Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपुल बन्ने भएपछि स्थानीय खुसी

पुल बन्ने भएपछि स्थानीय खुसी


महेन्द्र शाही
सोलुखुम्बु, माघ १६
सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट महाकुलु पुग्नका लागि करिब तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हट्ने भएको छ । महाकुलुङ गाउँपालिका १ साप्दीस्थित लिप्खो खोलामा झुलुङगे पुल निर्माण सुरु भएसँगै सोताङ र महाकुलुङबीचको करिब तीन घण्टा घुमाउरो पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो । पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन पुलचोक ललितपुरले ७५ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । पुल निर्माण हुने भएपछि स्थानीयमा खुसीयाली छाएको छ । दैनिक आवतजावत गर्नुपर्ने र पुल नहुँदा समस्या भोग्दै आएको स्थानीयले बताए ।

१ सय ४७ मिटर लामो र करिब डेढ मिटर चौडाइ भएको उक्त पुल निर्माणको जिम्मा दाप्चा खानी हिमशिखर जेभी प्रालि काठमाडौंले पाएको र निर्माणकार्य सुरु गरेको कम्पनीका प्रतिनिधि बलराम लामाले जानकारी दिए । गत पुस ६ गतेबाट सुरु भएको निर्माणकार्यको फाउन्डेसनको कामहरु भइरहेको लामाले बताए । उनका अनुसार आगामी असारसम्म पुल निर्माण सम्पन्न गर्ने म्याद भए पनि असारअगावै सकिने लक्ष्यका साथ काम भइरहेको छ ।

महाकुलुङ गाउँपालिका १ सात्दीको कोरोला मार्गको उक्त खोलाको पुल चार वर्षअघिको पहिरोले बगाउँदा सो क्षेत्रका नागरिकहरु विकल्पको रुपमा तीन घण्टाको घुमाउरो बाटो प्रयोग गर्न बाध्य थिए । पुल निर्माणपश्चात् महाकुलुङको बुङ, छेस्काम, गुदेल, सोताङको नाम्लुङलगायत खोटाङको सुङदेलका नागरिकहरुलाई समेत सहज हुने स्थानीय युमन खालिङ राईले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया