Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरत्नपार्कदेखि सूर्यविनायकसम्म द्रूत बस

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रूत बस


काठमाडौं । काठमाडौं उपत्यकामै पहिलो पटक ‘बस -यापिड ट्रान्जिट’ (बीआरटी) अर्थात् द्रूत बस सेवा सञ्चालन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा संविधान दिवसको अवसर पारेर बुधबारबाट सो सेवा सञ्चानलमा ल्याइएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कको शान्तिवाटिकाबाट उक्त बस सेवाको शुभारम्भ गरेका थिए । सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउनेछ । काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रूत बस सेवा सञ्चालनमा ल्याएइएको हो । रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव चार किलोमिटर दूरी रहेको छ । यो सेवा सञ्चालनमा आएपछि रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म ४५ मिनेटमा यात्रा गर्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ । अरू सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढघण्टा समय लाग्ने गरेको छ । द्रूत बस सञ्चालनका लागि सडकमा भर्खरै रातो रङको लेन बनाइएको छ । काभ्रे–काठमाडौं नगर बसको बा ४ ख ९१८१ नम्बरको बसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, महानगरीय ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेललगायत सवार भएर सो सेवाको सुरुवात गरेका थिए ।

रत्नपार्कको शान्तिवाटिकामा भएको सेवा शुभारम्भ कार्यक्रममा मन्त्री ज्वालाले द्रूत बस सेवालाई निरन्तरता दिँदै अन्य रुटमा पनि विस्तार गरिने बताए । बनेपा–धुलिखेल रुटमा पनि द्रूत बस सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए । सहरी क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र जनतालाई सार्वजनिक यातायातप्रति विश्वास र भरोसा दिलाउन पहिलो चरणमा कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रूत बस सेवा सञ्चालन गरिएको उनको भनाइ थियो । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायातप्रति नागरिकको विश्वास र भरोसा बढाउनुपर्ने बताए ।

निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले सार्वजनिक सवारीलाई व्यवस्थित बनाउन सर्वसाधारणलाई सचेत बनाउनुपर्नेमा जोड दिँदै ‘डेडिकेटेड लेन’मा चल्न सवारी साधनको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताए । उक्त लेनमा चल्ने सवारीलाई पनि अन्य सार्वजनिक यातायात सरहका कानुन आकर्षित हुने जनाउँदै उनले ट्राफिक नियमलाई पालना गरेर यातायातका साधन सञ्चालन गर्न आग्रह गरे । सूर्यविनायक र रत्नपार्कबाट ३९ सिट क्षमता भएका २५ द्रूूत बस सञ्चालन हुनेछन् । यी बस यात्रु कुरेर बस्न पाउँदैनन् । विभागले निर्धारण गरेका १९ बसले बस बिसौनीमा यात्रु चढाउने र झार्नेबाहेक यात्रु कुरेर बस्न भने पाउने छैनन् । यसका लागि विभागले सूर्यविनायकबाट सल्लाघारी, राधेराधे, थिमिचोक, चारदोबाटो, गठ्ठाघर, कौशलटार, लोकन्थली, जडीबुटी, कोटेश्वर, तीनकुने, शान्तिनगर, नयाँबानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली र अन्तिम रत्नपार्कमा बस बिसौनी तोकिएको छ ।

सडकमा रातो रङ्गले पोतिएको लेनमा मात्र यी बस सञ्चालन हुन पाउनेछन् । त्यो लेनमा यस अवधिमा द्रूत बस र आपतकालीन सेवाका सवारी साधनबाहेक अरू कुनै सवारी चल्न पाउने छैनन् । सूर्यविनायकबाट बिहान ८ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ६ बजेसम्म सञ्चालन हुने द्रूत सेवाका बस दुवैतर्फबाट पाँच÷पाँच मिनेटको फरकमा छुट्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया