Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारराष्ट्रसंघ भन्छ– विश्वभर १० वर्षमाथिका तीन चौथाइ मानिसले मोबाइल चलाउँछन्

राष्ट्रसंघ भन्छ– विश्वभर १० वर्षमाथिका तीन चौथाइ मानिसले मोबाइल चलाउँछन्


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसंख्यासँग मोबाइल फोन भएको देखाएको छ ।

‘मोबाइल फोन इन्टरनेट प्रयोगको लागि सबैभन्दा सहज ढोका हो । मोबाइल फोन स्वामित्वको प्रतिशतले इन्टरनेट उपलब्धता र पहुँचको सूचकको रूपमा सेवा गर्दछ’, आईटीयूले विश्वव्यापी सूचना सम्पर्कबारे आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको छ ।

रिपोर्टमा मोबाइल फोनको उपलब्धता इन्टरनेट प्रयोगको तुलनामा उच्च रहेको र विशेष गरी कम आय भएका देशहरूमा सामान्यतया ब्रोडब्यान्ड सेवा र सेलुलर सेवाहरू भन्दा महँगो रहेको उल्लेख गरिएको छ । आईटीयूले हालैका वर्षहरूमा मोबाइल फोनको स्वामित्व लगातार बढेको र सन् २०१९ मा यो संख्या ६७ प्रतिशतभन्दा कम रहेको अनुमान गरेको छ ।

आईटीयूका वरिष्ठ अर्थशास्त्री थियरी गीगरले एएफपीलाई बताएअनुसार सन् २०२० मा कोभिड–१९ महामारीको पहिलो वर्षमा अनलाइन प्रगोग गर्ने जनसंख्यामा ठूलो वृद्धि भएको छ । आईटीयूका अनुसार, धनी देशहरूमा मोबाइलको उपलब्धता सबैभन्दा बढी छ । यी मुलुकहरूमा हाल औसत ९५ प्रतिशत मानिसहरूसँग मोबाइल फोन छ । कम आय भएका देशहरूमा सबैभन्दा थोरै केवल ४९ प्रतिशत मानिससँग मात्र फोन छ ।

‘प्राविधिक अँध्यारो’ संयुक्त राष्ट्रसंघको दूरसञ्चार एजेन्सीका अनुसार पृथ्वीको करिब एक तिहाइ भाग अहिलेसम्म पनि अनलाइनमा छैन । तर अनलाइन जनसंख्या बढ्दै गएको छ र अनुमानित पाँच अर्ब ३० करोड मानिस अर्थात् विश्वका ६६ प्रतिशत मानिसले अहिले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

आईटीयूको दूरसञ्चार विकास विभागका प्रमुख डोरेन बोगदान–मार्टिनले भने, ‘इन्टरनेटको पहुँच बढिरहेको छ, तर आवश्यक पर्ने जति छिटो र समान रूपमा संसारभरि छैन । धेरै मानिसहरू अझै पनि ‘डिजिटल’ अँध्यारोमा बाँचिरहेका छन् ।’

विश्वव्यापी इन्टरनेट प्रयोगको अनुमानले सामान्यतया मोबाइल–ब्रोडब्यान्ड सेवाहरूको मूल्यलाई हेर्छ, जसले प्रयोगकर्ताहरूलाई स्मार्टफोनबाट इन्टरनेट पहुँच गर्न अनुमति दिन्छ र निश्चित इन्टरनेट सेवाको तुलनामा यो तुलनात्मक रूपमा सस्तो हुन्छ ।

बुधबारको प्रतिवेदनअनुसार मोबाइल ब्रोडब्यान्ड सेवाको विश्वव्यापी औसत मूल्य गत वर्ष प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय (जीएनआई) को १.९ प्रतिशतबाट घटेर अहिले १.५ प्रतिशतमा झरेको छ ।

यद्यपि, अधिकांश कम आय भएका अर्थव्यवस्थाहरूमा औसत उपभोक्ताको लागि लागत अझै पनि धेरै उच्च छ । ती मुलुकमा आधारभूत मोबाइल तथ्यांक योजनाको लागत प्रति व्यक्ति जीएनआईको नौ प्रतिशत हुने अनुमान गरिएको छ ।

आईटीयूले सबै देशहरूलाई किफायती ब्रोडब्यान्ड पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ, जसलाई प्रतिव्यक्ति जीएनआईको दुई प्रतिशतभन्दा कम लागतको रूपमा परिभाषित गरिएको छ । सूचना सम्पर्कको लागत घट्दो क्रममा रहेको देखिए पनि गिगरले अन्य आवश्यकताका लागि बढ्दो लागतले धेरैलाई अफलाइन रहन बाध्य पारिरहेको बताएका छन् ।

आईटीयूको प्रतिवेदन अनुसार इन्टरनेट सेवामा एउटा महत्वपूर्ण लैंगिक अन्तर रहेको र लगभग २५ करोड ९० लाख महिलाहरूले पुरुषहरूको तुलनामा इन्टरनेटको पहुँच कम पाएका छन् । हाल ६३ प्रतिशत महिलाले मात्र इन्टरनेट प्रयोग गरिरहेका छन् भने ६९ प्रतिशत पुरुषले इन्टरनेट प्रयोग गरिरहेका छन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया