Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयठूला दलको हार, कोही भएनन् जिम्मेवार

ठूला दलको हार, कोही भएनन् जिम्मेवार


काठमाडौं । सामान्यतया चुनावमा कुनै पनि दलको हारजितले तिनको नेतृत्वक्षमताको परीक्षण गर्ने मानिन्छ । त्यसैकारण चुनाव हारियो भने कम्तीमा त्यो दलको उच्चतहले आफ्नो पदबाट राजीनामा दिनेगरेका विगतका उदाहरण छन् । यो कांंग्रेस, कम्युनिस्ट सबैतिर लाग्ने गरेको थियो । यसको उदाहरणका लागि धेरै अघि जानु पर्दैन । तर पछिल्ला दिन त्यस्तो मान्यता खण्डित हुँदै आयो । २०७४ र अहिलको निर्वाचन त्यसको उदाहरण हुनुपर्छ । अघिल्लो निर्वाचनमा त्यसबेलाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दोस्रो स्थानमा आयो । तर त्यसका सभापतिले राजीनामा दिएनन् । अहिले अर्को दल एमाले पहिलोबाट दोस्रोमा झ-यो तर त्यसका अध्यक्षले पनि यसको जिम्मेवारी लिएनन् । यो पटक तेस्रो दल झनै तल झ-यो तर त्यो दलका प्रमुखले पनि कतै अत्तोपत्तो भएजस्तो देखाएनन् । बरु आफ्नो हार स्वीकार्नुभन्दा अरुलाई दोष दिने परम्पराजस्तै बन्यो ।

यो पटकको निर्वाचनमा विगतको भन्दा २५ लाख ६० हजार मतदाता थपिएका थिए । तर दलहरूले मत भने विगतकै अवस्थामा पनि कायम गराउन सकेनन् । चुनावको अन्तिम परिणाम आउँदा ठूला भनिएका सबै दलका अवस्था यस्तै रह्यो । यो आमनिर्वाचन २०७९ मा प्रमुख दल भनी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आएका थिए । हैसियतका हिसाबले उनीहरू पहिलो, दोस्रो र तेस्रो नै रहे । तर हैसियत कायम रहे पनि मत भने कायम रहेन । यता ०७४ भन्दा मतदातासंख्या २५ लाख ६० हजार छ सय ३२ ले बढेको अवस्थामा मत भने त्यो बेलाको भन्दा घट्न गयो । परिणामले त्यस्तै देखाउँछ । तर यसको जिम्मेवारी कम्तीमा यो बेलासम्म कुनै नेताले लिएका छैनन् ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिटमा सीमित भएको कांग्रेस समानुपातिकतर्फ भने ४० सिट प्राप्त गरेको थियो । यो निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट ल्यायो । तर, समानुपातिकमा ३२ मात्रै । विगतको भन्दा यो दलले समानुपातिकमा आठ सिट गुमायो । ०७४ मा एक करोड ५४ लाख २७ हजार नौ सय ३८ मतदमता हुँदा ३१ लाख २८ हजार तीन सय ८९ मत पाएको कांग्रेसले यो ०७९ मा कुल मतदाता एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० हुँदा जम्मा २७ लाख १५ हजार दुई सय २५ मत पायो । प्रतिशतको हिसाबले पहिले ३२ दशमलव ७७ थियो भने अहिले २६ दशमलव ६ प्रतिशत । यो हिसाबबाट कांग्रेस चार लाख १३ हजार एक सय ६४ मत गुमाएको देखिन्छ ।

अर्को दल एमाले ०७४ मा सबैभन्दा ठूलो दल थियो । ऊसँग १२१ को संख्या थियो । अहिले ऊसँग जम्मा ७८ मात्रैको संख्या छ । ४३ सिट गुमाएर यो पटक दोस्रो दलमा आयो । यो दलले पनि विगतको भन्दा तीन लाख २७ हजार सात सय ९० मत गुमाएको देखिन्छ । तेस्रो दल माओवादीको पनि अवस्था त्यस्तै छ । ५३ सिट जितेकोे माओवादी केन्द्र यसपटक ३२ सिटमा आयो  । यद्यपि उसको तेस्रो हैसियत भने कायम रह्यो तर मत र सिटमा भने यो दलले पनि हारेकै देखियो ।

यस्तो हारमा यी कुनै दलले पनि जिम्मेवारी लिएका पाइएन । किन यस्तो भयो भन्ने व्याख्या आ–आफ्नो प्रकारले होला । यी तीनै दलले विगतको भन्दा एक मत पनि बढाएका छैनन् । बरु ठूलो संख्यामा गुमाएका देखियो । अघिल्लो पटकभन्दा मत कम आउँदा यसको नेतृत्वले कतै पनि कसैले पनि जिम्मा किन लिएनन् भन्ने प्रश्न निरुत्तरित छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x