Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाढे १५ हजार परीक्षणमा थपिए ३५ सय ५६ संक्रमित

साढे १५ हजार परीक्षणमा थपिए ३५ सय ५६ संक्रमित


काठमाडौं ।
नेपालमा मंगलबारसम्मको पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण तीन हजार ५ सय ५६ जनालाई देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ५ सय ५६ जनामा संक्रमण देखिएको जानकारी दिए । तीमध्ये एक हजार २ सय ३३ महिला र दुई हजार ३ सय २३ जना पुरुष रहेका छन् ।

मंगलबार देखिएका संक्रमितमध्ये प्रदेश नं. १ मा ३ सय २३ जना, प्रदेश नंं २ मा १२० जना, वागमती प्रदेशमा दुई हजार ३ सय ९३ जना, गण्डकी प्रदेशमा ७३ जना, लुम्बिनी प्रदेशमा ४ सय ५ जना, कर्णाली प्रदेशमा १ सय ३२ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १० जना रहेका छन् । अहिलेसम्म १२ लाख सात हजार ९१ परीक्षण गरिएकामा एक लाख १५ हजार ३ सय ५८ जनामा संक्रमण देखिएको छ ।
उनका अनुसार विगत २४ घण्टामा एक हजार ५ सय ३ जना संक्रमण निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म ७८ हजार ७८० जनाको रोग निको भएको छ । नेपालमा निको हुने दर ६८.३ प्रतिशत रहेको छ । उनका अनुसार ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन ।

यस्तै संस्थागत आइसोलेसन १५ हजार ४८ जना, होम आइसोलेसनमा २० हजार ८ सय ६७ जना र चार हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म सघन उपचार कक्ष (आईसीयू)मा ३०७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँ उपत्यकामा दुई हजार १२९ जना संक्रमण देखिएको छ । तीमध्ये ७८९ महिला र एक हजार ३४० जना पुरुष रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ७ सय ४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जना संक्रमित थपिएका छन् ।

संक्रमणबाट थप १८ जनाको निधन
देशभरि कोरोना भाइरस (कोभिड—१९)को संक्रमणबाट मंगलबार १८ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमणबाट १८ जनाको निधन भएको जानकारी दिए । योसँगै अहिलेसम्म ६६३ जना संक्रमणबाट निधन भइसकेका छन् । नेपालमा संक्रमणमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ ।

यस्तै मृत्यु प्रतिदश लाख (संक्रमण) मा २२.७ जनामा रहेको छ । मंगलबार तीन हजार ५५६ जनामा संक्रमण देखिएको थियो भने एक हजार ५०३ जना डिस्चार्ज भइ घर फर्किसकेका छन् । शून्य संक्रमित भएको जिल्ला मनाङ मात्र रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेका छन् ।

अब कोभिड—१९ को परीक्षण एन्टिजेनबाट पनि
सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ  । मन्त्रालयले पछि यसको समयानुकल परिमार्जन समेत गर्नेछ ।

रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उनले बताए । उनका अनुसार कोभिड—१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउने छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया