Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेनाद्वारा सगरमाथा क्षेत्रमा पर्यटन संरचना निर्माण

सेनाद्वारा सगरमाथा क्षेत्रमा पर्यटन संरचना निर्माण


काठमाडौं । नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे शौचालय निर्माण गरेको नेपाली सेना रणशुर गुल्म नाम्चेले जनाएको छ ।

जनहित कार्यका लागि विनियोजित १० लाख रुपैयाँ बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माण सम्पन्न गरिएको दुर्गा बक्स गणका सेनानी नवराज बस्नेतले जानकारी दिए । उनका अनुसार शौचालय गत मङ्सिर १७ गतेदेखि सुरु गरी माघ १८ गते निर्माण सम्पन्न गरिएको हो । पूर्वी पृतनाका पृतनापति उपरथी आशबहादुर तामाङको सुझावमा सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणशुर गुल्मका गुल्मपति सेनानी प्रचण्डविक्रम भारतीको पहलता तथा गुल्मका सकलदर्जाको करिब तीन महिनाको अथक प्रयासमा सो संरचना निर्माण भएको सेनाले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले नेपाली सेनाले निर्माण गरेको सार्वजनिक शौचालयले सगरमाथा राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने स्वदेशी विदेशी पर्यटकहरूलाई सुविधा पुग्ने बताए । सगरमाथा राष्ट्रिय निकुञ्ज विभिन्न देशका पर्यटकको एक प्रमुख गन्तव्य रहँदै आएको छ । वर्षेनि करिब ५० हजार स्वदेशी तथा विदेशी पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका सगरमाथा, ल्होत्से, आमादब्लम हिमाल आरोहणका साथै सगरमाथा आधार शिविर, कालापत्थर, गोक्यो ताललगायत स्थानको भ्रमण गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया