Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकारको निरुद्देश्य बितेको वर्ष दिन

सरकारको निरुद्देश्य बितेको वर्ष दिन


काठमाडौं । संघीय गणतान्त्रिक संविधानअनुसार दोस्रो आमनिर्वाचनले खडागरेको सरकारको वर्ष दिन पुगेको छ । यो सरकार गठन भएर संसद्बाट विश्वासको मत लिँदा ९९ दशमलव २६ प्रतिशतको समर्थन थियो । सरकार भने तेस्रो दलको नेतृत्वमा बनेको हो । त्यस्तो सरकारले यस्तो समर्थन पाउनु आफैँमा एउटा अवसर हो । तर त्यो समर्थन दुई महिना पनि टिकेन । कारण थियो प्रधानन्त्रीको यताउता लाग्ने चरित्र । त्यसले पहिलोपटक सरकार बन्दाको समर्थन गर्ने दललाई पाखा लगायो र अर्को नयाँ गठबन्धन खडा भयो । प्रधानमन्त्री आफैँचाहिँ तेस्रोपटक सत्तासीन हुँदै थिए । तर त्यो अनुभवले देशलाई र नागरिकलाई कुनै उपलब्धि दिन सकेन । यसले देशमा झनै निराशा फैलायो । यो सरकार बन्दा पहिले दोस्रो ठूलो दलले समर्थन गरेको थियो भने उताको समर्थन तोडिँदा पहिलो ठूलो दल साथ दिन अघि स¥यो । अहिले यो सरकार दश दलको समर्थनमा चलिरहेको छ । तर यसले बिताएको वर्ष दिन भने निरुद्देश्य नै रह्यो ।

यसले वर्ष दिन पूरा गर्दैगर्दा सरकाविरुद्ध जनता सडकमा ओर्लिन बाध्य भए । त्यसको कारण थियो एक जना मन्त्रीको अभिव्यक्ति । उनले कसैको धर्म नमाने त्यो देशद्रोही हुने र त्यही निहँुमा जेल हालिदिने भनी सार्वजनिक मन्तव्य दिएका थिए । प्रधानमन्त्रीको दलकै कोटामा रहेका मन्त्रीले यस्तो घोषणा गर्दा उनीमाथि सामान्य प्रष्टीकरणसमेत लिने–दिने काम भएन । सरकार कसरी चलिरहेको छ भन्ने यो एउटा नमुना हुनुपर्छ । यो सरकार गत वर्ष पुस १० गते खडा भएको हो । अर्को वर्षको यो समय आइपुग्न लाग्दा नै ती मन्त्रीको त्यस्तो भनाइ आएको हो जसले नागरिकहरुलाई सडकमा उतारेको छ । यही बीचमा अर्का एकजना मन्त्रीले वैदेशिक रोजगारीमा जानेहरूले पाइआएका सुविधा खोसिदिए । जस्तो पहिले यस्तो रोजगारीमा जानेहरूले प्र्रिm भिसा, फ्रि टिकट पाउँथे । यो सरकारको वर्ष दिन पुग्नै लाग्दा यो रोकियो । तर ती मन्त्रीले पनि कतै यसको कारण बताउनु परेन । सरकार कति गैरजिम्मेवार प्रकारले चलिरहेको छ भन्ने यी केही उदाहरण हुन् । अर्थमन्त्री भन्छन् देशको अर्थतन्त्र सुध्रिसकेको छ । तर उता प्रधानमन्त्री भने अर्थतन्त्र नाजुक रहेको भन्दै विज्ञहरूको सम्मेलन गराइरहेका हुन्छन् । कुन मन्त्रीले कुन बेला के बोल्ने भन्ने कतै सीमा देखिएन । पछिल्लो समय सरकार असफल रहेको कारणमा आफ्ना मन्त्रीहरुको असफलता देखाए भने मन्त्रीहरूले भने प्रधानन्त्रीलाई दोष दिने गरेका छन् । यता वर्षदिनको सन्देश भने सरकार सरकार जस्तो भएन भन्ने छ ।

यी सबै विवरणहरूले सरकार कति निरुद्देश्य छ भन्ने देखाउँछ । यो वर्ष एउटा नयाँ कुरा प्रकट भएको छ । यता ऋणको अंक विगतको भन्दा धेरै बढी भयो । त्यस्तो ऋणको सावाँ ब्याज तिर्न सरकार भने फेरि पनि ऋण नै लिइरहेको छ । यस्तो नाजुक अवस्थाका बारे कतै बहस समेत भएको देखिएन । प्रशासनिक खर्च चलाउनु ऋण लिने कुरा त सामान्य नै भयो । त्यसै पनि बजेटमा विकास खर्च कम विनियोजन भएको थियो । जस्तो १८ खर्बको बजेटमा विकास खर्च तीन खर्ब मात्रैको छ । त्यसपछि त्यो पनि खर्च नै हुँदैन भने विकास निर्माणको अवस्था कस्तो रहेछ भन्ने अनुमान गर्न सकिन्छ । सरकार मितव्ययिताको नीति बनाउँछ अनि आफैँ त्यसको उल्लंघन गर्छ । यस्ता थुप्रै विषय यो वर्षदिनमा प्रकट भएका छन् । त्यसको समग्र परिणाम देशमा निराशा फैलिएको छ । सबैभन्दा दुःखद् पक्ष यही हो । अबको अपेक्षा हो सरकारले आफ्नो शैली सुधारोस् र आशा जगाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया