Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदशैँको मुखमा मोरङ प्रहरीद्वारा ४० लाखको कपडा पक्राउ

दशैँको मुखमा मोरङ प्रहरीद्वारा ४० लाखको कपडा पक्राउ


विराटनगर । नेपालीहरूको ठूलो पर्व दशैँको संघार र मुलुक निर्वाचनमय भइरहेको अवस्थामा कपडालगायत सटिङ्ग सुटिङ्गको अवैध लाइन चलाउनेहरूका लागि अहिले सुवर्ण अवसर भएको छ । भन्सारलगायत राजस्व चोरी नियन्त्रणको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको बीओपी समेत कपडा तस्करीका लागि सहज वातारण बनाउन लागि परेको जस्तो महसुस गर्न थालिएको छ ।

नेपाल र भारतबीचको खुला सीमानाकामा रहेका सशस्त्र प्रहरीका बीओपी समेत मुकदर्शक बन्न थालेपछि विराटनगरसँग भारतीय सीमा जोडिएको इस्लामपुर नाका बेलुका ८ बजेपछि कपडा तस्करीका लागि उर्वर नाका बनेको छ । गत आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले ठूलो परिमाणमा कपडा पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय सुनसरी पु-याएपछि त्यसको पुष्टि भएको हो ।

भारतबाट तस्करी गरी नेपाल ल्याएको करिब ४० लाख मूल्य पर्ने कपडा तस्करीकै हो भन्ने आशंकामा मोरङ प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान सुनसरीमा बुझाएको थियो । उक्त प्रकरणपछि विराटनगरमा रहेको भारतीय नाका जोगबनी कपडा तस्करीका लागि सुरक्षित मार्ग भएको बताउन थालिएको छ । मोरङ प्रहरीले भारतीय गाडीमा लोड गरी नेपाल ल्याउँदै गर्दा विराटनगरको रोडशेषबाट उक्त कपडासहित गाडी चालकलाई पनि नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान पठाएको छ ।

कपडाको व्यापार गर्दै आएका विराटनगरलगायतका व्यवसायीहरूले सरकारले कपडा आयातको लागि एलसी समेत खोल्न नदिएको निहुँ बनाएर अवैधरूपमा कपडा आयातको धन्धा गर्नेसँग कपडाको माग गर्न थालेपछि मुखमा आएको दशैँ र अगामी मंसिर ४ को चुनावी सरगर्मीसँगै अवैध बाटो हुँदै कपडाको आयात बढेको बताइएको छ । पछिल्लो समय सरकारले कपडा आयातका लागि बैंकमा एलसी समेत खोल्न नदिएको भन्दै भन्सारको बाटो भएर कपडाको आयात ठप्प भएसँगै भारतीय सीमानाका जोडिएको इस्लामपुर भारतीय नाका कपडा तस्करीका लागि प्रमुख मार्ग बनेको स्रोतले दाबी गरेको छ । दशैँको मुखमा आएर केही कपडाका व्यवसायीहरूले समेत सशस्त्र प्रहरीको बीओपीसँग समेत सेटिङ मिलाएर कपडाको अवैध आयातलाई तीव्रता दिएका छन् । दिनभरि सुनसान देखिने इस्लामपुर नाका राति ८ बजेपछि गुल्जार बन्ने गरेको छ । कपडाको कारोबार गर्ने कारोबारीले मासिकरूपमा एक अर्बभन्दा बढीको अवैधरूपमा कपडा आयात गरी प्रदेश १ मा रहेको पूर्वी बजारका मुख्य मुख्य सहरमा पु-याउने गरेको स्थानीय बासिन्दाको दाबी छ ।

सरकारले कपडा आयातका लागि एलसी खोल्न कडाइ गर्नासाथ उच्च ओहोदामा नै डरलाग्दो सेटिङ भएपछि तल्लो तहमा कार्यरत सुरक्षाकर्मी समेत निरीह बनेर मुकदर्शक बनेको सशस्त्र प्रहरी स्रोतले बताएको छ । दशैँलगायत यो चुनावको मौका छोपी कपडाको कारोबार गर्ने कारोबारी समूहले बजारको आवश्यकताअनुसार अवैध बाटो हुँदै भित्र्याएको कपडा व्यावसायिक प्रतिष्ठानसम्म नै पु-याउने गरेका छन् । विराटनगर, झापा, इटहरीदेखि धरानसम्मका कपडा व्यापारीले अवैध बाटो हुँदै कपडा आयात गरिरहेका छन् । पछिल्लो समयमा सबैजसो व्यापारीको कपडा ठेक्कामा लिएर कपडाका कारोबारीले ल्याइदिन थालेपछि कपडामा चल्दै आएको सेटिङको रहस्य खुलेको हो । तर यस पटक मोरङ प्रहरीले ठूलो परिमाणमा कपडा पक्राउ गरी राजस्व अनुसन्धान पु-याएपछि अहिले विराटनगरमा रहेका इस्लामपुर अवैध नाका केही ठप्पजस्तो बनेको भनाइ स्थानीय बासिन्दाको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया