Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुवाहरुसँग प्रधानसेनापति कार्यक्रम सम्पन्न

युवाहरुसँग प्रधानसेनापति कार्यक्रम सम्पन्न


काठमाडौं । राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एनसीसी पूर्व छात्र संघ नेपालको छैठौं वार्षिकोत्सवको अवसरमा युवासँग प्रधानसेनापति कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै बुधबार प्रधानसेनापति तथा राष्ट्रिय सेवा दल नेपालका सहसंरक्षक महारथी प्रभुराम शर्माले संघसँग आवद्ध सबैलाई संस्थाको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

उनले स्थापनाकालदेखि नै राष्ट्रिय सेवा दलले युवाहरूलाई अनुशासित, नैतिकवान, इमानदार र बफादार बनाउने, युवाहरूमा नेतृत्व क्षमताको विकास गर्ने, राष्ट्रियता एवम् राष्ट्रिय एकताको भावना जागृत गराउनुका साथै राष्ट्रलाई कुनै पनि विपत्ति पर्दा नि:स्वार्थ ढंगले तत्परताका साथ क्रियाशील हुने युवा स्वयंसेवकहरू तयार गर्ने कार्य गर्दै आइरहेको बताए । उनले हाल देशका ७७ वटै जिल्लाहरूमा राष्ट्रिय सेवा दल विस्तार भई प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आइरहेको र हालसम्म ६८ हजार नौ सय ७२ जनाले तालिम लिइसकेको उल्लेख गरे ।

समाजमा व्याप्त विकृति, बेथिति र पछौटेपनलाई निर्मूल गरी सुसंस्कृत, सभ्य समाज निर्माणमा संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानसेनापतिले नेपाल सरकारका विभिन्न निकायहरू, स्थानीय तहहरू, कानून कार्यान्वयन गर्ने निकायहरू, सामाजिक संघ संस्थाहरूसँगको सहकार्य एवं समन्वयमा संस्थाले थुप्रै सिर्जनशील र रचनात्मक कार्यहरू गरिरहेको उल्लेख गरे । उनले नेपालको संविधानले नेपाली सेनालाई दिएको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको जिम्मेवारी राष्ट्रिय सेवा दलका छात्रछात्राहरूको पनि जिम्मेवारी हो भन्ने बुझ्न सहभागीलाई आह्वान गरेका छन् ।

सम्बोधनकै क्रममा प्रधानसेनापति शर्माले राष्ट्रिय सेवादल तालिमलाई नेपाल सरकारले दिएको प्राथमिकता, नेपाली सेनाको परिश्रम, योगदान तथा राष्ट्रले तालिम प्राप्त क्याडेटहरुबाट राखेको अपेक्षालाई सम्पूर्ण क्याडेटहरूले पूर्व विद्यार्थी संघमार्फत सार्थक बनाई समाजको रूपान्तरण र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले मित्रराष्ट्रहरूसँग सञ्चालन भइरहेका युवा आदानप्रदान कार्यक्रमलाई भविष्यमा अझ विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार निगम हुमागाँइले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै नेपाली जनताको आस्था एवं भरोसाको पुञ्ज नेपाली सेनाको छत्रछायाँमा प्रशिक्षित भई सेनाकै विभिन्न युनिटहरूसँग हातेमालो गर्दै राष्ट्रसेवाको पथमा सक्रिय हुन पाएकोमा राष्ट्रिय सेवा दलबाट दीक्षित समस्त क्याडेटहरू गौरवान्वित भएका बताए ।

राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्की(अ.प्रा.)ले पूर्व विद्यार्थी संघका सदस्यहरूलाई बधाई र शुभकामना दिँदै उनीहरूको सीप र क्षमताको सदुपयोगका लागि उपयुक्त वातावरण तयार पार्ने कार्यमा राष्ट्रिय सेवादल सधैं प्रयत्नशील रहने प्रतिबद्धता प्रकट गरे ।

कार्यक्रममा बलाधिकृत रथी अशोक राज सिग्देल, रथीवृन्द, संघका ७ वटै प्रदेशका निर्देशकका साथै तालिमरत छात्रछात्रा एवं सकलदर्जाका प्रशिक्षकहरूको उपस्थिति थियो । राष्ट्रिय सेवादल नेपाल २०२२ सालमा स्थापना भएको हो भने यसबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था २०७५ सालमा स्थापना भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया