Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएसिया प्रशान्त स्वतन्त्र व्यापार सम्झौताको लागि बेलायतले छलफल थाल्ने

एसिया प्रशान्त स्वतन्त्र व्यापार सम्झौताको लागि बेलायतले छलफल थाल्ने


लन्डन ।
बेलायतले एसिया प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार सम्झौताको लागि छलफल थाल्ने भएको छ । वर्तमान र भविष्यको केही ठूलो अर्थतन्त्रमा यसबाट पहुँच पुग्ने बेलायत सरकारले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

द कम्प्रिहेन्सिभ एन्ड प्रोग्रेसिभ एग्रिमेन्ट फर ट्रान्स–प्यासिफिक पार्टनरशिप (सीपीटीपीपी) अस्ट्रेलिया, क्यानडा र जापानसहितको ११ राष्ट्र मिलेर बनेको व्यापार साझेदारी हो । यसको सदस्यता लिन बेलायतले चाहिरहेको छ । सदस्यता लिए उसले कार र ह्विस्कीजस्ता वस्तु निर्यातमा अतिरिक्त कर घटाउनेछ । यो व्यापार क्षेत्रले ५० करोड मानिसको बजारलाई समेटेको छ ।

न्युजिल्यान्ड, ब्रुनाई, चिली, मलेसिया, मेक्सिको, पेरु, सिंगापुर र भियतनाम यसका संस्थापक सदस्य हुन् । यो सन् २०१८ मा स्थापना भएको थियो । युरोपेली संघबाट बहिर्गमनसँगै गत जनवरीमा बेलायतले यसको सदस्यताका लागि आवेदन दिएको थियो । अन्तर्राष्ट्रिय व्यापार सचिव लिज ट्रसले बेलायतको अवसरहरु व्यापार क्षेत्रमै रहेको बताएकी छिन् । सदस्यता लिँदा बेलायतलाई युरोपबाट बहिर्गमनपछिको उत्कृष्ट पुरस्कार प्राप्त हुने भएकाले यो अवसर गम्न नदिने उनको भनाइ छ ।

सदस्यता लिन सफल भए बेलायती किसान, उत्पादक र नवप्रवर्तकलाई अहिले र भविष्यमा राम्रो अवसर सिर्जना हुने बताइएको छ । तर यसअघि बेलायतले अस्ट्रेलियासँग गरेको स्वतन्त्र व्यापार सम्झौताबाट बेलायती किसानले असन्तुष्टि पोखेका थिए । सम्झौताले अस्ट्रेलियाबाट हुने आयातले आफूहरुलाई मूल्यमा नोक्सानी पुग्ने दाबी किसानको थियो । सीपीटीपीपीमा आबद्ध हुन चाहने बेलायत पहिलो गैरसंस्थापक देश हो भने यो स्वीकृत भए जापानपछि बेलायत नै ठूलो अर्थतन्त्रयुक्त देश हुनेछ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया