Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकी पत्रकारलाई दिएको दुई घण्टा लामो ‘दुर्लभ’ अन्तर्वार्तामा पुटिनले के भने?

अमेरिकी पत्रकारलाई दिएको दुई घण्टा लामो ‘दुर्लभ’ अन्तर्वार्तामा पुटिनले के भने?


काठमाडौं,रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष रुसमा बन्धक बनाइएका अमेरिकी पत्रकार एभन गोर्श्कभिचलाई छाड्न एउटा सहमति गर्न सकिने बताएका छन्।

अमेरिकी टेलिभिजन प्रस्तोता टकर कार्ल्सनसँग कुरा गर्दै पुटिनले जासुसीको आरोप लगाइएका ती पत्रकारका विषयमा अमेरिकासँग कुराकानी भइरहेको बताए।

उक्त अन्तर्वार्तामा पुटिनले युक्रेन, अमेरिकी राष्ट्रपतिहरू र सीआईएबारे बोलेका छन्।

सन् २०२२ मा युक्रेन अतिक्रमण गरेयता रुसी राष्ट्रपतिले पहिलो पटक पश्चिमा पत्रकारलाई अन्तर्वार्ता दिएका हुन्।
पुटिनसँगको विशेष अन्तर्वार्ताले कार्ल्सन र उनको नयाँ मिडिया कम्पनीलाई चर्चामा ल्याइदिएको छ।

कार्ल्सन परम्परावादी तर आक्रामक प्रस्तोता हुन्। गत वर्ष अकस्मात् फक्स न्यूजबाट उनको बहिर्गमन भएको थियो।
अमेरिकी पत्रकार छुट्लान्?
पुटिनले “यदि हाम्रा साझेदारहरूले पनि उस्तै कदम चाले भने” ३२ वर्षीय गोर्श्कभिचलाई छाड्न सम्झौता गर्न सकिने बताए।

“विशेष निकायहरू एकअर्कासँग सम्पर्कमा छन्। तिनले कुराकानी गरिरहेका छन्… म एउटा सम्झौतामा पुग्न सकिने ठान्छु।”

वाल स्ट्रीट जर्नलका पत्रकार गोर्श्कभिच गत वर्ष मार्च २९ मा मस्कोबाट १,६०० किलोमिटर पूर्वमा पर्ने येक्याटरिङ्बर्ग सहरबाट पक्राउ परेका थिए।

ज्यानुअरीमा फेरि म्याद थप गर्दै उनलाई मार्च अन्त्यसम्म हिरासतमा राखिने निर्णय गरियो। दोषी पाइएमा उनलाई २० वर्षसम्मको जेल सजाय हुन सक्छ। यद्यपि गोर्श्कभिचविरुद्धको मुद्दामा अझै सुनुवाइ सुरु भएको छैन।
कार्ल्सनले पुटिनलाई के उनी जेर्श्कभिचलाई तत्काल मुक्त गर्न तयार छन् भनेर सोधे। अनि आफैँले भने, हामी उनलाई अमेरिका फिर्ता ल्याउने छौँ।”

उत्तर दिँदै पुटिनले गोर्श्कभिचले गोप्य सूचना सङ्कलन गरेको दाबी गरे। अनि बन्दी साटासाट गर्नुपरे आफू कसलाई रुस फिर्ता ल्याउन चाहन्छन् भन्ने सङ्केत दिए।

“एक व्यक्ति, देशभक्तिको भावनाका कारण, [जसले] ककशसमा भएका घटनामा… एक युरोपेली राजधानीमा एक लुटेरालाई मारेका थिए,” पुटिनले भने।

पुटिनले रुसको सङ्घीय सुरक्षा सेवा एफएसबीका भादिम क्रासिकोभलाई सङ्केत गरेको ठानिएको छ। सन् २०१९ मा बर्लिन पार्कमा जोर्जाका एक सैन्य अधिकारीलाई गोली हानेर हत्या गरेको अभियोगमा क्रासिकोभ अहिले जर्मनीको जेलमा छन्।
दुई घण्टा लामो अन्तर्वार्ता
मङ्गलवार मस्कोमा दिएको उक्त अन्तर्वार्ता दुई घण्टाभन्दा लामो थियो। दुई वर्षअघि युक्रेनमा आक्रमण गर्ने आदेश दिनुको कारणबारे प्रश्न गर्दै कार्ल्सनले अन्तर्वार्ता थालेका थिए।

“तपाईँलाई अकस्मात् अमेरिकाले रुसमा हमला गर्ला भन्ने किन लाग्यो त्यो हामीलाई बताउनुहोस् ,” कार्ल्सनले भने। “त्यस्तो निष्कर्षमा तपाईँ कसरी पुग्नुभयो?”

“यो त्यो अमेरिकाले होइन, संयुक्त राज्यले रुसमा आकस्मिक आक्रमण गर्न लागेको थियो,” अनुवादकको सहायताको सहायतामा पुटिनले भने। “मैले त्यसो भनिनँ। हामी टक शो कि गम्भीर संवाद के गर्न लागेका हौँ?”

त्यसपछि पुटिनले आधा घण्टाभन्दा लामो उत्तर दिने क्रममा पूर्वी युरोपको इतिहासबारे चर्चा गरे। उनले नवौँ शताब्दीमा रुसी राज्यको स्थापनाबाट बोल्न सुरु गरेका थिए।
युक्रेन आक्रमणबारे स्पष्टीकरण
पुटिनले युक्रेनमाथि धावा बोल्नुको कारणबारे आफ्ना कैयौँ स्पष्टीकरण दोहोर्‍याए।

उनले युक्रेनको इतिहासबारे बुनिएका झुटा मान्यता, सोभियत सङ्घ विघटनबारे आफ्ना गुनासा र नेटो विस्तारका प्रसङ्गबारे चर्चा गरे।

उनले युक्रेन नवनाजीहरूले भरिएको दाबी पनि गरे।
उनले रुसले युक्रेनमा आक्रमण नगरेको दाबी दोहोर्‍याए। पुटिनका अनुसार मस्कोले आफ्नो राष्ट्रिय सुरक्षामा जोखिम देखिएकाले प्रतिक्रिया व्यक्त गरेको हो।

कार्ल्सनले रुसी सैनिकहरूले बुचा वा अन्यत्र गरेको भनिएका युद्धअपराधबारे केही सोधेनन्।

युक्रेनी बालबालिकालाई जबरजस्ती रुस पुर्‍याइएको विषयलाई लिएर अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसबारे समेत कार्ल्सनले प्रश्न सोधेनन्।
राजनीतिक प्रतिद्वन्द्वीको मृत्यु वा जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीबारे समेत उनले प्रश्न सोधेनन्।

पुटिनले पोल्यान्ड, लाट्भिया वा अन्य नेटो देशमा अतिक्रमण गर्ने रुसको चाहना नभएको बताए। त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो।

अमेरिकी राष्ट्रपतिहरूसँग कस्तो सम्बन्ध
रुसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिहरूसँगको आफ्नो सम्बन्धबारे पनि कुरा गरे।

बिल क्लिन्टनबारे आफूले पहिला पनि भनेका कुरा दोहोर्‍याउँदै क्लिन्टनले रुस नेटोमा सहभागी हुन सक्ने बताएको दाबी गरे। पुटिनका अनुसार क्लिन्टनले पछि त्यस्तो प्रस्ताव फिर्ता लिएका थिए।

उनले जोर्ज डब्ल्यू बुशसँग समेत “निकै राम्रो सम्बन्ध” रहेको बताए। “उनी अरू अमेरिकी वा रुसी वा युरोपेली राजनीतिज्ञभन्दा खराब थिएनन्,” पुटिनले भने।

“म तपाईँलाई विश्वासपूर्वक भन्न सक्छु कि उनी आफू के गरिरहेको छु र अरूले के गरिरहेका छन् भन्ने बुझ्थे। ट्रम्पसँग पनि मेरो व्यक्तिगत तहको सम्बन्ध थियो।”

राष्ट्रपति जो बाइडनसँग अन्तिम पटक कहिले कुराकानी भएको थियो भन्ने आफूलाई सम्झना नभएको उनले बताए।
अन्तर्वार्ताको चर्चा र पत्रकार कार्ल्सन
अन्तर्वार्ताअघि कार्ल्सनले सन् २०२२ यता पुटिनसँग “कुनै एउटै पश्चिमा पत्रकारले अन्तर्वार्ता लिने कष्ट नगरेको” बताएका थिए।

बीबीसीका रुस सम्पादक स्टीभ रोजन्बर्ग र धेरै पश्चिमा देशका पत्रकारहरूले अन्तर्वार्ताका लागि क्रेम्लिनलाई आग्रह गरेका थिए।

मस्कोले बीबीसीले गरेका सबै आग्रह अस्वीकार गरिदिएको थियो।
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभलेले त्यसलाई स्वीकार गर्दै बीबीसीलाई भने, “कार्ल्सनले सही छैनन्, उनलाई त्यो थाहा नभएको हुन सक्छ। राष्ट्रपतिको अन्तर्वार्ताका लागि हामीले निकै धेरै अनुरोध पाएका छौँ।”

रुसी सरकारी सञ्चारमाध्यमले कैयौँ दिनदेखि कार्ल्सनको भ्रमण, कैयौँ रेस्टुराँमा पुग्दाका उनका फुटेज र बोल्शाई थिएटरमा ब्याले नाच हेर्न पुगेका दृश्य प्रसारण गरिरहेका छन्।
एप्रिल २०२३ मा फक्स न्यूजबाट बाहिरिनुअघि सर्वाधिक लोकप्रिय प्राइमटाइम कार्यक्रम प्रस्तोता थिए। फक्स न्यूजबाट उनी किन हटे भन्ने कारण उक्त च्यानलले स्पष्ट पारेको छैन।

उनले आफ्नै कम्पनी सुरु गरे। पहिले ट्विटर भनिने एक्समा उनका सामग्री प्रसारित हुन्छन्।

टकर कार्ल्सन नेटवर्कका धेरैजसो सामग्रीमा दक्षिणपन्थी राजनीतिज्ञसँग मैत्रीपूर्ण अन्तर्वार्ता देखा पर्छन्। रिपब्लिकन राष्ट्रपतीय बहसको समयमा डोनल्ड ट्रम्पसँगको कुराकानी पनि आएको थियो।

उक्त नेटवर्कमा एन्ड्रू टाटे र रसल ब्र्यान्डसँग लिइएका अन्तर्वार्ता पनि प्रकाशित भएका छन्।

(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया