Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबिटक्वाइन मूल्यमा एकपछि अर्को रेकर्ड

बिटक्वाइन मूल्यमा एकपछि अर्को रेकर्ड


लन्डन ।
भर्चुअल मुद्राका रुपमा चिनिने डिजिटल पैसा बिटक्वाइनको मूल्य लगातार बढ्दा एकपछि अर्को कीर्तिमान कायम भएको छ । बीबीसीका अनुसार आइतबार एक बिटक्वाइनको मूल्य ५८ हजार अमेरिकी डलर पुगेको हो । यो वर्ष बिटक्वाइनको मूल्य लगातार बढिरहेको छ । जनवरीको सुरुदेखि अहिलेसम्म बिटक्वाइनको मूल्य ९० प्रतिशतले बढेको छ । योसँगै यसको कुल बजार मूल्य १० खर्ब अमेरिकी डलर पुगेको छ ।

केही दिनअघि टेस्लाका मालिक अर्बपति एलन मस्कले भविष्यमा कम्पनीले गाडी बिक्रीवितरण समेत गर्ने भन्दै डिजिटल मुद्रालाई समर्थन गर्ने बताएका थिए । उनले अर्बौँको भर्चुअल मुद्रा खरिद गरेको समेत बताएका थिए । योसँगै बिटक्वाइन लगायतका भर्चुअल मुद्राको मूल्य आकाशिएको छ । बिटक्वाइन सन् २००९ मा निर्माण गरिएको थियो । त्यसयता यसको मूल्यमा उतारचढाव आएको छ । पछिल्लो समय भने यसको मूल्य तीव्रगतिमा बढेको छ ।

क्वाइनडेस्कका अनुसार यो वर्ष सुरुमा यसको मूल्य २८ हजार नौ सय अमेरिकी डलर प्रति एक थियो । जनवरीको सुरुमा बिटक्वाइन ४० हजार अमेरिकी डलर प्रति एक पुग्दा नयाँ कीर्तिमान बनेको थियो । पछि यो त्यही महिनाको अन्त्यतिर भने घटेर ३० हजार डलरमा झरेको थियो । तर पछि फेरि फेब्रुअरी १६ मा यसले ५० हजार डलर पुग्दै नयाँ कीर्तिमान कायम गरेको थियो । आइतबार पनि यसैलाई निरन्तरता दिँदै ५८ हजार डलर प्रति एक बिटक्वाइन मूल्यको नयाँ कीर्तिमान बन्नपुगेको हो ।

पछिल्लो समय सुपरिचित कम्पनीहरुले समेत यसलाई स्वीकार्न सकारात्मक प्रतिक्रिया दिएका छन् । यसलाई भुक्तानीको माध्यम बनाउन एलन मस्कजस्ता कम्पनीले स्वीकार गरेपछि भविष्यमा यसको प्रयोग अवश्यम्भावी बनेको छ । मस्कको कम्पनी टेस्लाले त डेढ अर्ब अमेरिकी डलरको बिटक्वाइन खरिद नै गरिसकेको छ । यसबाहेक मास्टरकार्डले पनि बिटक्वाइनलाई भुक्तानीको माध्यम बनाउने योजना बनाएको छ भने ब्ल्याकरकजस्तो विश्वविख्यात सम्पत्ति व्यवस्थापक कम्पनीले डिजिटल मुद्रा प्रयोग गर्नसक्ने संकेत गरिसकेको छ ।

खासगरी विश्वमा कोरोना भाइरस संक्रमणले महामारी रुप लिएपछि बिटक्वाइनको भाउ ह्वात्तै बढेको छ । मानिसहरु अनलाइनबाटै सामग्री किन्ने भएका छन् । यसले आममानिसले बिटक्वाइनलाई अपनाउने आकलन बढिरहेको छ । तर यसका आलोचकहरु भने यसले बजारमा मुद्राको काम गर्नसक्नेमा सशंकित देखिन्छन् । थोरै मात्र व्यवहारमा प्रयोग हुने उनीहरुको तर्क छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया