Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअपराध प्रोत्साहन हुने काम नगरियोस्

अपराध प्रोत्साहन हुने काम नगरियोस्


काठमाडौं ।
प्रधानमन्त्रीले देश शान्तिको युगमा प्रवेश गरेको भनी घोषणा गरेको दुई हप्ता पनि बित्न नपाई एउटा डरलाग्दो आतङ्कवादी क्रियाकलाप देखियो तराईको एक ठाउँमा । दिउँसै सरकारी कार्यालयमा त्यो पनि सर्वसाधारणको अधिक भिडभाड हुने समयमा । दर्जनजति घाइते भए र कितपयलाई राजधानी ल्याउनु प-यो । यद्यपि यो घटनामा कसैको ज्यान भने गएन । यो एउटा पक्ष हो तर जे पनि हुनसक्ने अवस्था थियो ।

यसले आम जनतामा त्यस्तो डर पैदा गराएको छ जो जुनसुकै बेला जहाँ र जे पनि हुन सक्छ भन्ने सन्देश फैलिन सक्तछ । यो घटना सरकार र एउटा आतङ्कवादी समूह भनी सरकारले नै प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लवको समूह नेपाल कम्युनिस्ट पार्टी नेकपासँग वार्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुला समारोहमा नै घोषणा गरेका थिए अब नेपालमा सशस्त्र गतिविधि गर्ने समूह निमिट्यान्न भयो । यसको कुनै नामोनिसान रहेन ।

देश एउटा नयाँ प्रकारको शान्तिको युगमा प्रवेश गरिसकेको छ । यही कार्यक्रममा प्रधानमन्त्रीले आफ्ना राजनीतिक सहकर्मीप्रति सङ्केत गर्दै भनेका थिए, यस्तो शान्ति आउनलागेको देखेर कसैको मन कुँडिएको होला तर त्यो कुँडाइले केही हुनेवाला छैन । देशमा शान्ति आयो आयो ।

प्रधानमन्त्रीको यस्तो दाबी नराम्रो होइन । देशमा सबैको चाहना शान्ति नै हो । तर प्रधानमन्त्रीले नेपालमा सशस्त्र गतिविधि गर्ने समूह निमिट्यान्न भयो भनी यस्तो उद्घोष गरेको दुई हप्ता पनि बित्न नपाउँदै सिरहामा दर्जनलाई घाइते बनाउने गरी बम विस्फोटको घटना भयो । सिरहाको लहानस्थित मालपोत कार्यालयको यो घटनामा प्रेसर कुकर बम विस्फोट भएको थियो जसले आठ जनालाई गम्भीर चोट पु-यायो । दुःखद् पक्ष के हो भने यो विस्फोट बेनाम रहेन ।

जयकृष्ण गोइत भनिने आतङ्कवादी समूह ‘जनतान्त्रिक तरार्ई मुक्ति मोर्चा (क्रान्तिकारी)ले यसको जिम्मा लियो । विस्फोटस्थलमा वितरित पर्चामा भनिएको थियो, तरार्ईमा भ्रष्टाचार व्याप्त रहेकाले त्यसको कारबाहीस्वरूप विस्फोट गराइएको हो । केहीपहिले तराईकै एउटा आतङ्कवादी समूहसँग पनि सरकारले सम्झौता गरेको थियो ।

विखण्डनकारी समूह भनी चिनिने सिके राउतसँग सम्झौता हुँदा पनि सरकारले उसँग रहेका हतियारको खोजीनीति गरेको थिएन । यो सम्झौतालाई सरकारले अतिराजनीति गरेर सरकारको ठूलो उपलब्धि मानेको थियो । नेत्रविक्रम चन्दको प्रतिबन्ध फुकुवा गरेको दिन पनि यसको चर्चा भयो । प्रधानमन्त्रीले अब नेपालमा सशस्त्र गतिविधि गर्ने समूह निमिट्यान्न भएको भनी घोषणा गरिँदा यो ठाउँमा राउतको प्रसङ्ग पनि आएको थियो ।

चैत १ गतेको बम विस्फोट यस्तो ठाउँमा र यस्तो बेला भयो जसले अपराधलाई प्रोत्साहन गर्न खोजेको भनी आरोप लागि रहेको थियो । २ नं प्रदेश मधेशकेन्द्रित दलहरूको राजनीतिक थलो होे । देशको सत्तामै ठूलो फेरबदल हुन ज्यानमुद्दामा जन्मकैद भोगिरहेकाहरूलाई रिहाइ गरिदिने माग भएको र प्रधानमन्त्रीले त्यस्तो माग पूरा गरिदिने भनी बचन दिएका भनी समाचार आइरहेका थिए ।

यो समूह प्रधानमन्त्रीको पक्षमा समर्थनमा आए सत्ता टिक्ने अवस्था थियो । यद्यपि यस्तो सम्झौता भने भइसकेको थिएन । यसअघि चन्द समूहसँग सम्झौता गर्दा पनि हतियारको कुनै चर्चा भएन । यो पनि एउटा सशस्त्र समूह हो भन्ने त त्यस दिनको प्रधानमन्त्रीको भनाइले नै पनि बुझाउँछ । अपेक्षा गरौँ राजनीतिले अपराधको यसप्रकारले संरक्षण गरेको नहोला तर अपराधकर्म गरेबापत यो वा त्यो वहानामा दण्डित हुन पर्दैन, राजनीतिले त्यस्तो छुटका लागि सहजीकरण गर्छ भने परिणाम राम्रो हुँदैन, नेतृत्वले हेक्का राख्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया