Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटक भिसामा कडाइ

पर्यटक भिसामा कडाइ


काठमाडौं । मानव तस्करका कारण ‘भिजिट भिसा’मा विभिन्न मुलुकमा पुग्ने नेपालीहरू समस्यामा परेसँगै अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपालीको लागि यात्रा परामर्श जारी गरेको छ । विभागले मंगलबार जारी गरेको १३ बुँदे यात्रा परामर्शमा भिजिट वा पर्यटक भिसालाई ‘वर्किङ भिसा’मा परिवर्तन नगर्न आग्रह गरिएको छ । भिजिट भिसा वा पर्यटक भिसालाई ‘वर्किङ भिसा’मा परिवर्तन गर्दा विशेषगरी महिलाहरू समस्यामा पर्नेगरेको हुँदा त्यसबाट सुरक्षित रहनको लागि भिसा परिवर्तन नगर्न आग्रह गरिएको हो ।

‘श्रम गन्तव्य मुलुकहरू कुवेत, ओमन, संयुक्त अरब इरिमेट्स र बहराइनजस्ता मुलुकमा बिचौलियाको प्रभावमा महिलाहरूलाई भिजिट वा पर्यटक भिसामा पुगी ‘वर्किङ भिसा’मा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रमकार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्नेजस्ता सम्भावना रहेकाले काम गर्ने मनसायले विदेश जानेहरूले भिजिट वा पर्यटक भिसामा नगई श्रम स्वीकृति लिई ‘वर्किङ भिसा’मा मात्र सम्बन्धित मुलुक जान आग्रह गरिएको छ’, यात्रा परामर्शमा भनिएको छ ।

विभागले भिजिट वा पर्यटक भिसामा नक्कली कागजात पेस नगर्न, द्वन्द्वग्रस्त मुलुकहरूमा नजान तथा विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश नगर्न समेत भनेको छ । भिजिट वा पर्यटको भिसामा यात्रा गर्ने नेपाली यात्रीहरूले नक्कली कागजात पेस गर्ने, झुटा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिवधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयम् नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्देश्यअनुरूप मात्र कार्य गरी आफूलाई पूर्णरूपमा सुरक्षित राख्न थप सजगता आनाउन आग्रह गरिएको छ ।

‘भिजिट भिसा सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेट्न जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र हो भने पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो मुलुकमा घुम्न जानका लागि सम्बधित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र हुँदा भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो, विभागले भनेको छ, ‘यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परेर विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ, तसर्थ भिजिट वा पर्यटक भिसामा विदेश जाँदै गर्दा आफन्त भेट्ने र घुम्नेलगायत भिसाको उद्देश्यअनुसारका काम मात्र गर्नुहोस् र भिसाको अवधिभित्रै स्वदेश फर्किनुहोस्, भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनका लागि सेटिङको नाममा बिचौलियाहरूले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन सबैमा आग्रह छ ।’

श्रम मन्त्रालयका प्रवक्ता राजिव पोखरेलका अनुसार भिजिट र पर्यटकको भिसामा गई मलेसिया र खाडी मुलुकहरूमा काम गर्ने तथा वर्किङ भिसामा परिवर्तन गर्ने कारणले गर्दा नेपाली श्रमिकहरू सुरक्षित नहुने अवस्था रहँदा ‘ट्राभल एड्भाइस’ आवश्यक छ । विशेषगरी काम गर्ने उद्देश्य लिएर भिजिट भिसामा जाने क्रम बढेसँगै ‘ट्राभल एड्भाइस’ जारी गरिएको अध्यागमनका अधिकारीहरूले जानकारी दिएका छन् । भिजिट र पर्यटक भिसाको दुरूपयोग नहोस् र नेपाली नागरिकहरू सुरक्षित हुन् भन्ने उद्देश्यले श्रम र गृह मन्त्रालयबीचको समन्वयमा ‘ट्राभल एड्भाइस’ जारी गरिएको विभागका अधिकारीहरूले बताए । जसअनुरूप विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका नेपाली यात्रुहरू तोकिएको समयमा नफर्किने समस्या रहेको असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको समयभित्र स्वदेश फर्कनपर्ने हुन्छ भने सोहीअनुरूप जिम्मेवारी निर्वाह गर्न समेत विभागले सबैमा आग्रह गरेको छ । यदि तोकिएको समयमा स्वदेश नफर्किएको खण्डमा भने र कुनै समस्या भएमा स्वयम् व्यक्ति जिम्मेवारी हुने हुँदा समयमै स्वदेश फर्किनेछु भनी स्वःघोषणा गरेर मात्र विदेश भ्रमणमा जानुपर्ने व्यवस्था गरिएको छ । साथै गन्तव्य मुलुक जानुअघि सम्बधित देशको भाषा, संस्कृति र काुनसम्बन्धी समान्य जानकारी राखी भ्रमण गर्न समेत अनुरोध गरिएको छ ।

अध्ययन भिसामा पनि समस्या आएको भन्दै विभागले अध्ययन भिसामा गई विश्वविद्यालयमा नगई गलत ढंगबाट काम गर्दा समस्या आउन सक्ने एवं पछिल्ला दिनहरूमा अध्ययन भिसामा रहेर पनि काम गर्न एवं पैसा कमाउन सकिन्छ भनेर विभिन्न बिचौलियाहरूमार्फत विदेशी विश्वविद्यालयमहरूमा भर्ना भई काम गर्ने मनसायले भ्रमण गर्ने उद्देश्यमा भएका यसमा थप सतर्कता अपनाउन सम्बन्धितहरू पक्षहरूलाई भनिएको छ । यसबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूमा समस्या नहुने विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।

श्रम स्वीकृति लिई विदेश पठाउन रकम माग गर्नेे संस्थाको हकमा भने रकम बुझाउनुपूर्व इजाजतपत्रवाला संस्थाको आधिकारिता जाँच गर्न आग्रह गरिएको छ । यदि शैक्षिक परामर्शदाता, ट्राभल एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा रकम नदिई आफू ठगीमा पर्नलागेको जानकारी सम्बन्धित निकायमा दिनुपर्नेछ । यसका लागि वैदेशिक रोजगार विभाग वा नजिकको प्रहरी कार्यालय वा प्रहरीको टेलिफोन सेवा १०० मा जानकारी गराउन सकिनेछ ।

वैदेशिक रोजगारीमा पठाउन इजाजतप्राप्त संस्थाले भिजिट वा पर्यटक भिसामा पठाउन खोजेमा सो सम्बन्धमा गोप्य सूचना दिनका लागि गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागमा सम्पर्क गर्नुपर्ने बताइएको छ । भारत तथा बेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुनबाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्णरूपमा गैरकानुनी र राष्ट्रहितविपरीत हुँदा यस्तो कार्य गर्ने व्यक्तिहरूलाई उद्दार गर्न समेत कठिन हुने भएकाले कुनै पनि अवस्थामा अन्य मुलुकको सेना वा सशस्त्र समूहमा भर्ना हुने तथा पठाउने काम नगर्न आग्रह गरिएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा वा भिजिट भिसामा ठगीमा परेको शंका लागेमा प्रहरी, जिल्ला प्रशासन कार्यालय, श्रम कार्यालय र विभागमा तुरुन्त उजुरी गर्ने तथा विदेशमा रहेको खण्डमा नेपाली दूतावास वा नियोगमा सम्पर्क गर्न आग्रह गरिएको छ । वैदैशिक रोजगारसँग सम्बन्धित विषयमा जानकारी लिनुपरेमा सरकारले मुलुकभरका सम्पूर्ण स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा आवश्यक जानकारी लिनसक्ने व्यवस्था गरेको छ भने वैदेशिक रोजागरीसम्बन्धी जानकारी लिन राहदानी बनाउँदा जिल्ला प्रशासन कार्यालयहरूमा रहेको ‘माइग्रेस रिसोर्स सेन्टर’मा सम्पर्क राख्न वा वैदेशिक रोजगार बोर्डको सचिवालयमा विनाशुल्क ११४१ मा फोन वा अबििअभलतभच२ाभद।नयख।लउ मा इमेल गर्न समेत आग्रह गरेको छ ।

पछिल्लो समय युद्धरत मुलुकमा गई सेनामा जागिर खाने प्रवृत्ति बढेको छ, जसले दुर्घटना निम्त्याएको छ । पछिल्लो समय युद्धरत मुलुक इजरायल, युक्रेन र रुसमा १८ जना नेपालीले ज्यान गुमाएका छन् भने पाँच जना बन्धक रहेका छन् । मन्त्रालयका अनुसार विभिन्न मुलुकका सेना र प्रहरीमा २० हजार जनाभन्दा बढी नेपाली कार्यरत छन् । यद्यपि सरकारले संस्थागतरूपमा एक सय आठवटा र व्यक्तिगत प्रयासमा एक सय ७२ वटा मुलुक खुला गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया