Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमझगाउँ विमानस्थलकोे पुनर्निर्माण सुरु, धावनमार्ग विस्तार हुने

मझगाउँ विमानस्थलकोे पुनर्निर्माण सुरु, धावनमार्ग विस्तार हुने


कञ्चनपुर । विगत दुई दशकदेखि गौचरणमा परिणत कञ्चनपुर मझगाउँ विमानस्थलको पुनर्निर्माणको काम सुरु गरिएको छ । बन्द रहेको विमानस्थल विस्तारका टेन्डर भई निर्माणका लागि कान्छाराम/कुमार/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख सात सय १५ रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ । धावनमार्ग र विमानस्थल पुनर्निर्माणको काम तीन वर्षमा पूरा गर्नेगरी निर्माण कम्पनीले काम सुरु गरेको छ ।

हाल निर्माण कम्पनीले माथिल्लो तहको खुकुलो माटो, झाडी र बुट्यान सफा गर्ने काम गरिरहेको छ । धावनमार्गमा ग्राबेल तथा सबबेसको काम पनि सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख मीनराज ओझाले भने, ‘विमास्थल सञ्चालनका लागि साझेदारीमा काम सुरु भएको छ ।

निर्माणको काम जारी छ । पहिलो फेजमा रन–वे, ट्याक्सी–वेको काम हुनेछ । टर्मिनल बिल्डिङहरू दोस्रो फेजमा निर्माण गरिनेछ ।’ निर्माण कम्पनीले स्तरीय माटो भरान तथा सवग्रेडको काम थालेको छ । निर्माणकम्पनी आवश्यक सामग्रीको व्यवस्थापनमा लागेको छ । एक हजार मिटर लम्बाइ रहेको धावनमार्ग पहिलो चरणमा एक हजार पाँच सय २५ मिटर बनाइनेछ । दोस्रो चरणमा तीन सय मिटर धावनमार्ग थपिने नेपाल नागरिक उड्यन प्राधिकरणले बताएको छ । ‘६६ बिघा क्षेत्रमा फैलिएको विमास्थलका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको खेलमैदान रहेको क्षेत्रको जमिन आवश्यक पर्नेछ, उक्त जग्गाका लागि स्थानीय र प्रदेश सरकारबाट पहल हुँदै छ । खासै समस्या छैन’, ओझाले भने ।

मझगाउँ विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी हालसम्म ४५ करोड ६६ लाख सात सय १५ रूपैयाँ जम्मा गरिएको छ । विमानस्थल निर्माणका लागि बजेटको अभाव हुन नदिने दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बताए । ‘रकमको कमी हुँदैन होला । उहाँहरूले काम सुरु गर्नुभएको छ । कुनै समस्या छैन’, उनले भने । विस २०३० मा सञ्चालनमा आएको मझगाउँ विमानस्थल द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया