Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशको मायाले विदेशबाट फर्किए कँडेल

देशको मायाले विदेशबाट फर्किए कँडेल

त्यहाँ सिकेको प्रविधिको प्रयोग गरी सफल व्यवसायीका रुपमा स्थापित भए


काठमाडौं ,प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न दलका नेताहरु उम्मेद्वारीका लागि दौडधूपमा छन् । कुनै दलसँग नजोडिएकाले कतिपय देशप्रेमी र विकासप्रेमी युवाहरु भने मंसिर ४ मा हुने चुनावमा स्वतन्त्र रुपमा दलका नेतालाई चुनौती दिने तयारीमा जुटिसकेका छन् ।

चुनावी मैदानमा उत्रने घोषणा गरेकामध्ये एक हुन् सफल युवा व्यवसायी विजय कँडेल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रने घोषणासँगै कँडेल आन्तरिक तयारी गरिरहेका छन् । पछिल्ला दिनमा दैनिकजसो घरदैलो, मतदाता भेटघाट तथा चुनाव प्रचारमा जुटेका कँडेलले आफू विजयी हुनेमा विश्वस्त छन् ।

जीवनको संघर्षमा अविचलित, लगनशील र विकसित विश्वका विभिन्न देशको राजनीतिबारे जानकार कँडेल पिता हरिभक्त कँडेल र आमा खगेन्द्र कुमारी कँडेल (कुमारी) को कोखबाट २०४१ असोज १८ मा नवलपरासीको सुस्ता ४, स्थित सुकुम्बासी टोलमा जन्मिएका हुन् । निम्नवर्गीय किसान परिवारमा जन्मिएका कारण कँडेलको प्रारम्भिक बाल्यकाल आर्थिक अभाव र समस्यै–समस्याबीच बित्यो । त्यतिबेला उनी घरायसी तथा खेतीपातीको काम सकेर विद्यालय जाने गर्थे ।

सानो कक्षादेखि नै पढाइमा अब्बल कँडेल मिहिनेती र लगनशील स्वाभावका थिए । त्रिभुवन मावि बेलाटारीबाट २०५८ सालमा एसएलसी उत्तीर्ण गरेपछि कँडेलले काठमाडौं आएर कक्षा ११ मा भर्ना हुने सपना देख्थे । तर उनको सपना परिवारको आर्थिक स्थिति बाधक बनेर उभियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण त्रिभुवन उच्च माध्यामिक विद्यालय भर्ना भएका कँडेलले २०६१ मा १२ कक्षा उत्तीर्ण गरे ।

त्यसलगत्तै घरव्यवहार सम्हाल्ने र भविष्यको चिन्ताले रुमलिएका कँडेल हुँदा खानेबाट हुने खाने बन्ने सपना बोकेर २०६२ सालमा बाबुको इच्छाविपरीत राजधानी हानिए । १७ बर्षअघि आमाले दिएको पाँच सय रुपैयाँ बोकेर काठमाडौं पसेका कँडेलको गोजीमा राजधानी आइपुग्दा १३० रुपैयाँ बाँकी थियो ।

परिवारको नाजुक आर्थिक अवस्थाका कारण राजधानी छिरेका कँडेल अन्जान सहरमा एक्लै भौंतारिन थाले । निम्न वर्गीय परिवार भए पनि दुःखसुख दुई छाक टार्दै आएका कँडेल राजधानी आएपछि भने कतिपय रात भोकभोकै परे ।

यसरी जीवनको कलिलो उमेरमै अनेकौं दुःखपूर्ण ठक्कर खाएका कँडेल अविचलित भएर अडानका साथ आफ्नो कर्ममा लागिरहे । काठमाडौं आएपछि पेट पाल्नैका लागि कामको खोजीमा भौतारिँदा भौतारिँदै मुस्किलले साँचो बनाउने काम पाए । उनको मुहारमा केही हदसम्म भए पनि खुसी छाएको थियो त्यतिबेला ।

सम्भवतः काठमाडौंको खाल्डोमा पहिलोपटक पसेपछि । मासिक पाँच सय रुपैयाँ तलबमा काम थालेका कँडेलले स्नातक तह पढुन्जेल त्यही काम गरे । पेट पाल्ने संघर्षबीच पनि कँडेलले आफ्नो पढाइलाई भने निरन्तरता दिए ।

उनले अंग्रजी साहित्यमा स्नातकोत्तरसम्म पूरा गरिसकेका छन् । स्नातक तहको पढाइ सकिएपछि उनी अस्ट्रेलिया पसे । नेपालको तुलनामा विदेशमा पैसा कमाउन सजिलो हुने सुनेका कँडेल साहुसँग ऋण काढेर अस्ट्रेलिया पुगेका थिए ।

तर विडम्बना, चार महिनासम्म काम पाएनन् । ब्याज थपिँदै गएपछि तनावमा परेका कँडेलले मासु काट्ने तालिम लिएर काम थाले । एक वर्षमै नेपाल फर्किए लामो समय काम नपाएर भौंतारिनु परेको पीडा र अस्ट्रेलियामा नेपालीले भोग्नुपरेको दुःखलाई नजिकबाट नियाल्न बाध्य भएका कँडेल आफ्नो अस्ट्रेलिया बसाइँ बिट मार्दै एक वर्षमै नेपाल फर्किए ।

‘विदेश मेरा लागि होइन भन्ने लाग्यो, नेपालीहरुलाई हेलाको दृष्टिले हेर्नेलगायत कुराहरुले मलाई बस्न मन लागेन,’ कँडेल भन्छन्, ‘नेपालमा व्यावसायिक क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ, पहिला आफ्नो घर नै बनाउनुपर्छ, मेरो घर भनेको नेपाल हो, म नेपाल बनाउँछु, देशमा व्यावसायिक र आर्थिक क्रान्ति ल्याउँछु भनेर स्वेदश फर्किएँ ।’

नेपाल फर्केपछि अस्ट्रेलियामा सिकेको प्रविधि प्रयोग गरेर कँडेलले दश वर्षअघि हाइजेनिक मिट सेन्टर नामक व्यवसाय सुरु गरे । हाल काठमाडौं उपत्यकाकामा मात्र पाँच स्थानमा सञ्चालनमा रहेको उनको व्यवसाय अस्ट्रेलियन टेक्नोलोजीमा आधारित छ ।

कँडेलले हालसम्म भारत, चीन, हङकङ, मकाउ, मलेसिया, सिंगापुर, थाइल्यान्ड, अस्ट्रेलिया, हंगरी, जर्मनी, अस्ट्रिया, इटालीलगायत दर्जभन्दा बढी देशको भ्रमण गरिसकेका छन् । सानैदेखि संवेदनशील र भावुक थिए, कँडेल ।

कर्ममा विश्वास राख्ने र लगनशीलता कँडेलको जीवनबाट अलग हुनै नसक्ने गुण नै हो । त्यसैले कँडेल जति बौद्धिक छन्, त्यति नै अन्तर्मुखी स्वभावका पनि छन् । सानैबाट सक्रिय रुपमा समाजसेवामा लागेका कँडेलले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का प्रत्यासीहरुको तुलनामा कँडेलको बौद्धिकता र परिवर्तनको भोक उँचो देखिन्छ । जीवन र जगतको सुझबुझमा अब्बल कँडेल भन्छन्, ‘यतिन्जेल आफ्ना लागि मिहिनेतमा खटें, अब देशका लागि खट्ने समय आएको छ ।’

देश–विदेशको भ्रमण गरेका गरेका कँडेल विश्व राजनीति, अर्थतन्त्र, कूटनीतिलगायत विषयमा राम्रो जानकारी राख्छन् । ‘औपचारिक शिक्षा जीवनको महत्त्वपूर्ण पाटो हो । तर बौद्धिकताका लागि व्यवहारिक ज्ञानका लागि विविधि विषयको अध्ययन र अनुभव अत्यावश्यक छ,’ उनी भन्छन् ।

कँडेलको बौद्धिकता, आकर्षक व्यक्तित्व र व्यावसायिक सफलताबाट जो कोहीलाई जीवनमा सफलताको सूत्र पहिल्याउन सहयोग पुग्नेमा दुईमत छैन । कँडेलको सफलता र अनुभवबाट कुनै एक व्यक्तिले मात्र होइन, देशले नै लाभ लिन सक्नेमा शंका छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया