Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु


ढाका ।
बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुंगा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तीव्र गतिमा दौडिने डुंगा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।

सिन्ह्वाका अनुसार स्थानीय समय बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको हुनसक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिए ।
उनले भने, ‘२६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको छ ।’

बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुंगा दुर्घटनामा ज्यान जाने गरेको छ । एक महिनाअघि गत अप्रिल ४ मा कार्गो जहाज र मानिस ओसार्ने डुंगा एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।

गत वर्षको जुन महिनामा पनि यात्रुवाहक डुंगा अर्को फेरीसँग ठोक्किएर दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यस शताब्दीको सबैभन्दा भयानक डुंगा दुर्घटना मानिएको घटनामा सन् २०१४ मा सय जनाको डुबेर ज्यान गएको थियो ।

बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुंगामार्फत यात्रा निकै लोकप्रिय यातायातको साधन हो । तर पर्याप्त अनुगमनको अभावमा वर्षेनी धेरै व्यक्तिको डुंगाहरु दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया