Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआर्थिक संकटग्रस्त एभरग्रान्डेले भाखा सकिनुअघि नै उठायो साढे १४ करोड डलर

आर्थिक संकटग्रस्त एभरग्रान्डेले भाखा सकिनुअघि नै उठायो साढे १४ करोड डलर


चीन । आर्थिक संकटग्रस्त अवस्थामा पुगेको चिनियाँ घरजग्गा कारोबारकर्ता एभरग्रान्डेले म्यादअघि नै बजारबाट १४ करोड ५० लाख अमेरिकी डलर उठाएको छ । कम्पनीले ऋणको ब्याज भुक्तानी गर्नुपर्ने समयसीमा नजिकिँदै गर्दा उक्त रकम संकलन गरेको हो । कम्पनीले मिडिया फर्म हेंगटेन नेटवर्क ग्रुपमा रहेको ५.७ प्रतिशत सेयर बिक्री गरेको बीबीसीले जनाएको छ । कम्पनीले १४ करोड ८० लाख डलर ऋण ब्याज भुक्तानी यही हप्ता गर्नुपर्नेछ । कम्पनीले अहिलेसम्म ३० दिनको थप अवधिअगावै तिर्न बाँकी ब्याज तिर्दै आफूलाई बचाउँदै आएको छ ।

यो वर्षको सुरुसम्म हेंगटेनमा कम्पनीको सबैभन्दा धेरै सेयर थियो तर सेयर बिक्री गरेर कम्पनीले आफ्नो वित्तीय प्रतिबद्धता पूरा गरिरहेको छ । हेंगटेनको अन्य ठूला कर्पोरेट सेयरसदस्य चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट पनि हो । कम्पनीले एभरग्रान्डेबाट २६ करोड ६० लाख डलरबराबरको ७ प्रतिशत सेयर गत जुलाईमा किनेको थियो । पछिल्लो सेयर बिक्रीसँगै टेन्सेन्ट उक्त मिडिया कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व भएको कम्पनी बनेको छ ।

हेंगटेनबाहेक एभरग्रान्डेले आफ्नो बेलायतस्थित विद्युतीय मोटर उत्पादन व्यववसाय प्रोटीन गत हप्ता बिक्री गरेको थियो । कम्पनीले यो बिक्रीबाट कति आम्दानी ग¥यो भन्ने खुलाइसकेको छैन । जुन सन् २०१९ मा पाँच करोड ८० लाख डलरमा किनिएको थियो । बितेका महिनाहरुमा कम्पनीले ऋणको ब्याज तिर्ने रकम जुटाउन आफ्ना सम्पत्ति बिक्री गर्न हम्मेहम्मे परिरहेको छ ।

गत महिना कम्पनीले हङकङ स्टक एक्सचेन्जमा आफ्नो सेयर कारोबार पनि रोकेको थियो । आफ्नो ठूलो कारोबार हुनलागेकोले सेयर कारोबार रोके पनि पछि बिक्री सम्झौता निष्कर्षमा पुग्न सकेन । १७ दिन कारोबार रद्द गरे पनि दुई अर्ब ६० करोड डलरको भनिएको उक्त सम्झौता अन्तिम चरणमा हुन नसकेको हो । एभरग्रान्डेको तीन खर्ब डलरको ऋणको पहाड र कम्पनीको ऋण चुक्ता गर्ने अवस्थाले कम्पनी ध्वस्त हुने संघारमा पुगेको छ । यसले विश्वबजारमा खराब सन्देश गएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया