Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकार र निजी क्षेत्रको सहकार्यमा जोड

सरकार र निजी क्षेत्रको सहकार्यमा जोड


विराटनगर । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनमा आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्र सहकार्यसम्बन्धी अन्तर्क्रिया कार्यक्रमा उनीहरूले एक आपसमा सहकार्य गर्न जोड दिएका हुन् ।

उक्त कार्यक्रम उद्योग, कृषि र सेवा क्षेत्रबाट स्थानीय, क्षेत्रीय र प्रादेशिक आर्थिक वृद्धिमा गर्न सक्ने गरी लगानी विस्तारको सम्भावना, विद्यमान समस्या र चुनौतीका विषयमा छलफल भएको थियो । यस्तै, मोरङ सुनसरी औद्योगिक कोरिडोर क्षेत्रमा उत्पादनमूलक उद्योगको विकासका लागि एक स्थानीय तहले अर्को स्थानीय तह र निजी क्षेत्रका बीचमा सहकार्य गर्ने समझदारी समेत भएको बताइएको छ । कच्चा पदार्थ, दक्ष श्रमशक्तिको आपूर्ति, प्रशोधन, आन्तरिक र बाह्य बजार विस्तार, उत्पादनको प्रतिस्पर्धी क्षमता विकास, कृषिलाई उद्योग, व्यापार र पर्यटनसँग जोडेर मूल्य शृङ्खला विस्तारदेखि सबै तहका सरकार र निजी क्षेत्रका बीच सहकार्य बढाउन सक्ने सम्भावनाको खोजीका बारेमा समेत छलफल भएको थियो ।

उद्योगको विकास र वातावरण संरक्षणका सवालमा स्थानीय र प्रदेश सरकार र निजी क्षेत्रका बीचको बुझाइमा समानता ल्याउनुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए । उक्त कार्यक्रममा स्थानीय तहहरूले भू–उपयोग योजना निर्माण र कार्यान्वयनका लागि निजी क्षेत्रसँग सहकार्यको सम्भावना ? उद्योग र आवासीय क्षेत्र निर्धारण र सोको कार्यान्वनमा रहेका चुनौतीका बारेमा पनि छलफल भएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरपालिकाले स्थानीय उद्योग व्यवसाय प्रवद्र्धनमा योगदान पुगोस् भन्ने उद्देश्यले अनौपचारिक आयातमा कडाइ गरेको बताए । यस्तै, पार्किङ क्षेत्रको व्यवस्थापनको समस्या समाधानमा लचकता अपनाउने, राजस्वका दर दयारालाई उद्योग व्यवसाय मैत्री बनाउनेजस्ता कदम चालिएको भए पनि निजी क्षेत्रबाट पर्याप्त साथ र सहयोग नपाएको उनको गुनासो थियो ।

त्यस्तै, बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले सुशासन प्रवद्र्धन, आर्थिक वृद्धि, पूर्वाधार विकासलगायतका सवालमा सम्बन्धित पक्षबाट प्रभावकारी भूमिका निर्वाह हुन नसक्दा आर्थिक विकासका कामले गति लिन नसकेको बताए । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले स्थानीय अर्थतन्त्र सवलीकरण, विकास कार्यको व्यवस्थापन, आर्थिक पूर्वाधार विकासजस्ता कार्यमा सरकार र निजी क्षेत्र मात्र नभई तिनै तहका सरकारका बीचमा पनि प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । द एसिया फाउन्डेसन र कम्युनिटी इन्गेजमेन्ट्स एन्ड आउटिरिचको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिकासहित प्रशासकीय प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका महाशाखा प्रमुखहरू र उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया