Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल चेम्बर ७०औँ वर्षमा प्रवेश

नेपाल चेम्बर ७०औँ वर्षमा प्रवेश


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स ७०औँ वर्षमा प्रवेश गरेको छ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.सं.२००७ साल आश्विन २७ गते भएको थियो । जुन समयमा मुलुकमा राणा शासन कायम थियो । नेपाल चेम्बर प्रजातन्त्रभन्दा पनि जेठो मानिन्छ । वि.सं. २०१२ अर्थात् सन् १९५५ मा उद्योग र वाणिज्यसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाइमा भएको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक समृद्धि तथा अन्य व्यावसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवं महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीतिनियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफ कमर्स ‘चेम्बर आन्दोलन’लाई अभियानको रुपमा विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित रहँदै आएको जनाएको छ ।

चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको पनि छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आबद्ध संघलगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दै आएको छ । रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ/संस्था, द्विपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आबद्ध रहेका छन् । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारी पत्रमार्फत सम्बन्ध स्थापित गरेको छ ।

यसैबीच चेम्बरले ७०औँ वर्ष प्रवेश तथा चेम्बर दिवसको अवसरमा झण्डोत्तलन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मंगलबार एक कार्यक्रमका बीच झण्डोत्तलन गरेका हुन् । उक्त अवसरमा मन्त्री भट्टले चेम्बरले आफ्नो स्थापना कालदेखि नै उद्योग, वाणिज्य क्षेत्रको विकास तथा अन्य व्यावसायिक गतिविधिहरु विस्तारका लागि निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

मन्त्री भट्टले कोभिड १९को विषम परिस्थितिमा निजी क्षेत्र र सरकारबीच समन्वय र सहकार्यद्वारा आपूर्ति व्यवस्था सहज भएको बताए । ‘नेपाल चेम्बर अफ कमर्सलगायत अन्य निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थालाई हामीले सरकारको अभिन्न अंगको रुपमा लिएका छौँ र व्यापारघाटा न्यून गर्न, लगानी तथा उत्पादन बढाउनेसम्बन्धी नीतिगत सुधारमा हामी टीम वर्कको रुपमा कार्य गरिरहेका छौँ भने निजी क्षेत्रको सुझावलाई हामी सदैव गम्भीरतापूर्वक लिएका छौँ’, उनले भने ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बजारमा नेपाली व्यवसायीहरुको उत्पादनलाई प्रतिस्पर्धी तथा गुणस्तरीय बनाउन सहयोग एवम सहजीकरण गर्ने कार्यमा चेम्बर समर्पित रहेको बताए । अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सृजित असहज परिस्थितिमाझ निजी क्षेत्रका चुनौती पनि थपिएको उल्लेख गरे । कार्यक्रममाझ चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक मल्होत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया