Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रधानमन्त्रीको बोली र काममा ठूलो बेमेल

प्रधानमन्त्रीको बोली र काममा ठूलो बेमेल


काठमाडौं । त्यसै पनि बढी गफ गर्ने र काम भने थोपो पनि नगर्ने भनेर चिनिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को वर्ष दिन पुगेको अवसरमा गरिएको राष्ट्रको नामको सम्बोधनले नागरिकलाई थप चिढाएको छ । पुस १० मा उनले दिएको मन्तव्यमा दाबी गरिएका सबै कुरा उल्टोरूपबाट प्रकट भइरहेका छन् । यो समय प्रचण्डको तेस्रो कार्यकालको वर्ष दिन हो । उनको सामु आफ्नो भागमा परेको समय कटाउन खासै गाह्रो देखिँदैन । संसद्मा सबैभन्दा ठूलो दल आफ्नो पालो नआउन्जेल यो गठबन्धनबाट टसमस हुनेवाला छैन । धेरै ठाउँमा त्यस्ता कुरा प्रकट भइरहेका छन् । तर प्रचण्डले यो समयलाई सदुपयोग गर्न सकेनन् । शासनलाई खेलाँची जस्तो माने र हरेक कुरालाई हलुकारूपले लिएको अवस्था छ । यसले गर्दा नै होला उनको यो कार्यकालमा नागरिक झनै बढी आक्रोशित बने । आफँै बैंकको ऋणबाट डुबिरहेको एउटा व्यक्तिले व्यवस्था परिवर्तन गर्ने भनेर गरेका आह्वानमा उपस्थित संख्याले पनि त्यस्तो असन्तोष जनाउँछ ।

यो मानेमा प्रचण्ड यतिबेलासम्मकै सबैभन्दा कमजोर प्रधानमन्त्री मानिएका छन् । कतिसम्म भने अब उनका भाषण सुन्न पनि नागरिक तयार छैनन् । उनको भाषण र कामको कतै तालमेल नै भएको पाइँदैन । जस्तो ८० को दशकलाई तीव्र विकासको दशकका रूपमा परिणत गर्ने भन्ने उद्घोष भएको छ । तर यो वर्षको आजका दिनसम्म उद्योगलाई बढावा दिने एउटा पनि उल्लेख्य काम भएको अवस्था छैन । यस्तो सम्बोधन गरिरहँदा सरकारकै एउटा निकायले उद्योग बन्द गरिहेको छ, त्यसका बिरुद्ध मजदुरहरू सडकमा उत्रिन थालेका छन् । यो सम्बोधनमा रोजगारीलाई व्यापक बनाएर युवाहरूको विदेश पलायनलाई रोक्ने भनिएको छ । चलिरहेका उद्योग बन्द भएर नयाँ बेरोजगारीको जन्म भइरहेको छ । तालमेल नमिलको भाषण भनेको सम्भवतः यही हो । विद्युत् प्राधिकरणले बिजुलीको लाइन कटानमा अपनाइएको काम अपारदर्शी निश्चय नै होइन । जस्तो ८० को दशकलाई तीव्र विकासको दशकका रूपमा परिणत गर्ने भन्ने उद्घोष गरिरहँदा यता चालू वर्षको विकासका संकेतहरू विगतको भन्दा दुःखद् थिए । यो समय भनेको चालू वर्षको पाँचौँ महिना हो । यो समयसम्म आइपुग्दा विकासको नाममा छुट्याइएको खर्च जम्मा ११ प्रतिशतमात्र भएको छ । विकासका लागि सबैभन्दा कम विनियोजन भएको वर्ष पनि यही हो । यता रकम नै कम विनियोजन हुनु र भएकोबाट पनि विगतको भन्दा कम खर्च हुनुले ८० को दशक विकास लागि कस्तो हुँदैछ भन्ने बुझ्न सकिन्छ । त्यसकारण पनि प्रधानमन्त्रीको बोली र काममा कतै तालमेल भएको अवस्था छैन ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र निर्माणको अभियानलाई निर्णायकरूपमै अगाडि बढाउने घोषणा गरे । जनजीविका, शिक्षा, स्वास्थ्य, यातायात, ऊर्जा, सञ्चारको तीव्रतर विकास र सुशासनमार्फत समुन्नत राष्ट्र निर्माणमा उनको भाषण पटक–पटक दोहोरिएको छ । देशमा सुशासन कस्तो छ भन्ने विमानस्थलको तस्करीको सञ्जाल हेरे हुन्छ । खासगरी मानव र सुन तस्करीमा संस्थागत संयन्त्र नै खडा भएको छ । विमानस्थलमा तस्करी भएर आएको सुन राख्ने कोठा नै बनाइएको अवस्था सामान्य होइन । मानव तस्करी यति सहज भएको थिएन, देश यो हदसम्मको रुवावासीमा पर्ने थिएन । युद्ध अरू देशमा चल्छ तर नेपाल रोइरहेको छ । यो वर्ष दिनमा भएका काम कारबाहीमध्येका केही हुन् । यसले प्रधानमन्त्रीले भने जस्तो सुशासनको गन्धसम्म दिँदैन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया