Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराज्यबाट सुविधा लिनको लागि मात्रै दलित ?

राज्यबाट सुविधा लिनको लागि मात्रै दलित ?


काठमाडौं ।
अस्ट्रेलियामा एबोर्जिनल (आदिवासी)लाई अस्ट्रेलियाको राज्य सरकारले यति धेरै मान्यता, माया र संरक्षण गरिरहेको छ कि उनीहरूको शिक्षा, स्वास्थ, यातायात, आवास र जिविकोपार्जनमा राज्य स्वयं लागेको छ । ती त्यहाँका आदिवासी रैथाने हुन् भनेर तिनको जातीय पहिचान जोगाउन सिंगो राज्य लागेको छ । पहिलो कोटामा पर्छन् यदि कोही एभोर्जिनलले कही जागीर खान्छु या कुनै व्यवसाय गर्छु भन्यो भने ।

तर दुःखको कुरा राज्यले दिएको अनेकौं सुख सुविधा भोग, माया र आरक्षणका निहुँमा स्वयं ती आदिवासी यति धेरै अल्छी, अशिक्षित आवारा, रक्स्याहा र लम्पट भए कि केही मिहिनेत नगर्ने र राज्यले दिएको पैसाबाट रक्सी खाने प्रवृत्ति बढ्यो तिनमा । उनीहरू सोच्छन् अस्ट्रेलिया उनीहरूको हो । यहाँ बस्ने गोराहरू सब शरणार्थी हुन् । उनीहरूले गोरे सरकारविरुद्ध आवाज पनि उठाए । राज्यले तिनका माग सुन्दै आयो । माया गरिरह्यो । कहिले पनि तिनको भावनामा ठेस पु-याएन राज्यले पनि । अनि हाम्रो देशमा आएर हामीमाथि नै हैकम भन्ने इगो जन्मियो तिनमा । राज्यले धेरै सुरक्षा दियो । त्यही आरक्षणकै कारण उनीहरू बिस्तारै सक्किए । रेलभित्र यात्रा गरिरहेका गोराहरूलाई गालामा विनाकसुर थप्पड हान्यो भने पनि गोरेले प्रतिकार गर्दैन किनकि राज्यको कानुनले आदिवासीलाई राम्रै सुरक्षा दिएको छ । बसमा या रेलमा यात्रा गरेका यात्रुहरू एबोरजिनल देखेपछि थुरथुर हुन्छन् मानौँ पुलिस आएजस्तो ।

ती आदिवासी केवल हुलहुज्जत गर्ने, रक्सी खाने, पार्कतिरै सुत्ने नियमविरुद्धका कामहरू गर्ने गर्छन् । उनीहरूले रक्सी खाएर प्रहरीलाई पिटे पनि प्रहरी चुपचापले सहानुभूतिपूर्ण व्यवहार गर्नुपर्छ । नेपालमा पनि यो दिन नआओस् यहाँका आदिवासी जनजाति दलित भन्नेहरू राज्यले आरक्षण दिहाल्छ हामीले किन धेरै मिहिनेत गर्नुपर्छ भन्ने भावले जित्यो भने फेरि अस्ट्रेलियाकै कहानी दोहोरिन सक्छ । कसैले कसैलाई आदिवासी र जनजाति दलित भनेर किन विभाजन गर्नुपर्ने यो एक्कासौं शताब्दीमा ? जातभात विभेद अन्त्य भयो र संविधानले यसको अन्त ग-यो पनि भन्ने फेरि जातभातमा राज्यले कोटा छुट्याउने हो त ?

अस्ट्रेलियामा अहिले ती अबोर्जिनल जाति लोपुन्मुख अवस्थामा छ । राज्यले माया गरे पनि दुर्भाग्य त्यही वर्ग आज बीउ खोज्नुपर्ने अवस्थामा छ । राज्यले त काम गर्न र प्रतिस्पर्धामा उभिन सिकाउने हो आरक्षण दिने होइन । अनि मात्रै त्यो वर्ग आफैँ सक्षम हुन्छ । त्यसैले आरक्षण र जातीय राजनीति होइन राज्यले देशको सबै नागरिकलाई प्रतिस्पर्धामा उतार्न सक्नुपर्छ अनि मात्र दलित जनजाति आफैँ उभिन सक्छन् र उनीहरूलाई कसैले पनि हेप्न सक्तैन । कोटाबाट जागीर पाउनु ठूलो कुरै होइन प्रतिस्पर्धाबाट छानिएकोमा पो गौरव अनुभूति गर्ने हो भन्ने कुरा अहिले व्यापक हुन थालेको छ ।

स्त्री कोटाबाट कुनै दिन पुरुषले जागीर खायो भने या अन्य कुनै सुविधा उपभोग गर्न थाल्यो भने यहाँ आश्चर्य मान्नु नपर्ला । किनकि सुविधा लिनको लागि यहाँ जो जे पनि बन्न सक्छ । आरक्षण कोटाबाट राज्यबाट मलाई कुनै पनि सुविधा लिनुछैन भनेर महिलाहरूले नै विरोध जनाइरहेको बेला फेरि जनजाति आदिवासी सीमान्तकृत दलित भनेर सरकारले नै नेपाली समाजमा विभाजन ल्याइदिएको छ ।

दलितहरू आफैँ दलित भएका होइनन् उनीहरूलाई राज्यसत्ताले नै दलित बनाइदिएको हो । वर्गविहिन समाजको परिकल्पना गर्नुपर्ने आजको २१औँ शताब्दीका मनुष्य हामी फेरि पुरातनतिरै ढल्किदै त छैनौँ ? आजकल सुविधा लिनकै लागि भए पनि मानिसहरू दलित बन्न थालेका छन् । नागरिकता किनबेच हुने ठाउँमा थर परिवर्तन गर्न कति पनि गाह्रो छैन । राज्यले नेपालको संविधान २०७२ मै आरक्षण योजनालाई लिपिबद्ध गरिदियो स्त्री, अपाङ्ग, जनजाति, दलित, दुर्गम क्षेत्र र संरक्षित वर्ग ।

नेपालमा लोप हुनलागेको राउटे र कुसुन्डा वर्गको वर्ण सुधार र तिनका जातीय उत्थानका लागि सरकार लागिपरेको छ । के यसबाट साच्चिकै राउटेको छोरा आरक्षण कोटामा पढेर डाक्टर भएको छ त आजसम्म ? यही दलितको नाउँमा अरु गैरदलितले सुविधा लिइरहेका छन् । अहिले तपाईंको विद्वतालाई होइन तपाईंको जातीय पहिचानलाई महत्व राख्छ । अहिले शिक्षा र सीपको भन्दा नि कोटाको महत्व धेरै छ । राज्य आफैँले यो समाजलाई वर्गमा विभाजन गरिदियो । सबैलाई समान अवसर दिने निहुँमा जातभातको र आरक्षण कोटाको अवधारणा बोक्यो सरकारले ।
अहिले राज्यबाट सुविधा लिने बेलामा दलित भई जन्मिएकोमा गर्व गर्ने अनि फेरि हामीलाई तल्लो जातको भनेर हेप्छन् भनी जात लुकाउने प्रवृत्ति बढिरहेको छ ।

सुविधा लिँदा यही जात महत्व भयो अनि सुविधा पाइसकेपछि यही जात लुकाउने ढाट्ने छल्ने प्रवृत्ति बढ्नाले नेपाली समाजमा सामाजिक विचलन आइरहेको छ । जो जति धेरै अछुत जात या तल्लो जातको छ उसको कोटा बलियो भयो । मिहिनेत नगरे पनि उसको जागीरमा नाम निस्किनी पक्का भयो । यो आरक्षण प्रवृत्तिले मानिसलाई मानिस बन्ने प्रवृत्तिबाट रोकेको छ । धरतीलाई माया गर्ने मुटुको आवश्यकता छ आज । तर सबै सत्ताकै सिनोमा घुमिरहेका छन् । सबैभन्दा दुःखचाहिँ यहाँ नेताकार्यकर्तालाई देश चाहिएन सत्ताचाहिँ चाहिएको छ ।

देश बनाउने इच्छा कसैको छैन सत्तामा मोज गर्ने मात्र छ । आखिर इच्छा सबैको साझा हुँदोरहेछ । आखिर हामी नेपालीहरूको साझा सपना गरिबीबाट उन्मुक्ति, थिचोमिचो र भेदभावपूर्ण व्यवस्थापनबाट पार हुनु त थियो नि । आमाका पेटबाट जर्नेलको फुली लाएर आउने जंगी शासनको बोझ पनि त हामीले खपेकै हो नि अतीतमा । हिजो पनि शासकको विरोध गर्दा गाली खाइन्थ्यो आज पनि शासकको विरोध गर्दा जेल परिन्छ कि वा बन्दुक खाइन्छ भन्ने त्रासदी उस्तै त छ नि । अहिले पनि सत्तामा पुगेका जंगेहरूको फुर्ती उस्तै त छ । त्यो तीतो हप्काइ त्यो नमीठो धम्की त्यो वाघ गर्जन त्यो हेपाइ र मिचाइ के तपाईंहरूले अनुभव गर्नुभएको छैन र ?

आजको दिनसम्म पनि दलितले कुवा छुन पाँउदैनन् गाउँघरमा । आज पनि दमाइले कपमा चिया पियो भने कोइला हालेर चोख्याउने चलन छ । तपाईंको गणतन्त्रमा फेरि पनि किन यस्तो हुन्छ महाराज ? मैले मेरो पारथोक गाउँको रामे दमाइलाई चुलोसम्म लान्छु सँगै बसेर चिया पिउँछु भन्दा छिमेकीको लान्छना सहनुपर्छ । परिवर्तन भनेको सहरमा अग्लो अग्लो भवन थपिनु मात्रै थियो र भूकम्पले मुटु कोतरेका नेपालीहरू अझैसम्म पनि पालमै शीत ओढ्दै छन् त्यो कुराको लेखाजोखाचैँ कहिलेसम्म हुने हो । नबिर्सनु भूकम्पबाट कति धनी भए कति अझैसम्म पालमै रात बिताउँदै होलान् ।

जातीय विभेद एउटा स्थायी महारोग हो । मानिसमा लागेको क्यान्सर बरु उपचारपछि निको होला तर मानिसभित्रै रहेको छुवाछुत कहिले निको नहुने रहेछ । प्राकृतिक परिस्थिति जीवनजगतको उत्पत्तिको कारण हो । जात धर्म नाम मानिसले आफ्नो सजिलोका लागि बनाएको हो तर के थाहा यही कारण नै कालान्तरमा मानिसलाई नै दुःख दिने नियत बन्छ । प्राकृतिकरूपमा हामी मनुष्य हौँ । मनुष्यले नै जातीय विवाद रोप्यो मानिसमाथि । मनुष्य स्वभावतः आफ्नो अनुकूलता हेर्छ । जातीय विभाजनले समाज परिवर्तनको अग्रगामी सोच र परिवर्तनको मूल उद्देश्यलाई सदियौँदेखि प्रभावित पारिरहेकै छ । पूर्ण प्रजातान्त्रिक भनेर चिनिने हाम्रो देशलाई जात र भूगोलको आधारमा, जनजाति, धर्म, लिंग, वर्ण वर्गीकरणलाई आधार बनाएर नेपालका नेता र पार्टीहरूले उपयोग गरिरहेकै छन् ।

धर्मका नाउँमा फुट ल्याउने गुट बनाउने अनि राजनीति गर्न सजिलो भएको छ पार्टीहरूलाई । कहिले आदिवासी जनजातिका नारा लगाउँदै उचाल्ने, कहिले तराईवासी उचाल्ने कहिले महिलामुक्ति र अधिकारका कुरा गरेर उछाल्ने, कहिले पिछडा वर्गहरूलाई उचालेर जस आ–आफ्नै पार्टीको नाउँमा लिने । तर जनताका दुःख भने जस्ताको तस्तै रहिरहने ।

गणतन्त्र आएको पनि यतिका वर्ष भइसक्यो राजाको कारणले देशको उन्नति हुन् नसकेको हो भनेर हिजो कुर्लिनेहरू आज राजाका ठाउँमा पुगेका छन् तर परिस्थिति झन् दुःखदायी छ । झन् पीडादायी छ, झन् भयग्रस्त छ, झन् अन्योल र अराजकताको स्थिति सिर्जना भएको छ । सत्तामा पुग्ने र उनैका आसेपासे मात्रै खुसी छन् । उनीहरूलाई मात्रै आएको जस्तो छ गणतन्त्र । हिजो जातभातका विरुद्ध बोल्नेहरू, हिजो शाशनका विरुद्ध कुर्लिनेहरू, हिजो अन्याय, गरीबी र भ्रष्टाचारको विरुद्ध जेहाद छेड्नेहरू आज महलको मलमलमा मस्त छन् अनि खोइ कहाँ आयो परिवर्तन ? सत्ताको स्वाद चाख्ने राज्यको ढुकुटी हात पार्ने ठेक्काको जिम्मा पाउने र मिलिभगतमा कमाउने मान्छे मात्रै रमाइलो मानिरहेछन् । उनैलाई मात्रै आएको छ गणतन्त्र । उनैलाई मात्रै आएको छ प्रजातन्त्र । गणतन्त्रले आफैँ सबै कुरा दिने होइन ।

कुनै पनि शासन व्यवस्था आफैँमा साध्य होइन । यो साधन मात्रै हो । भान्सामा पकाउने भाँडाकुँडा मात्रै भएर हुँदैन । पकाउने अन्न नभएपछि ती सबै भाँडाकुँडाको के प्रयोजन ? आफूलाई आवश्यक पर्दा दलित र जनजातिको तक्मा भिर्ने अनि आवश्यकता नपर्दा त्यही तक्मा लुकाउने यो प्रवृत्तिले नेपाली समाजमा विचलन आइरहेको छ । हिजो जातीय वर्गीय भिभेद अन्त्यका लागि दश वर्ष युद्ध भयो तर यसले त झन् जातीय राज्य र वर्ग विभाजनको राजनीतिलाई चरमताउन्मुख बनायो । बुद्धले एक ठाउँमा यस्तो भनेका छन्– हामी जस्तो सोचाइ राख्छौ त्यस्तै बन्छौ । जनजाति दलित र आदिवासीले अब आफ्नो धारणामा परिवर्तन ल्याउनु जरुरी छ ।

शारीरिक मानसिक अपांगता भएका व्यक्तिबाहेक अरु कसैलाई पनि यो राज्यले पाल्नुपर्ने जरुरत छैन । दलित जनजाति र आदिवासीले यो सोच्नुपर्ने भएको छ कि हामी आफैँ सक्षम छौँ कसैको हुन्डी खाएर बाँच्नु जरुरी छैन । सरकारले नै जनजाति दलित र आदिवासीको मुद्दा उठाएर ती व्यक्तिहरूको उन्नतिशील सोचलाई अपाङ्ग बनाइरहेको छ । बिर्सिदिनुस् यहाँ कोही दलित जनजाति आदिवासी छैन । यो देश सबको साझा घर हो हामी सब नेपाली आधुनिकवासी हौँ । हाम्रो सभ्यता आदिम होला तर हामी आधुनिक हौँ । आदिम सभ्यताको नुतनधारा मेची कोशी महाकाली सुनकोसीको बिम्ब बनेर बगिरहेछ हाम्रो शिरबाट ।

शब्दबद्ध परिचय शरीरको हुन्छ पदार्थको हुन्छ भौतिकताको हुन्छ तर हामी चेतनाको त्यो आलोक हौँ जो हिजै बुद्धले बालिसके सीताले जगाइसकिन् र यलम्बरले पुजित यो भूमिमा अब पनि कोही दलित र आदिवासी होलान र ? हामी कसरी आदिवासी हामी कसरी दलित र जनजाति ? सभ्यताको चरण चर्चा आदिम होला व्यक्ति र उसको सम्पुजन आदिम हुँदैन । यदि आदिम हुन्छ भने ऊ जंगली युगको वा ढुङ्गे युगको बनमान्छे हो नकि अहिले चरम सभ्यताको विवेकशील मान्छे ।

दलितमाथिको विभेद र विभाजन अन्त्यका लागि बरु राज्यको दायित्व प्रखर हुनु जरुरी छ । कडा कानुनको निर्माण दण्ड नीति र पुरस्कारको व्यवस्थापन हुनुपर्छ । नेपालका जुन जातिले आफूलाई दलित सम्झिन्छन् जुन जातिले आफूलाई यो देशको आदिवासी सम्झिन्छन् तिनले यो बुझ्नु जरुरी छ कि अब कति युगसम्म यो बिल्ला भिरेर बसिरहने ? के उनीहरूले प्रतिस्पर्धामा उत्रनु आवश्यकता छैन ? जातभातको कुरा जतीय नारा अन्त्य भयो भने के कुरामा राजनीति गर्छन् नेपालका पार्टीहरूले । विषय नै हुँदैन । चुनावी एजेन्डा विकासको नभएर जातभात र धर्मको हुन्छ । जसले जातलाई जाति र वर्गलाई उचाल्यो उसले चुनाव जित्यो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया