उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत
महोत्तरी । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज ले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो ।
पुस ४ गते चिनी उत्पादन थालेको उद्योगले यस अवधिमा तौल भएको उखुको पूरै भुक्तानी दिएको छ । गत सोमबारसम्म तौल भएको करिब पाँच लाख क्विन्टल उखुको भुक्तानी उद्योगले किसानलाई उपलब्ध गराएको हो । यस्तो भुक्तानी पाउने महोत्तरीबाहेक अन्य जिल्लाका किसान पनि छन् । उद्योगले पहिलो चरणमा १९ करोडभन्दा बढी रकम भुक्तानी गरिएको जनाएको छ ।
जिल्लाकै गौशाला–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहाले पनि ठीक समयमा भुक्तानी पाइँदा घरव्यवहार मिलाउन सजिलो भएको बताए । उद्योगले भुक्तानी सहज बनाएपछि किसान फेरि उखुखेतीतिर हौसिएका उनको भनाइ छ ।
भङ्गाहा–४ का किसान हीरालाल महतोले पहिलो चरणको उखुको भुक्तानी पाएपछि राहत महसुस गरेका बताए । पछिल्ला दुई तीन वर्षयता भुक्तानी क्रमशः सहज बन्दै आएपछि यस भेगमा उखुखेती फेरि बढ्दै गएको छ ।
२०७२ सालसम्म महोत्तरीमा १८ हजार बिघासम्म पुगेको उखुखेती कहिल्यै समयमा भुक्तानी नपाएर किसानले दिक्क भएर छाड्दै जाँदा २०७५ सालमा यो खेती पाँच हजार बिघामा झरेको थियो । त्यसयता किसान, किसानसम्बद्ध उखु उत्पादक कृषक सङ्घ महोत्तरी र उखु उत्पादक महासङ्घ लगायतको निरन्तरको सङ्घर्षको परिणमले पछिल्ला दुई÷तीन वर्षयता क्रमशः भुक्तानी सहज बन्दै गएपछि फेरि उखुखेती अलिअलि गरेर बढ्दै गएको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन् ।
जिल्लामा यसपाली उखुखेती सात हजार बिघाभन्दा बढीमा रहेको कुशवाहाको भनाइ छ । दुई साता नबित्दै तौल भएको उखुको पूरै भुक्तानी पाइएपछि उद्योगप्रति बढेको विश्वासले अहिले सर्लाही, रौतहट, बारा र धनुषाका किसानले पनि एभरेष्ट चिनी उद्योगलाई उखु दिन थालेका छन् ।
पोहोरदेखि नै एभरेष्ट चिनी उद्योगले भुक्तानी सहज बनाएको सर्लाहीको कविलासीका किसान राजनारायण महतोले प्रतिक्रिया दिए । उद्योगले भुक्तानी सहज बनाएसँगै आफूहरुका गुनासा सुन्ने, कटान पुर्जी वितरण सरल बनाउने, उद्योग परिसरमा उखु तौलाउन पुगेका किसान र सवारीसाधनको व्यवस्थापन तथा परिसरभित्र खानेपानी र शौचालयको व्यवस्थापनमा पनि उद्योगले यथाशक्य प्रबन्ध गर्दै लगेको किसानहरु बताउँछन् ।
यसपाली गत वर्षभन्दा चार लाख क्विन्टल क्रसिङ बढ्ने उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाको भनाइ छ । बाह्य मुलुकबाट चिनी आयात नगरिए मुलुकमै उत्पादित चिनी बिक्ने र यसले किसानको भुक्तानीमा अझ सहजता ल्याउने शुक्लाको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
- कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने
- बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः प्रधानमन्त्री
- ‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
- सञ्चारमन्त्री शर्माद्वारा ‘गणतन्त्र दिवस तस्बिर प्रदर्शनी’ उद्घाटन
- जिप दुर्घटनामा १२ जना घाइते
- विश्वभर बुद्धधर्मको महत्व छ: परराष्ट्रमन्त्री श्रेष्ठ
- निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्नुपर्छ: मुख्यमन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया