Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराष्ट्रकवि घिमिरेको देहावसान

राष्ट्रकवि घिमिरेको देहावसान


काठमाडौँ, भदौ ३
राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा दुःखद निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको मंगलबार आफ्नै निवास लैनचौरमा निधन भएको हो । कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करिब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् ।

मालतीमङ्गले उनले लेखेको बहुचर्चित नेपाली नृत्यनाटिका (ओपेरा) हो । अश्वत्थामा(अङ्ग्रेजी) कृति नोबेल पुरस्कारको मनोनयनका लागि पठाइएको थियो । घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, यो नेपाली शिर उचाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् । उनका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक’ अत्यधिक लोकप्रिय मानिन्छ ।

वि.सं. २०७४ माघ २६ गते उनलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साल फागुन २ गते जङ्गीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गरेकी थिइन् । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म भएका उनलाई वि.सं. २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो । उनको मंगलबार नै पशुपतिमा अन्त्येष्टि गरिने र नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मानगारत प्रदान गर्ने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छिन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया