Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयहत्याको बढ्दो शृङ्खला

हत्याको बढ्दो शृङ्खला


काठमाडौं । खासगरी दशैँका १० दिनलाई मात्रै आधार मान्ने हो भने धेरै ठूला कारण नभईकन पनि ठूलो संख्यामा व्यक्तिको हत्या भएको देखिन्छ । कतै गीत सुन्ने विषयमा सामान्य विवाद हुँदा त कतै पचास रुपैयाँको एउटा सिक्रीका लागि र कतै खुट्टामा नढोगेको निहुँमा व्यक्तिको हत्या भएका घटनाहरू यसबीचमा समाचारका रूपमा आए । यी घटनामा मारिने पनि युवा र अझ भन्ने हो भने मार्ने–मर्ने दुवै किशोर र युवा उमेरका नै थिए । यही क्रममा मुगुको एउटा घटना त सुन्दैमा मुटु नै काप्ने खालको रह्यो । यो ठाउँमा छ महिनाका शिशुसमेतको क्रुरतापूर्वक हत्या भएको समाचारले हरेक व्यक्तिको मनलाई खलबल्याई नै रहेको छ । यस घटनामा एकै परिवारका चारजनाको बीभत्सरूपले हत्या भयो, जसमा तीन जना त नाबालक नै थिए भने एक जना उनकी आमा थिइन् । यस घटनामा कति जनाको हत्या भयो भन्दा पनि त्यस ठाउँमा कति क्रूर मानिस बसेका रहेछन् भन्ने रूपबाट हेर्नुपर्ने हुन्छ ।

मुगुको घटनामा समाचार पढ्दा र सुन्दानै यो कुनै एउटा सामूहिक हत्या मात्रै होइन भन्नुपर्ने हुन्छ । जसरी हत्यारालाई राज्यले निरन्तर आममाफी दिइरहेको छ, त्यस्ता घटनालाई त्यसले त प्रेरित गरिहेको छैन भन्ने प्रश्न उठ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार हमलामा परी मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी लगिएको छ । यो हत्या भएको चार दिनपछि अर्थात् गत शुक्रबार मुगु जिल्लाकै छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका थिए । २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको एउटै हतियारबाट र एकै प्रकारले घाटी रेटेर हत्या भएको देखियो । हत्यापछि अनुहार नै नचिनिने गरी ढुंगाले किच्याइएको अवस्थामा शवहरू फेलापरेका थिए । आफ्ना तीन सन्तानसँग महिला आप्mनो घरमा एक्लै बसेकी थिइन् । केही कारणले हत्याराले उनको हत्या गर्दा बाँकी दुई बालकले पोल खोल्न सक्ने ठानिएको होला भनी मान्ने हो भने बोली नै नफुटेको आठ महिनाको बालक किन मारिए भन्ने प्रश्न आफैँमा खडा हुन जान्छ । त्यस कारण पनि यसलाई एउटा सामूहिक हत्या घटना मात्रै भनेर नपुग्ला ।

यो घटना विजया दशमीको भोलिपल्टको भनी अनुमान गरिएको छ । दशैँको यही सेरोफेरोमा केन्द्रीय राजधानीको पनि केन्द्रमा एउटै व्यक्तिले एउटै हतियारबाट चार जनाको हत्या गरेका थिए, जसमा एक जना ८० पुग्न लागेकी वृद्धा महिला पनि थिइन् । यस्तो हत्या गर्ने ती व्यक्तिले आफूले यसअघि ८–१० जनाकै हत्या गरिसकेको भनी बयान दिए । अहिले प्रहरीले थप हत्याको अनुसन्धान गरिहेको छ । अघिल्लो वर्षको दशैँताका नै सुदूरपूर्वको संखुवासभाको एउटा गाउँमा एकै परिवारका छ जनाको यस्तै अति क्रूरतापूर्वक हत्या भएको थियो, त्यसमा पनि चार र छवर्षका दुई बालकदेखि ८० वर्षीय वृद्धा समेत परेकी थिइन् । त्यसमा दुई जना दम्पत्ति नै थिए ।

यस्तो बीभत्स हत्याले समाज कतातिर लागिरहेको छ भन्ने डरलाग्दो चित्र देखाउँछ । आफूले पाँच हजार व्यक्तिको हत्या गरेको भनी सार्वजनिकरूपमा नै स्वीकार गर्ने व्यक्ति प्रधानमन्त्री भएको अवस्था र आममाफीका नाममा प्रत्येक वर्ष कर्तव्य ज्यान मुद्दामा सर्वश्व जफत गरिएका व्यक्ति छुटिरहने तथा प्रधानन्यायाधीशले नै चित्तमा लागेको भनेर हत्यारालाई छुटाइदिनेजस्ता घटना यी क्रूरताका लागि कति प्रेरक बने होलान् भन्ने विषयमा गम्भीररूपले अध्ययन होस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया