Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुर्गा प्रसाइँको हतियारको संरक्षक को ?

दुर्गा प्रसाइँको हतियारको संरक्षक को ?


काठमाडौं । दिग्भ्रमित पूर्ववामपन्थी नेता दुर्गा प्रसाईँ स्वचालित अत्याधुनिक हतियारधारी जत्थाको सुरक्षा घेरामा हिँड्नेगरेका छन् र तिनैमध्येको एक जना यही चैत ५ गते सर्वोच्च अदालतपरिसरमा पक्राउ परेका थिए । प्रसाईँका अङ्गरक्षक भनिने झापा बुद्धशान्ति ३ का दीपक खड्का सर्वोच्च अदालतपरिसरमा इटालीमा बनेको अत्याधुनिक स्वचालित बन्दुक र एक सय राउन्ड गोलीसहित पक्राउ परेका हुन् । उनी पक्राउ परेपछि प्रसाईँले आफूले लाइसेन्स लिएर बन्दुक राखेको प्रमाण सार्वजनिक पनि गरेका छन् र सरकारले हतियार जफत गर्न नमिल्ने दाबी गरेका छन् । उनले त्यति मात्र बताएका छैनन् कि उनीसँग भएको अत्याधुनिक हतियार नेपालका प्रहरीले देख्दै नदेखेको समेत दाबी गरेका छन् । उनले आफूसँग त्यस्ता हतियार दुई सयभन्दा बढी रहेको दाबी समेत गरेका छन् ।

यसअघि बाग्लुङमा उनीमाथि आक्रमणको प्रयास भएपछि आफूसँग एक हजार जना हतियारधारी जत्था रहेको बताएका थिए । तर, अहिले उनीसँग रहेको एक अङ्गरक्षक हतियारसहित पक्राउ परेका छन् र अर्का सहयोगी राजकुमार धिमाल सर्वोच्चपरिसरबाटै सोही समय विनाहतियार पक्राउ परेका थिए । उनको बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका विषयमा परेको मुद्दाको बहस सुन्न उनी त्यसदिन सर्वोच्च अदालत प्रवेश गरेका थिए । त्यो हतियार अदालतमा कसलाई प्रदर्शन गर्न लगिएको हो भन्नेबारेमा कहीँकतै चर्चा भएको छैन । सबै तैँचुप मैचुप छन् । २०७५ साल भदौ ७ गते नेकपा माओवादी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले काभ्रेबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । त्यसबेला उनीसँग रहेको हतियारधारी प्रहरी पनि सँगै अदालत प्रवेश गरेका थिए ।

अदालतभित्र हतियारधारी प्रहरी प्रवेश गरेको निकै ठूलो मुद्दा बनाएका थिए र स्वतन्त्र न्यायालयभित्र हतियारधारी प्रवेश गरेको घटनाको जमेर आलोचना गरेका थिए । त्यो घटना एउटा सशस्त्र विद्रोहबाट आएको समूहसँग फुटेर क्रान्तिलाई निरन्तरता दिने दाबी गरेको समूहको नेतालाई अदालतमा बुझाउन जाँदा आफ्नो र स्वयम् अदालतको सुरक्षाका लागि पनि उनीसँगै हतियारधारी प्रहरी अदालतमा प्रवेश गरेका थिए । तर, त्यसलाई वकिलहरूले त्यो रूपमा लिएनन् र अदालतभित्र हतियारसहित प्रवेश गर्न नपाइने मूल्य र मान्यतामै टेकेर त्यसको जमेर आलोचना गरेका थिए ।

सैद्धान्तिक रूपमा त्यसलाई अन्यथा लिनुपर्ने विषय भने होइन । तर, अहिले तिनै वकिल तथा बुद्धिजीवीहरू चुक्क बोल्न समेत सकिरहेका छैनन् । उनीहरू बोल्न नपर्ने सामान्य विषय भएका कारण नबोलेका हुन् कि प्रसाईँको हतियारसँग उडराएर मुख बन्द गरेर बसेका हुन् ? अथवा उनीहरूको मुखमा कसैले बुझो लगाइदिएको छ, कि यो हतियार र त्यो हतियार फरक हो र यो हतियारको विषय उठाउनुपर्ने विषय नै नभएको हो ? मौसमी र निर्देशित अधिकारवादी र न्यायिक स्वतन्त्राका पक्षधरहरूले मौसम नमिलेकै कारण मौन समर्थन गरेको बुझ्नुपर्ने अवस्था छ ।

प्रसाइँले सर्वोच्च अदालतमा कसलाई देखाउन वा तर्साउन हतियार लिएर गएका हुन् कि आफूअनुकूल फैसला भएन भने त्यसको बदला लिन हतियार लिएर गएका हुन्, त्यो उनैले जानून् । तर अदालतभित्र हतियार लिएर जानु हुँदैन वा आफ्नो सुरक्षाका लागि कसैले पनि हतियार लिएर जानु पर्दैन भन्ने कुराचाहिँ उनलाई थाहा नभएको होइन । उनी थाहा पाएरै हतियारसहित अदालत प्रवेश गरेका हुन् । अनि स्वाभाविकरूपमा प्रश्न उठ्छ कि, उनी कसको आडमा त्यसरी हतियार लिएर अदालतभित्र गएका होलान् ? त्यो पनि यसै भन्न सकिने अवस्था छैन ।

अहिलेका सत्ताधारी दलहरू नेकपा माओवादी केन्द्र वा नेकपा एमालेसँग उनको पुरानो सम्बन्ध छ । उनी कांग्रेसबाहेक अरु जुनसुकै दलसँग मिल्नसक्ने खुबी भएका मानिस हुन् । राजनीतिकरूपमा बामपन्थी नेता हुन् । एकताका उनी माओवादी थिए, पछि एमाले नेता बने । मार्सी चामलको भात खुवाएर प्रचण्ड र केपी ओलीलाई मिलाउने पनि उनै हुन् । उनको त्यही सम्बन्धका कारण अदालतभित्र हतियार प्रदर्शन गर्दा पनि उनीमाथि कारबाही नभएको हो कि अथवा अहिलेको सत्ताले उनीमाथि कारबाहीको सामथ्र्य गुमाएको हो ? त्यो पनि रहस्यकै गर्भमा रहेको छ । पछिल्लो पटक उनी अपदस्थ राजा ज्ञानेन्द्रको अनुयायी बनेका छन् र भारतीय मूलका नेपाली व्यापारीहरूको विरुद्ध खरोरूपमा विरोधमा उत्रिएका छन् । खासगरी चर्को ब्याजको मुद्दा उठाएर उनले सडक तताएका छन् । उनले सडक तताएको देखेर सरकार आफैँ तर्सिएर उनको हतियारको बारेमा मौन रहेको होला कि त्यसका पछाडि अर्कै कुनै कारण छ ? त्यो पनि सतहमा आएको छैन । सुन तस्करीका आरोपीहरूका लागि करुणामय राज्य चलाउने गृहमन्त्री रवी लामिछानेले प्रसाइँप्रति पनि करुणाभाव देखाएकै हुन् कि उनीसँग डराएर मौन रहेका हुन् ? त्यो पनि समयले नै देखाउला । तर, उनले जसरी जस्ता सूचना बाहिर ल्याउने गरेका छन् त्योचाहिँ कसरी सम्भव भएको होला ? गृह प्रशासनसँग रहेका गोप्य सूचना आजकल प्रसाईँका मुखबाट सुन्न पाइन्छ । अपराधी आरोपीको करुणामय गृह प्रशासनले नदेखेको जीबी राईको ‘लोकेसन’ उनैले देखाइदिँदा पनि कसैको आँखा खुलेको छैन ।

‘क्यापिटल फ्लाइट’का फाइल पनि उनैले खोलेका छन् । जुन नेपाल राष्ट्र बैंकले लुकाएर राखेको छ । उनको त्यो सूचनाको स्रोत के होला ? राज्यसंयन्त्रले लुकाएको त्यो सूचना प्रसाईँले कसरी सार्वजनिक गर्दा हुन् ? यी प्रश्न पनि अनुत्तरित नै छन् । यसको समयसन्दर्भमा समीक्षा हुँदै जाला । तर, अहिलेको मूल प्रश्नचाहिँ प्रसाइँको हतियारको संरक्षकचाहिँ को होला भन्ने नै हो । प्रसाईँको नाताले ज्वाइँ पर्ने व्यक्ति बाबुराम कुँवर अहिले राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार छन् । उनका भाइ बसन्तबहादुर कुँवर नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकताका प्रसाइँले बा भनेरै सम्बोधन गर्थे, पछि केपी ओलीलाई पनि बा भनेरै सम्बोधन गर्न थाले । अहिले उनी अपदस्थ राजालाई विष्णु भगवान्को अवतार ठान्छन् । पछिल्लो समय ओलीको उछित्तो काट्ने गरेकाले केहीले उनलाई प्रचण्डले नै परिचालन गरेको हुनसक्ने आशंका पनि गर्नेगरेका छन् । अथवा छिमेकीको बलमा उनले चुमचुम गरेको आशंका गर्नेको पनि यहाँ कमी छैन । हतियारसँग जोडिएको कुरा भएकाले राष्ट्रपति, प्रधानमन्त्री, आईजीपी वा गृहमन्त्रीले नैतिकता देखाउनुपर्ने हो । तर, नभएको नैतिकता देखाउनु पनि कसरी ? उनको हतियारको संरक्षण यही घेराभित्र छ भन्ने कुरा अदालतले पनि बेलैमा बुझ्न सक्नुपर्दछ । अथवा पछुताउनुबाहेक कुनै विकल्प बाँकी रहनेछैन ।

प्रसाइँले आफूलाई छिमेकीको र अपदस्थ राजा ज्ञानेन्द्रको आडभरोसा रहेको देखाउन खोजे पनि त्यसमा त्यति बलियो आधार देखिएको छैन । चर्को ब्याजको अन्यायमा परेका जनतालाई ढाल बनाएर उनी अघि बढेको लघुवित्तपीडितको संघर्षसँग माओवादी नेतृत्व जोडिइसकेको छ । त्यही संघर्षको नाममा अराजकता मच्चाउँदै हिँडेका प्रसाईँसँग माओवादी नेतृत्वको गठजोडले उनको पछाडि माओवादी सत्ता रहेको अनुमान लगाउनेहरूको संख्या पनि कम छैन । त्यसो त सत्ताको संरक्षणविना यसरी हतियारले अदालतमा प्रवेश पाउने कुरा सोच्न सकिने विषय पनि होइन ।

माओवादीले त्यही सर्वोच्च अदालतमा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई आफ्ना कार्यकर्ता लगाएर कालोमोसो दलेको घटना बिर्सनु हुँदैन र यो घटना त्यो घटनाभन्दा एक कदम अघि मात्र हो भन्ने पनि बिर्सनु हुँदैन । प्रसाईँ काण्डमा केपी ओलीले पटक–पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेरै कारबाही गर्ने अनुरोध गरेको कुरा प्रकाशमा आएको छ । तर, प्रधानमन्त्री प्रचण्डले उनीमाथि न कारबाही चलाएका छन् न त प्रसाईँ नै टसमस भएका छन् । उनीहरूको व्यवहार हेर्दा यहाँ केही पनि नभएको जस्तो देखिन्छ तर भइरहेको छ ।

अदालत जहाँ न्यायमूर्ति भनिने न्यायाधीशहरू बस्छन् र न्याय/अन्यायको फैसला गर्छन् । त्यो हातहतियार हुल–हुल्जतलगायतको निषेधित क्षेत्र मानिन्छ । त्यहाँ पनि प्रसाइँ हतियारसहित प्रवेश गर्दारहेछन् भने त्यो घटना सामान्य त हुँदै होइन । तर पनि त्यसलाई राज्य र नागरिक समाज सबैले सामान्य घटनाका रूपमा लिनु आश्चर्यजनक विषय हो ।

अब अदालतले प्रसाईँको बी एन्ड सीसम्बन्धी अदालतको फैसलालाई त्यही हतियारसँग जोडेर व्याख्या गरिने दिन पनि नआउँला भन्न सकिँदैन । उक्त हतियारका बारेमा एउटै प्रश्न बारम्बार उठिरहन्छ कि प्रसाईँको हतियारको संरक्षक को होला ? जुन अनुत्तरित नै छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया