखिए पनि दीर्घकालीनरूपमा असर गर्दछ नै । पहिल्यै सम्पन्नशाली भएका अधिकांश धनाढ्यहरू परनिर्भर थिए । तर, पछि सम्पन्न बन्दै गएका किसानका छोराछोरीहरू पनि परनिर्भर बन्दै विलासी जीवनको बाटो खोज्दै कृषि कर्ममा लाग्न नचाहनु देशकै लागि दुर्भाग्यको कुरा हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको आठ महिनामा नौ खर्ब २४ अर्ब २४ करोड रूपैयाँको आयात भएको छ । आयातको तुलनामा निर्यातको अवस्था निकै कमजोर छ । यो आठ महिनामा नेपालबाट बाह्य देशहरूमा ७४ अर्ब ९१ करोड रूपैयाँबराबरको निर्यात भएको छ । गत वर्षको तुलनामा दुई दशमलव छ प्रतिशतले आयात भने निर्यात २२ दशमलव तीन प्रतिशत वृद्धि भएको छ । विगतका वर्षहरूमा भन्दा निर्यात बढ्नु र आयात घट्नु राम्रै पक्ष भए पनि यत्ति नै भने काफी हुँदैन । निर्यात गरेर व्यापारघाटा कम गर्नसक्ने अवस्था नाजुक रहेकोले आयातमा कम गर्नु नै व्यापारघाटा कम गर्ने प्रमुख अस्त्र हो । आयात प्रतिस्थापन गर्ने मुख्य आधार भनेको कृषि उत्पादन वृद्धि गरेर आत्मनिर्भर बन्नु नै हो ।

कोरोना भाइसर (कोभिड–१९) ले यतिबेला विश्वमा गतिलो र आवश्यक सन्देश दिएको छ । नेपालभन्दा सम्पन्नशाली युरोपका देशहरूले पैसाले स्वास्थ्य खरिद गर्न नसकिने गतिलो जवाफ पाएका छन् । चार/पाँच महिना बितिसक्दा पनि औषधि बनाउन नसक्नु अर्को टाउँको दुखाइको विषय बनेको छ । वास्तवमा हामी कति स्वास्थ्य रहने नरहने भन्ने कुरा हाम्रो खानपानले निर्भर गर्दछ । बाहिरी वातावरणले स्वास्थ्य जीवनयापनमा केही प्रभाव पार्ने भए पनि अधिकांश हाम्रो खानपानमै निर्भर हुन्छ । शरीरलाई हानी गर्ने खाद्यवस्तु हो भन्ने जानकारी हुँदा हुँदै पनि प्रयोगमा ल्याउनु नै हाम्रो सबैभन्दा ठूलो मुर्खता हो । कोरोना भाइरससँग डराउने तर धुम्रपान, मद्यपान, मदिरापानजस्ता घातक रोगको जन्म गराउनेसँग जानकारी हुँदाहुँदै पनि नडाराउनु एउटा आश्र्चयको कुरा हो । यो कुराले के स्पष्ट पार्दछ भने मानिस मृत्युसँँग डराउँछ तर मनोरञ्जनात्कम मृत्युको लागि खोजी खोजी मर्न तयार छ ।

कोरोना भाइरसको त्रासमा बाँच्नको लागि अहिले हामीले जति स्वास्थ्य विधिहरू अपनाएका छौं भविष्यमा पनि यही विधि अपनाउने हो भने हाम्रो जीवनको साथै पारिवारिक भविष्य उज्ज्वल हुन्छ । सफा सुग्घर रहने र अनावश्यकरूपमा कहीँ कतै गएर भीडभाड नगर्ने । बासी खानाहरू नखानुको साथै मासुजन्य खाद्यवस्तु राम्रोसँग पाएर मात्र खाने । वायुमण्डलीय प्रदूषणबाट बच्न नियमितरूपमा मास्क प्रयोग गर्ने र मानिस मानिसबीचको दूरी राख्ने । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खाद्यवस्तु नियामितरूपमा खाने । जंगली पशुपन्छी र गाउँघरको वरपर हुने तथा घरमा हुने कुकुर, बिरालो, मुसाहरूको सम्पर्कबाट टाढा रहने । आफ्नै करेसाबारीमा उत्पादित तरकारीहरूको प्रयोग वृद्धि गरी सकेसम्म बाहिरको खानालाई निरुत्साहित गर्नेजस्ता धेरै स्वास्थ्यवद्र्धक कुराहरू कोरोना भाइसर संक्रमण रोक्नको लागि व्यावहारिकतामा ल्याइएको छ । यो अवस्थालाई कोरोना भाइरसको रोकथाम पछि पनि सधैँ यस्तै अवस्थामा राख्न सके यसको प्रत्यक्ष फाइदा लिने भनेकै हामीले हो ।

नेपालको सन्दर्भमा यतिबेला नेपालीलाई कोरोना भाइरसको महामारीले स्वास्थ्य, कृषि र आर्थिक क्षेत्रको विकासमा राम्रो सन्देश दिएको छ । अविकसित भन्दै हिजो गाउँ छोडेर गएकाहरू आज गाउँ फर्क अभियानमा लागेका छन् । गाउँ चाहिँदो रहेछ भन्ने कुराको ज्ञान सबैमा बढ्दै गएको छ । भाइरस संक्रमणको चुनौतीपूर्ण अवस्थाबाट केही सिकेर अवसरमा बदल्न सक्यौं भने समृद्ध नेपाल निर्माणमा ठूलो योगदान पुग्दछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया