Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेकको भ्रष्टाचार नालीबेली

नेकको भ्रष्टाचार नालीबेली


काठमाडौँ ।
बेलायत र अमेरिकामा दुई तीन दिनपहिले धन्यवादज्ञापन प्रदान गर्ने दिन मनाइएको सामाजिक सञ्जाल फेसबुकमा खुब देखियो । मैले पनि कसलाई धन्यवाद ज्ञापन गर्नुप¥यो भनी सोच्दा विगत तीन वर्षमा एकजना व्यक्तिलाई धन्यवाद दिनुपर्ने देखेँ, जसले राष्ट्रियस्तरमा ठूलो मुद्दा उठाउनुका साथै देशमा ठूलो रकम भ्रष्टाचार हुनबाट मात्र बचाएनन् बरु दश हजार इन्जिनियर जन्माउन सफल भएको देशकै ठूलो संस्थालाई बचाए । उनलाई कोटीकोटी धन्यवाद छ ।

नेपाल इन्जिनियरिङ कलेज नेकको म एक पूर्वअध्यापक थिएँ । तर मलाई पूर्व बनाउने षड्यन्त्र थियो त्यतिबेला तत्कालीन कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलगायत उसको टिमको । त्यो मलाई पचेको थिएन । लम्बोदर न्यौपाने कलेज सञ्चालक समितिको अध्यक्ष भई आएयता कलेजमा आर्थिक घोटालाले सगरमाथा चुम्दै थियो ।

लम्बोदर सुनको अण्डा पार्ने कुखुरा नै मार्न तल्लीन थिए । कलेजलाई निजीकरण गर्न ऊ आतुर थिएँ । तर हामीले हरदम निजीकरणको विरुद्ध औला तेर्साउँदै आयौँ । आर्थिक अनियमितता र कलेज निजीकरणको विरुद्ध आवाज बुलन्द बनाउँदा लम्बोदरको निशानामा पहिलो नम्बरमा म परेँ । र मलाई कलेजबाट हटाइएको थियो ।

२०७४ साल चैत्र महिनातिर होला शनिबार तीन÷चार बजेतिर म नगरकोटको एउटा शान्त ठाउँमा साथीहरूसँग हप्ताभरिको थकान मेटाउन पुगेको थिए । बिहान विभिन्न कलेजहरूमा अध्यापन र १० बजेदेखि गोर्खा इको प्यानलको सीईओ र लगानीकर्ता भएर भक्तपुरको उत्पादनलाई देशभरि पुगाउन कठोर मिहिनेत गर्दा शनिबार मात्र साथीहरूसँग बस्न पाउथेँ ।

त्यतिबेला हामी बसेको टेबल अगाडिको हावा घरमा ल्यापटप खोली केही कुरा टाइप गर्दै मम र कफी अर्डर गरी बसेका एक जना चस्मा लगाएका, अलि कपाल नभएका ३८ देखि ४० वर्षे देखिने व्यक्तिमा मेरो नजर बस्यो । म भावुक भएर साथीहरूसँग ‘म एसएलसी टपर लिस्टको मान्छे, इमान्दार भएर काम गर्दा अध्यापन गराउँदा मलाई बदनाम गराएर कलेजबाट निष्कासित गरियो । म छोड्ने छैन भन्दै गर्दा उनले मलाई ‘मित्र एकचोटी मसँग बस्नुप¥यो’ भनी बोलाए ।

उनले थपे, भावुक भएर दुःख पोख्ने कि सरकारलाई सहयोग गर्ने ? तपाईं मलाई सहयोग गर्नुस्, म तपाईंलाई न्याय दिलाउँछु । यदि तपाईं गलत हुनुहुन्न भने तपाईंलाई क्षतिपूर्ति दिलाउन सक्छु तर त्यो क्षतिपूर्तिबाट आएको रकम विद्यार्थीहरूलाई छात्रवृत्ति दिनुपर्छ ।’ म उनको यही तथा अन्य कुराबाट प्रभावित भए । तर तपाईं को ? भनी प्रश्न गर्दा ‘म जिल्ला प्रशासन कार्यालयको अधिकृत’ भनी भने । तपाईं प्रशासनको कोठा नम्बर यतिमा भोलि आउनुहोला भनी उनी निस्के ।

बढी विश्वास नलागेर तथा फुर्सद नभएर म त्यहाँ गइनँ । करिब ५ देखि ६ दिनपछि फोन गरी मलाई ‘मित्र तपाईंको नै गल्ती रहेछ कि क्या हो । त्यही भएर मलाई भेट्न आउनुभएन’ भन्यो । ममाथि प्रश्न गर्दा मलाई रिस उठेपछि गाडी स्टार्ट गरी कारखानाबाट १० मिनेटमा म उनको कोठामा पुगेँ । उनी सानो कोठामा एक्लै बसेका थिए । उनले चिया मगाउँदै भने, ‘लामो कुरा छैन । के तपाईं झुठो हो ? के सबुत छ खोज्न लाग्नुस् ।’ उनले मलाई उस्काएको थाहा भयो । तर मसँग विकल्प थिएन । उनले ‘म राष्ट्रिय अनुसन्धानको डीएसपी हुँ, तपाईँ मलाई अनुसन्धानमा सहयोग गर्नुस् । म तपाईँलाई न्याय दिलाउने कोसिस गर्छु’ भन्नुभयो ।

उनको सहयोग प्रस्तावमा म राजी भएँ र एक हप्तामा सम्पूर्ण सवुतहरू ल्याई तपाईँकहाँ आउँछु भन्दा एक हप्ता होइन, एक महिनामा आउनुस् तर मितिअनुसार भएको घटनाक्रम मिलाएर र कोकोले सहयोग गर्दै छ, लिएर आउनुस् भन्यो । जिस्केर हामीसँग पैसा हुँदैन बुकजस्तो बनाएर तीन÷चार प्रति दिनुहोला भन्यो ।

तत्पश्चात् मैले नेकका तत्कालीन प्राध्यापक मित्र दीपक धामी, लेखा शाखा, कलेजका संस्थापक अध्यक्ष स्व. दीपक भट्टराई तथा अन्य विभिन्न ठाउँबाट उनले भने जसरी कागजात खोजे । तथ्य प्रमाणसहित लेखा परीक्षण गरेको कागजात, बैठकका निर्णय, नक्कली नाममा पैसा निकालेको प्रमाण, सहमति आदिको किताब तयार गर्दै उनलाई सोध्दै एउटा करिब तीन सय पानाको ग्रन्थ तयार गरे । अनि उनलाइ बुझाए ।
केही दिन अध्ययन गरी उनले फोन गरी ‘धन्यवाद मित्र ! तपाईंले साथ दिनुभयो ।

अब आगो म लगाउँछु’ भने । ‘अब गल्ती गर्नेलाई त्यस आगोको तापले पोल्छ र गल्ती नगर्नेले त्यही आगोमा सेकुवा बनाउनु पर्छ’ भन्नुभयो । तपाईंले ठूलो भ्रस्टाचार घोटाला बाहिर ल्याउनु सहयोग गर्नुभयो भने । तपाईलाई अब पूरा नेक परिवार याद गर्नेछ । मैले ‘सरकारले यो कारबाही गर्छ त ? भन्दा सरकार मुकुट लगाएर घोडामा आउँदैन । मजस्तै रूपमा देशभरि छरिएको छ’ भनी उनी गज्जबले हाँसे ।
करिब ३ महिना हाम्रो भेटघाट भएन र एकदिन उनले मलाई चिया खान तपाईंकहाँ आउछु भने । मेरो कारखानामा आएर मेरो त पदोन्नति र सरुवा भयो भन्नुभयो ।

उनले केही कागजात निकालेर तपाईं हेर्नुस् भनी लम्बोदर न्यौपानेको नामसहितको पासपोर्ट नम्बर, विदेश गएको मिति, समय, बैंक खाता नम्वर देखाए । चिन्ता नगर्नुस्, तपाईंको मिहिनेतले काम गर्नेछ भनी ढाडस दिए । मैले अख्तियार, आफ्नो मुख्यालय, प्रधानमन्त्री कार्यालय, गृहमन्त्री कहाँदेखि जिल्ला प्रशासनमा पुगाइसकेको भने । प्रमुख जिल्ला अधिकारी नयाँ आएकाले मेरो कुरा सुनेका छैनन् । तर तपाईंको काम हुन्छ भने । केही दिनसम्म पनि केही नहुँदा कतै मेरो फाइदा उठाएर, उनीहरूलाई धम्काएर रकमको पछि लागेका त होइनन् ? भन्ने मलाई लाग्यो । तर यो समयमा मैले उनको बारेमा धेरै बुझे ।

ऊ पनि एकेडेमिक ब्याक ग्राउन्डबाट आएको एक कुशल अनुसन्धान अधिकृत हो भने बुझेँ । उनी यति मात्र नभएर अर्थशाश्त्री पनि हुनुहुँदो रहेछ । केही समयपश्चात् पत्रिकामा नेककोबारे समाचार आगो लागेसरह आउन थाले र मैले पनि त्यतिकै सेयर गर्दै गए । एकदिन उनले धनुषाबाट फोन गरेर मित्र ! लम्बोदर न्यौपाने अख्तियारमा मिलाउन लागेको छ, विचार गर्नुहोला भने । नभन्दै केही दिनपश्चात् नेकको भाग्यवस अख्तियार आयुक्त पाठकको ८० लाखको घटना बाहिर आयो ।

आज मलाई नेक कलेजको भ्रष्टाचार बाहिर ल्याएको, हजारौं विद्यार्थीहरूको भविष्यसँग खेलबाड हुनबाट बचेको, सरकारको २५ करोड रकम असुल हुने तथा संस्थागत सयौं रोपनी जग्गा, करोडौंको भवन दुईचार जना ठगहरूको प्रालिमा जानबाट जोगाउन सफल भएको अभियानको एक योद्धा भएकामा छाती ठूलो भएको छ तथा भ्रष्टाचारीहरूलाई जेलमा देख्दा हजारौँ विद्यार्थीको पैसा गलत ठाउमा नगएको भनी गर्ब भएको छ ।

उनले भने जसरी नै मैले आफूले क्षतिपूर्तिबापत पाउने पैसा ६ वर्षबराबरको तलब करिब ४० लाख पाउने भएको छु । जुन म बुबाआमाको नाममा अक्षय कोष बनाई छात्रवृत्ति चलाउने निधो गरेको छु ।(लेखक इन्जिनियर दुवाल नेकका पूर्वप्राध्यापक हुन् ।)(नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार कहानी समेटिएको भ्रष्टाचारविरोधी तत्कालीन कलेजका प्राध्यापक दुवालको लेख । भ्रष्टाचारमा मुछिएका कलेजका पूर्वअध्यक्ष लम्बोर न्यौपान हालै पक्राउ परेका छन् । अन्य फरारमा छन् ।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया