Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राधिकरणका कुलमान र प्रेस काउन्सिल नेपाल

प्राधिकरणका कुलमान र प्रेस काउन्सिल नेपाल


काठमाडौं, भदौ १०
ऊर्जा मन्त्रालयले प्रस्ताव नै तयार नपारेको विषयमा मंगलबार साँझपख सामाजिक सञ्जालमा ‘सन्देश’ र केही अनलाइन सञ्चार माध्यममा समाचारको हल्ला चलाइयो– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गको पुनः नियुक्ति । यो ‘सन्देश’ सार्वजनिक भएको फेसबुक र युट्युब सञ्चालन गर्नेबाट होइन, सञ्चारमाध्यमको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको फेसबुक आईडीबाट ।

काउन्सिका विभिन्न काममध्ये एउटा काम हो, ‘गलत समाचार प्रकाशन/प्रसारण गर्ने सञ्चारमाध्यमलाई सचेत गराएर कारबाही गर्ने ।’ किशोर त्यही निकायको नेतृत्व गर्छन् । उनको नामको आईडीबाट त्यस्तो सन्देश बाहिरिएपछि फेसबुकमा स्टाटस नलेख्ने र समाचार नदिनेहरुले आफू पछि परेको अनुभव गर्दै हतार–हतार बुझ्न पर्ने ठाउँमा नबुझी सन्देश र समाचार दिने काम गरे । बालुवाटारमा बैठक बसिरहेका मन्त्रीहरुलाई नै तत्काल प्रतिक्रिया दिनपर्ने बाध्यता यस्ता सन्देश र समाचारले सिर्जना गरायो ।

कुलमानको चारवर्षे कार्यकाल यही भदौ २९ गते सोमबारसम्म छ । तर, भदौ ९ गते मंगलबार नै उनलाई पुनः नियुक्ति दिइएको हल्ला मात्र चलाइएन, कुलमान घिसिङ्गको नाममा उनको फोटोसहितको ट्वीटरमा अझै अर्को भरपर्दो ट्वीट सार्वजनिक भयो, ‘अबको कार्यकाल विद्युत् विस्तार र स्वदेशमै खपत वृद्धि गर्नेमा केन्द्रित गर्न यहाँहरुको मायाले हौसला दिनेछ ।’

कुलमानको नामको उक्त ट्वीटरमा अगाडि लेखिएको छ, ‘आजको मन्त्रिपरिषद् बैठकले आगामी कार्यकालको लागि तपाईंको आफ्नै कुलमान घिसिङलाई पुनः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अबको कार्यकाल विद्युत् विस्तार र स्वदेशमै खपत वृद्धि गर्नेमा केन्द्रित गर्न यहाँहरुको मायाले हौसला दिनेछ ।’ कुलमानका सहयोगीका नाममा धेरै फेसबुक आइडी र ट्वीटरबाट केही दिनदेखि उनलाई पुनः नियुक्तिको लागि दबाब दिने काम भइरहेको छ । कतिपयलाई कुलमान आफैँले आर्थिक सहयोग समेत गरेको दाबी गरिएको छ ।

कुलमानले गरेका राम्रो कामको कसैले विरोध गरेका छैनन् । उनले राम्राका बीचमा गरेका नराम्रा कामका बारेमा मात्र केही सञ्चारमाध्यमले प्रश्न उठाएका छन् । तर, ती प्रश्नले उनलाई पुनःनियुक्ति गर्नै हुँदैन र गर्नैपर्छ भन्ने छैन । त्यसको मूल्यांकन सरकारले नै गर्छ । तर, कुलमान प्राधिकरणमा नभएमा देशमा पुनः लोडसेडिङ हुन्छ र उनीबाहेक अरुलाई नियुक्ति गरिएमा मान्य हुँदैन भनेर जसरी कुलमानले आफ्ना मानिस लगाएर सामाजिक सञ्जाल सञ्चालन गरेका छन्, त्यसले उनलाई नै घाटा पार्ने काम गरिरहेको छ । लोडसेडिङ हुने नहुने व्यक्तिमा मात्र भर पर्दैन, सिस्टममा पनि भरपर्छ ।

यदि अहिले नै भारतले बिजुली दिन बन्द ग-यो र केही जलविद्युत् आयोजनामा समस्या आयो भने कुलमान भए पनि लोडसेडिङ हुन्छ । र ती अवरोध आएन भने प्राधिकरणको एउटा नेतृत्व गर्ने क्षमता भएको कर्मचारीले पनि प्राधिकरण चलाउन सक्तछ । किनकि कुलमानले भनिसकेका छन्, ‘मैले सिस्टम बसाएको छु । जसले पनि चलाउन सक्तछ भनेर ।’ तर, उनको पक्षमा सामाजिक सञ्जाल चलाउनेहरुलाई अरु होइन कुलमान नै चाहिएको छ । कुलमानको नाममा लुट मच्चाउनेहरु पनि प्राधिकरणमा छन् ।

लोडसेडिङ अन्त्य गर्न कुलमानले एउटा भूमिका निर्वाह गरेका हुन् । तर, नेतृत्वदायी भूमिका भने ऊर्जा मन्त्रालयले नै गरेको हो । प्राधिकरणका बारेमा सरकारले गर्ने निर्णय ऊर्जामन्त्रीले प्रस्ताव लगेर हुने हो । कुलमान आफैंले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर गर्ने होइनन् । र प्राधिकरणका अध्यक्ष कुलमान होइनन्, ऊर्जामन्त्री हुन् । तसर्थ प्राधिकरणको नेतृत्व मन्त्री नै गरेको अवस्था छ ।

मन्त्रीको समर्थन नहुने हो भने भारतबाट बिजुली खरिद गर्ने पैसा कुलमान आफैंले अर्थ मन्त्रालय गएर ल्याउन सक्तैनन् । त्यो हैसियतले पनि दिँदैन । दुवै देशबीचको खरिदबिक्रीको मार्जिन रकम सरकारले दिने गरेको छ । प्राधिकरणले व्यहोर्ने होइन । भारतबाट बिजुली ल्याएर लोडसेडिङ अन्त्य गर्नुपर्छ भन्ने व्यवस्थापन कुलमानले गरे पनि निर्णय भने ऊर्जा मन्त्रालयकै प्रस्तावमा भएको हो । कुलमान माथि र मन्त्रालय तथा मन्त्री तल्लो निकाय होइन । तर, पछिल्लो समयमा कुलमानको नाममा जसरी प्रचार गरिएको छ, त्यसले निर्णय गर्ने तहलाई सोच्न बाध्य पारेको छ ।

‘ऊर्जा मन्त्रालय र मन्त्रीलाई नै अपमानित गर्ने तरिकाले जसरी कुलमानले सामाजिक सञ्जालमा लगानी गरेका छन्, त्यो राम्रो छैन’, ऊर्जा मन्त्रालयका एक अधिकारीले आर्थिक दैनिकसित भने, ‘अब त प्रेस काउन्सिकै कार्यवाहक अध्यक्षबाट गलत सन्देश प्रवाह हुन थालेपछि अराजकता मौलाएको देखिन्छ ।’ यदि दुवैको फेक आईडी हो भने कारबाहीको लागि किन पहल नगरेको भनेर ती अधिकारीले थप प्रश्न गर्न गरेका छन् । ‘समर्थन र लबिङ्ग गर्दा ठीक मौन बस्ने, अनि भविष्यवाणी नमिल्दा फेक भन्ने चलन छ, त्यही भन्न पनि बेर लगाउँदैनन्’, ती अधिकारीले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x