Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगभुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य

भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य


काठमाडौं ।
दैवी विपत्ति योजना बनाएर आउने, सबैलाई पहिले थाहा दिएर आउने घटना होइन । यो एक्कासि मानव जीवनमा आउने दुर्भाग्यपूर्ण दुर्घटना हो । यसको लागि कोही पनि तयार हुँदैनन् । भूकम्प त्यही दैवी विपत्ति हो । यसको आगमन एक्कासि हुन्छ र मानव जीवन र उसले आर्जन गरेको भौतिक सम्पत्तिलाई नष्ट गरेर जान्छ ।

गोरखा जिल्लाको बारपाक उद्गम भएको विनासकारी महाभूकम्पले इतिहासमा एउटा गहिरो घाउ दिएर गयो । भूकम्पपछि जनजीवनलाई कसरी सामान्यकृत गर्ने भन्ने कुरा सरकारी र गैरसरकारी क्षेत्रबाट तत्काल उद्धार र राहतको कार्यक्रम सुरु भयो । २०७२ सालको महाभूकम्पको उद्गम स्थल नै गोरखाको बारपाक भएकोले यो स्थानले विश्वको ध्यान खिच्यो ।

बारपाक र त्यहाँको हृदयविदारक परिदृश्यले क्षणभरमै विश्वको आँखा रसायो । बारपाकी जनताको करिब ८५ प्रतिशत घर धुलोमा परिवर्तन भएको बेला पहिलो उद्धारनै बारपाकी जनताले पाए । यही उद्धारकै क्रम हो ट्रान्सपरेन्सी इन्टरनेसनलले सुरु गरेको पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार कार्यक्रम । यो परियोजनाचाहिँ खास गरेर भूकम्पपछि पीडित जनताले पुनर्निर्माण र पुनर्स्थापनाका लागि राज्यबाट पाउने सहयोग एवं राहत वितरणका कार्यमा कुनै पनि भ्रष्टाचार नहोस् र कोही पनि सुविधाबाट बन्चित नहुन भन्ने उद्देश्य नै हो ।

भूकम्पपछि गोरखामा अन्य थुप्रै गैरसरकारी संस्थाहरू खडा भएका थिए र ती अझैसम्म पनि केही सक्रिय छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रतिनिधित्व गरेर गोरखा जिल्लाको सदरमुकाममा कार्यलय खोली आफ्नो उपस्थिति जनाइसकेपछि सरकारी कार्यलयहरूसँग सहकार्य, जन गुनासाहरूको यथार्थ रिपोर्ट सङ्कलन र लगत राख्ने काम, समस्या र आवश्यकता हेरी पब्लिक हियरिङ प्रोग्रामको सञ्चालन सुरु । जसमा जिल्ला प्रमुख अधिकारी, पुनर्निर्माण प्राविधीकरण गोरखा जिल्ला प्रतिनिधि र परियोजनासँग सम्बन्धित सबै व्यक्तित्वहरूलाई समेत सहभागी गराइने कामको सुरुवात भयो यसबाट पनि पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार कार्यक्रमले छिटो गति लियो । पुनर्निर्माण कार्यक्रमको गतिविधिलाई वाच डगको रूपमा अध्ययन गर्ने र केन्द्रीय का-यालयमा रिपोर्टिङ गर्ने कामको सुरुवात भयो । खास गरेर गुनासाहरूको सुनुवाइ, सरकारी स्तरबाट बेवास्ता गरिएका पीडितहरूप्रति ध्यानाकर्षण गराउन र समस्या समाधान गराउन पहल सुरु ।

स्कुल, व्यक्तिगत आवास, ऐतिहासिक भवन (गोर्खा दरबार), अस्पताललगायत अन्य भौतिक संरचनाको पुनर्निर्माण परियोजनालाई उठाउने क्रममा सरकारसँगै हातेमालो गर्ने कामको सुरुवात सदरमुकामबाट दूरदराजमा रहेका पीडित परिवारले समेत ट्रान्सपरेन्सीसँग सहकार्य गरी आ–आफ्ना समस्या र उजुरी राख्ने कामको थालनी ।, भवन निर्माण संहिताको पालना र अनुगमनका लागि सरकारी कार्यलयहरूसँग समन्वय व्यक्तिगत आवास पुनर्निर्माणका लागि सरकारी तवरबाट वितरण हुँदै आइरहेको पहिलो किस्ता दोस्रो किस्ता र तेस्रो किस्ता वितरणमा आउने प्राविधिक कठिनाइलाई ट्रान्सपरेन्सीमा लिखितरूपमा आएका गुनासाहरूमाथि सहजीकरणको भूमिका निर्वाह गर्न सुरुवात भयो ।

राहत वितरण गर्नु यो संस्थाको उद्देश्य त थिएन तर राहत वितरण र निजी आवास पुनर्निर्माणमा जनताको पहुँच बढाउने काममा भने कसैले पनि बाधा नपु-याओस्, राजनीतिक आडमा व्यक्तिगत र संस्थागत भ्रष्टाचार नहोस् भन्ने उद्देश्यमा संलग्न ।, सहज पहुँच नहुने सामान्य मानिस जो पिडित छ उस्को नाउँमा जमिन छैन तर आफू बसेको घर भूकम्पले भत्किएको अवस्था छ ।

जसको नाउँमा घर छ उ व्यक्ति या त बिदेशमा छ नेपाल आउन सक्ने अवस्था छैन, कसैका श्रीमतीका नाउँमा बनेको घर छ । घर भूकम्पले भत्किएको छ, श्रीमती अर्कै सँग पोइल गएकी छिन् । ती र त्यस्ता परिवेशमा परेको प्रशासनिक र प्राविधिक कठिनाइ समाधानका लागि फेरि ट्रान्सपरेन्सीमै निवेदन पर्थ्यो त्यो अवस्थामा सम्बन्धित निकायमा समस्या राखिदिने र राहत वा आवस निर्माणका लागि किस्ता प्राप्तिमा स्थिति सहज पारिदिने काम ट्रान्सपरेन्सी गोरखाले ग-यो र फलस्वरूप द्रुत गतिमा गुनासाहरूमाथि सुनाइ हुने कामले तीव्रता पायो ।
ट्रान्सपरेन्सी गोरखाले पुनर्निर्माण र पुनर्स्थापना परियोजनामा सरकारका कामहरूलाई सघाउ पु-याउने र सरकार र पीडित जनताबीच पुलको भूमिका निर्वाह गरेको छ ।

आवास तथा बस्ती पुनर्निर्माण परियोजना कार्यमा सरकारी कार्यलयहरूसँगै हातेमालो गरी निजी आवास, सरकारी भवन स्वस्थ तथा स्कुल अनि ऐतिहासिक भवन पुनर्निर्माणका क्रममा आइपरेका समस्यालाई आवश्यक छलफल तय गरी सहकार्यको भूमिका निर्वाह गरेको छ । जसअन्तर्गत यो पाँच वर्षको अवधिमा आठवटा सरकारी भवन, एउटा स्वस्थ चौकी, छवटा ऐतिहासिक सम्पदा भवन, ११ वटा निजी आवास र सबैभन्दा बढी १७ वटा सरकारी स्कुल अनुगमन गर्ने काम ग-यो । अवलोकन गर्दा केवल हेरेर फर्किने काम मात्रै गरेन अपितु भूकम्पीय दृष्टिबाट समेत यसको जोखिम न्यूनीकरणका लागि भवन बन्ने क्रममा प्राविधिकको सहयोगबाट आवश्यक सुझाव दिने काम होस वा भवन बनिसकेपछि के–कस्ता प्राविधिक विधि अपनाइयो । त्यसको बारेमा लिखित र मौखिकरूपमा पूर्ण जानकारी लिने र सम्बन्धित निकायमा रिपोर्टिङ गर्ने काम समेत भएको कुरा केही पीडितहरूसँगको छलफलबाट जानकारी मिलेको छ ।

पुनर्निर्माण भनेको भत्किएको, नासिएको वा बिग्रेको भौतिक संरचनालाई पूर्वअवस्थामा पु-याउने प्राविधिक काम हो र पुनर्स्थापना भने पहिले स्थापित भएका तर भुइँचालोपछि विस्थापित भएका कतिपय भौतिक र अभौतिक कुराहरूलाई पूर्वस्थानमा पुनः स्थापित गराउने काम हो । ट्रान्सपरेन्सी गोरखाले पृथ्वीनारायण शाहको ऐतिहासिक दरबारको निर्माणको क्रममा होस्, स्कुल, स्वास्थ चौकी वा निजी आवास निर्माणका क्रममा देखापरेका चुनौतीमाथि सहजीकरण गर्ने काम गरेको छ ।

सुरुका दिनहरूमा गोरखा जिल्लाका विभिन्न गाउँपालिकाबाट राहत तथा निजी भवन निर्माणका क्रममा पहिलो किस्ता लिन सदरमुकाम धाउनु पर्ने र हप्तौँसम्म पनि सदरमुकाममा बस्नुपर्ने बाध्यता आएको थियो । उसै त गरिबीबाट व्याप्त पीडामा बाँच्न विवश भएका जनता, त्यसमाथि पनि भूकम्पले पारेको क्षति अनि सरकारले दिएको अनुदान लिन सदरमुकाम धाउदा प्रशासनिक ढिलासुस्ती र अल्मल्याइका कारण बेखर्ची भएर अन्योलमा परेका जनतालाई एउटा निर्दिष्ट दिशानिर्देशको आवश्यकता थियो । त्यसमा थोरै भए पनि ट्रान्सपरेन्सीले आफ्नो भूमिका निर्वाह गर्न कतै चुकेको छैन ।

आफ्नो अधिकार क्षेत्रभित्र रहेर सिमित स्रोत साधन उपयोग गरी धेरैभन्दा धेरै उपलब्धि हासिल गर्नु र धेरैभन्दा धेरै जनतालाई सहयोग गर्नु, सुशासन, पारदर्शिता एवं जवाफदेहीता प्रदर्शन गर्ने अभियान र साझा सन्कल्पनाबाट उत्प्रेरित यो संस्थाबाट जनताले अपेक्षा गरेअनुसारको अझै काम प्रत्याभूत हुन भने सकेको छैन । बारपाक जसलाई भूकम्पको केन्द्रबिन्दु मानियो त्यहाँ पुनर्निर्माण प्राधिकरणले घरहरूको ढाँचा सरकारी स्तरबाट छिटोभन्दा छिटो दिइएको भए त्यहाँ पुराना शैलीमा पक्की घरहरू निर्माण हुन सक्थे र यसमा ट्रान्सपरेन्सीले हातेमालो गर्न सक्थ्यो र आज बारपाक कंक्रिटको जंगल हुने थिएन ।

बारपाकका एक स्थानीय बुद्धिजीवी एवं व्यापारी वीरबहादुर गुरुङले भने, ‘हामीले हिजोको सांस्कृतिक बारपाक गुमायौँ केही छैन, यो दैवी विपत्ति हो तर भूकम्पपछि घरहरू बन्ने क्रममा त्यहाँ पुनर्निर्माणभन्दा पनि नयाँ भौतिक संरचनाका आधुनिक घरहरू निर्माण भए जसले गर्दा बारपाकीको मौलिकता नै मासिएको छ ।’

सरकारले धेरै पछिसम्म पनि घर निर्माणको नितिगत नियम र नियमन कार्यक्रम दिन नसकेका कारण सबैले आफूखुसी भव्य भव्य घर निर्माण गरे । आज हिजोको सुन्दर बारपाक अब तस्बिरमा नै सीमित भएको छ । यतिबेला बारपाकको मुहार त फेरिएको छ तर हिजोको जस्तो आर्थिक, सामाजिक, भौतिक, र नैतिक एकता जनसाधारणमा छैन । प्रायः बारपाकवासी युवाहरू यूके लाहुरे, ब्रुनाइ लाहुरे र इन्डियन आर्मीमा हुनुहुन्छ । भूकम्पका बेला शारीरिक मानसिक भौतिक क्षति भोग्न विवश बस्ती आज भव्य सहरमा परिणत भएको छ । ट्रान्सपरेन्सीले थुप्रै पटक बारपाकमा पुनर्निर्माण अवलोकनका वा सार्वजनिक सुनुवाइका क्रममा भेला आयोजना गरेर गुनासो सङ्कलन त ग-यो ती छलफलमा कहिले पनि भवन संहिताले चाहिँ प्राथमिकता पाएन ।

पैसा हुनेहरूले पाँच तलासम्मका बलिया सुन्दर भवन निर्माण गरेका छन् । पैसा नहुनेहरू त्यही भवनको पिँधमा छेउको अग्लो भवन हेरी बसेका छन् । हो यसमा एकरुपता त हुन नसक्ला तर नेपाल सरकारले महाभूकम्पको केन्द्रबिन्दु बारपाकमा भवन निर्माण आचार संहिता समयमा दिन सकेन र अझै पनि जोखिम न्यूनीकरणको कतिपय कार्यहरू अधुरो छन् । अग्ला भवनहरू जसरी बनिरहेका छन् बाटोका पुर्वाधारहरू भने छैनन् ।

भोलि त्यस्तै खाले दैवी विपत्ति आयो भने उस्तै जोखिम भोग्नुपर्ने बाध्यता आइपर्न सक्छ । यस्तै खाले जन गुनासाहरू पशस्त छन् । दश किलोमिटरमाथि लाप्राकवासी बीच र बारपाकी जनताबीच अहिले राम्रो मेलमिलाप नीति छैन । दुवैले आ–आफ्नो स्थानलाई भूकम्पको केन्द्रबिन्दु हाम्रो हो भनेर दाबी गरिरहेको अवस्था पनि छ । बारपाकमा भूकम्प स्मृति पार्क बनिरहेको छ र यसको लागि स्थानीयहरूको जग्गा अधिग्रहण गर्ने काम सप्पन्न भई स्मृति पार्कको स्पष्ट भौतिक संरचना तयार भएको पनि पाइयो । यसलाई अन्तिम रुप दिन अझै केही समय लाग्ने नै छ ।

बारपाकी जनतामा निर्माण कार्यसम्बन्धी विशेष तालिम र सीप विकासको भावना अभिवृद्धि भएको छ । हरेक दिन जसो विदेशी दात्री निकायले भ्रमण गरेको देखिन्छ । त्यहाँको हिमालय माध्यमिक विद्यालयले आफ्नो स्वरुप परिवर्तन गरेको छ । त्यति विकट क्षेत्रमा अवस्तिथ सरकारी स्कुलमा पनि लगभग सात सयको हाराहारीमा विद्यार्थी पढिरहनु भनेको महत्वपूर्ण कुरा पनि हो ।

बारपाकबाहेकका क्षेत्रमा पनि, जहाँ निकै मानवीय र भौतिक क्षति भएको छ उनीहरूलाई बाटो देखाउने निःशर्त सहयोग गर्ने काम सरकारका तर्फबाट भन्दा पनि गैरसरकारी निकायका तर्फबाट बढी भएको पाइयो । ट्रान्सपरेन्सीले गोर्खा सदरमुकाममा जब आफ्नो कार्यलय स्थापना ग-यो, प्रारम्भदेखि नै यो संस्थाप्रति जन अपेक्षा रह्यो र जन अपेक्षाबमोजिम पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार कार्यक्रममा एउटा मध्यस्तकर्ताको अथक भूमिका निर्वाह ग-यो ।

घर भत्किएका मानिसहरूले स्थानीय जनप्रतिनिधिको सिफारिसमा पहिलो किस्ता सजिलोसँग प्राप्त गरे पनि दोस्रो किस्ताका लागि प्राविधिक चेकजाँच, नाप नक्साङ्कन, जग निर्माण, झ्याल, ढोका पिलर, डीपीसी, फलामे डन्डी, सिमेन्ट प्रयोग र मात्राका प्राविधिक कारणबाट कतिपय पीडितहरू अलमलिरहेको अवस्थामा ट्रान्सपरेन्सी नेपाल गोरखाको भूमिका सम्भवतः गोरखावासीले भुल्ने छैनन् । त्यो समयमा सदरमुकाम आसपासका स्थानीय जनता त अलमलिएको अवस्था थियो भने झन् ती दूरदराजका पीडित जनता अल्मलिनु कुनै गम्भीर विषय थिएन । यो अल्मल्याइमा सहजीकरणको सेतु बनिदिएको कथा सायद जनताले नबिर्सिएलान् ।

भूकम्प प्रभावित क्षेत्रमा स्थायी बसोबास गरेको भन्ने सिफारिस ल्याउन पनि जनप्रतिनिधिको चाकडी गर्नुपर्ने, कुर्नुपर्ने, छलफलबाट तय गरिनुपर्छ भन्ने भनाइबाट दिक्क भइरहेका स्थानीय वासीहरूले ट्रान्सपरेन्सी गोरखाको लाइन टेलिफोनमार्फत आफ्ना गुनासाहरू पोख्ने काम गर्थे र छिटोभन्दा छिटो एउटा निर्णयमा पुग्ने कामहरू पनि भए ।

सुरुका दिनहरूमा सरोकारवालाहरूसँग छलफल तथा सुझाव सङ्कलन गर्ने कामबाट पनि पीडित परिवारलाई केही राहतको अनुभूति भएको कुरा स्थानीयवासीहरूले प्रकाश पारेका छन् । सुझाव सङ्कलन गरिसकेपछि समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र पीडित व्यक्तिलाई सम्बन्धित व्यक्तिसँग भेट गराउने कार्यले पनि केही समय निरन्तरता पायो ।

पुनर्निर्माणका कामहरूमा चाहे ती सर्कारी भवन हुन् चाहे ती सम्पदा भवन हुन् वा सरकारी स्कुलका भवनहरू हुन् बाधा र अप्ठ्यारा स्थिति लगातार आइरहेका थिए । त्यस्ता परिस्थितिलाई न्यूनीकरण गर्न निर्वाचित जनप्रतिनिधि र जिल्लास्थित सरोकारवाला सरकारी निकायहरूसँग आवश्यकीय छलफलबाट समाधानको बाटो खोज्ने काम भएको थियो ।

पुनर्निर्माणकै क्रममा सरकरी भवन, स्वास्थ चौकी, सम्पदा, निजी आवास, खानेपानी पुर्वाधार, सडक, बजार अवलोकनका कामहरू समेत भएका छन् । यीबाहेक स्थानीय गैरसरकारी संस्थाहरूसँग, विभिन्न विद्यालय, पत्रकार अनि सञ्चार माध्यमहरूसँग पनि आवश्यकीय छलफल गरी पुनर्निर्माणजस्तो कार्यलाई गतिशीलता प्रदान गर्न सबैसँग सहकार्य गर्ने साझा भावनाको विकास गर्ने कार्यमा ट्रान्सपरेन्सी गोरखाको महत्वपूर्ण भूमिका छ । समावेशी समूहसँगको छलफलबाट आएका साझा भावनाहरूलाई एकीकृत गरी आवश्यकता हेरेर स्थानीय तहमा सुधारका कार्यक्रम ल्याउन खोज्दा कतिपय अवस्थामा व्यवधान पनि नआएका होइनन् तर राम्रो कामको सुरुवात गर्दा विश्वमा जहाँ पनि अवरोध आउने नै गर्छ । त्यो अवस्था पनि ट्रान्सपरेन्सीले भोगेकै हो र समाधानको बाटो खोजेकै हो ।

पुनर्निर्माण र पुनर्स्थापना कार्यक्रमले गोरखाको स्थानीयवासीमा ल्याएको आर्थिक सामाजिक राजनीतिक तथा विपत व्यावस्थापनसम्बन्धी चेतनामा अभिवृद्धि भएको छ नै । अझै यो चेतानाबाट भविष्यमा आइपर्ने दैवी एवं प्राकृतिक विपत्तिबाट कसरी जन धनको क्षतिलाई सबैभन्दा कम गर्न सकिन्छ भन्ने ज्ञानमा समेत अभिवृद्धि भएको छ ।

यसरी ट्रान्सपरेन्सीले भूकम्प पछिको पुनर्निर्माण तथा पुनर्स्थापना परियोजनाअन्तर्गत सामाजिक क्षेत्र (आवास, स्वास्थ, शिक्षा, सम्पदा), उत्पादन मुलुक क्षेत्र (कृषि, सिँचाइ, वाणिज्य, उद्योग र पर्यटन), पुर्वाधार विकास क्षेत्र ( बिद्धुत, बाटो, सञ्चार, सामुदायिक संरचना जस्ता आदि क्षेत्रमा सुधार ल्याउनका लागि प्रशम्सनीय भूमिका निर्वाह गरेको देखिएको छ । भ्रष्टाचारमुक्त समाज संस्थापनाको लागि खेलेको भूमिका र बेला बखत जिल्ला प्रशासन कार्यलय र प्रहरी प्रशासनसँग मिलि गरेको बजार अनुगमन कार्यले पनि स्थानीय मानिसहरूमा उपभोक्तासम्बन्धी चेतना र वस्तुको गुणस्तरसम्बन्धी अन्तर्य ज्ञानमा समेत वृद्धि भएको महसुस स्थानीयले गरेका छन् ।

सुशासनसम्बन्धी भ्रष्टाचारमुक्त समाज निर्माणका लागि जिल्लाको ठाउँ–ठाउँमा होर्डिङ बोर्डहरू राखिएको कारणले पनि स्थानीयमा सुशासनसम्बन्धी चेतना फैलिएको छ । सम्पदा एवं स्मारक पुनर्निर्माणका क्रममा पृथ्वीनारायण शाहको ऐतिहासिक दरबार निर्माणकार्यमा व्यापक ढिलासुस्ती भएको र दरबारलाई पुरानो प्रविधि अपनाएर पुरानो भवनलाई जस्ताको तस्तै रूपमा प्रबलीकरण गरेर निर्माण सप्पन्न गर्नुपर्छ भन्ने स्थानीय जन आवाजको सुनुवाइ नहुँदा ट्रान्सपरेन्सीले मध्यस्तकर्ताको राम्रो भूमिका निर्वाह गर्न नसकेको कुरामा चाहिँ जनगुनासो रहेको छ । ती कुराहरू ट्रान्सपरेन्सीको क्षेत्राधिकारभित्र पथ्र्यो या पर्दैनथ्यो स्पष्ट हुन सकेको छैन ।

भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा सदाचार ल्याउने कार्यक्रमअन्तर्गत भएका गतिविधिहरू (सामाजिक सुशासनदेखि पुनर्निर्माणका सबै कार्यक्रममा ट्रान्सपरेन्सीको उपस्थिति देखिन्छ । यसबाट जनप्रभाव परेको छ । आफ्नै अग्रसरतामा उसैले लगानी नगरे पनि एउटा मध्यस्तकर्ताको भूमिका र सहजकर्ताको भूमिका निभाउन भने आजको दिनसम्म सफल भएको मानिन्छ । एक मात्रै कर्मचारीका भरमा सीमित साधन र स्रोतका बाबजुद अगाडि देखिएका अनेकौं बाधा व्यवधानलाई चिरेर अगाडि जानुपर्ने बाध्यताकारी परिवेशमा पनि आज पाँचौ वर्षको अन्तिम दिनहरूमा ट्रान्सपरेन्सीको सक्रियता भने घटेको छैन ।

लक्षित एजेन्डाहरू कति थिए कति हासिल भए र कति अधुरा छन् त्यसका बारेमा जनतालाई प्रकाश पारिदिनु आवश्यक देखिन्छ । परियोजना समाप्त भएर कार्यलय बन्द गर्नु अगाडि सकेसम्म लक्षित वर्गसँग एउटा छलफलको कार्यक्रम गरी ट्रान्सपरेन्सी नेपालले गरेका कर्महरूका बारेमा जनभावना के छ त्यो बुझ्नु पनि जरुरी देखिन्छ । आफूले सम्पन्न गरेका विविध कामहरूको सार्वजनिक समीक्षा गराउँदा ट्रान्सपरेन्सीलाई जनस्तरबाट अझै सम्झना र माया मिल्न जानेछ । परियोजनाको समाप्ति हुँदा भविष्यको बाटो र योजना सम्बन्धमा स्थानीयलाई बुझाउन सकियो भने फेरि यस्तै दैवीय विपत्तिका बेलामा उनीहरूले पुनः ट्रान्सपरेन्सीलाई सम्झिने आधार मिल्छ ।

स्थानीय सञ्चार माध्यम र पत्रकारहरूसँग गरिएको सहकार्यले पनि ट्रान्सपरेन्सी गोरखालाई सहज परिस्थितिमा लक्षित एजेन्डा सप्पन्न गर्न सहयोग मिलेको कुरा केही पत्रकार साथीहरूले बताउनुभएको छ । लक्ष्य प्राप्तिका बाटाहरू त्यति सहज हुँदैनन् । फेरि पनि यात्रा क्रममा आइपरेका विविध समस्याहरूलाई चिर्दै उज्यालोतर्फ वा निश्चित उद्देश्यतर्फको बाटो तय गर्नुको विकल्प पनि छैन । परिवर्तन चाहे थोरै नै किन नहोस् त्यसबाट मिल्ने खुसी भने स्थायी हुन्छ र यसले नै निर्धारण र निर्देशन गर्छ अगाडिको गतिशील यात्रा !


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया