प्रतिबन्धित म्याक्स मनीका मालिकसँग डेपुटी गभर्नरको भेटवार्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले वि.सं. २०७५ मंसिर १२ गते एउटा परिपत्र जारी ग-यो । त्यो परिपत्र जारी गर्दा विदेशी विनिमय विभागको प्रमुखको रुपमा कार्यकारी निर्देशक भीष्मराज ढुंगाना थिए ।
उक्त परिपत्र मलेसियामार्फत नेपालमा रेमिट्यान्स कारोबार गर्दै आएको म्याक्स मनीसँग सम्बन्धित थियो । पत्रमा भनिएको थियो, ‘म्याक्स मनी एसडीएन, मलेसियाले रेमिट्यान्स कारोबारबापतको भुक्तानी गर्नुपर्ने बक्यौताहरु भुक्तानी नगरेको हुनाले अर्को सूचना जारी नभएसम्म यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, रेमिट्यान्स कम्पनी तथा अन्य इजाजतपत्र प्राप्त संस्थाहरुले उक्त संस्थासँग कुनै पनि कारोबार नगर्न, नगराउन विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ (संशोधनसहितको) ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ’, भवदीय– भीष्मराज ढुंगाना ।
राष्ट्र बैंकले यसको बोधार्थ गभर्नरको कार्यालय, डेपुटी गभर्नरको कार्यालय, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहितका झण्डै दुई दर्जन संस्थाहरुको नाम उल्लेख गरेको थियो ।
यसरी राष्ट्र बैंकले म्याक्स मनीलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाउनुको एउटै कारण थियो, ‘म्याक्स मनीले मलेसियाबाट उठाएको झण्डै ६० करोड रुपैयाँ हिमालयन बैंक, सिटी एक्सप्रेस प्रालि, आईपे, एनआईसी एसिया बैैंकलाई भुक्तानी नदिनु ।’
मलेसियामा कार्यरत नेपालीहरुसँग म्याक्सले रेमिट्यान्सको नाउँमा ठूलो परिमाणमा रकम उठाउने तर त्यस्तो रकममध्ये आंशिक मात्र नेपाल पठाउने गरेपछि म्याक्स मनीले नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीहरुलाई उक्त परिमाणमा रकम भुक्तानी दिनुपर्नेमा उक्त रकम भुक्तानी दिनुको साटो उल्टै नेपाली बैैंक तथा फाइनान्ससँग रकम लिनु छ भनी नेपालमा आएर पत्रकार सम्मेलन गरी विवाद सिर्जना गर्नु ।
मलेसियाको राजधानी क्वालालाम्पुरमा केन्द्रीय कार्यालय रहेको म्याक्समनीले विगत ३३ वर्षदेखि रकम स्थानान्तरणसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल यो कम्पनीले एक सय ९० वटा राष्ट्रहरुमा एक सय प्रकारका विदेशी मुद्राहरुमा रकम स्थानान्तरण गर्दै आएको छ । म्याक्स मनीको प्रमुुख कार्यकारी अधिकृत अवद हमिद हुन् भने यसको नेपाल प्रतिनिधि वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाट ।
नेपालको हकमा म्याक्स मनीसँगै यसका प्रमुख पनि विवादित व्यक्ति हुन् । राष्ट्र बैंक स्वयंले नै यो कम्पनीको कारोबारमा प्रतिबन्ध लगाएको छ । तर बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंककै जिम्मेवार व्यक्ति डेपुटी गभर्नर बम बहादुर मिश्रले भने म्याक्स मनीका यिनै विवादित व्यक्ति अवद हमिदसँग मलेसियामा गोप्य भेटवार्ता गरेको दाबी स्रोतले गरेको छ ।
स्रोतका अनुसार डेपुटी गभर्नर मिश्र गत साउन १९ गते मलेसिया भ्रमणमा गएका थिए । उनी मलेसियाको भ्रमण सकेर साउन २६ गते नेपाल फर्केका थिए । उनी कुन कार्यक्रम र कुन उद्देश्यको लागि राष्ट्रको ढुकुटी खर्च गरेर मलेसिया भ्रमणमा गए त्यो त खुलेको छैन । तर भ्रमणका क्रममा प्रतिबन्धित कम्पनी र उक्त कम्पनीका प्रमुखसँगको डेपुटी गभर्नर मिश्रको भेटलाई भने निकै अर्थपूर्ण र रहस्यमय ढंंगमा लिन थालिएको छ ।
सो विषयमा राष्ट्र बैंकका उच्च अधिकारीले डेपुटी गभर्नरको मलेसिया भ्रमणको बारेमा आफूलाई जानकारी नभएको बताए । ‘धेरैवटा भ्रमण हुन्छ, उहाँ कुन भ्रमणमा कहिले जानुभयो, मेरो जानकारीमा भएन’, ती अधिकारीले भने । उक्त विषयमा म्याक्स मनीका तत्कालीन नेपाल प्रमुख रानाभाटले भने आफूले म्याक्स मनी छाडिसकेकाले आफूलाई यसबारे केही पनि जानकारी नभएको बताए । उनले जानकारी नभएको बताए पनि स्रोतले भने डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले नै प्रतिबन्ध लगाएको म्याक्स मनीका मालिकसँग भेटवार्ता गरेको दाबी गरेको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया