Techie IT
×
गृहपृष्ठसमाचार‘मौद्रिक नीतिमा राष्ट्र बैंकको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैन’

‘मौद्रिक नीतिमा राष्ट्र बैंकको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैन’


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने जनाएको छ । संकुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले समेत वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसक्ने चेम्बरको दाबी छ ।

चेम्बरले सोमबार विज्ञप्ति जारी गरी मुलुकको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिकतर्फ अर्थतन्त्र जोखिमकै अवस्थामा रहँदा मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुने आफूहरुको अपेक्षा रहे पनि सो पूरा हुन नसकेको जनाएको छ । राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग नगर्ने चेम्बरको भनाइ छ । शून्य दशमलव ४ प्रतिशत घटाइएको स्प्रेड दरले आगामी दिनमा ब्याजदर बढ्न नदिए पनि हाल कायम उच्च ब्याजदरलाई घटाउने सम्भावना भने न्यून रहेको चेम्बरको ठहर छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशतसम्म मात्रै कायम गर्न पनि चेम्बरले राष्ट्र बैंक समक्ष आग्रह गरेको छ । मौद्रिक नीति सम्बन्धमा राष्ट्र बैंकको समीक्षाले औद्योगिक क्षेत्र थप प्रवाहित हुने चेम्बरले जनाएको छ ।

राष्ट्र बैंकको त्रैमासिक समीक्षा सन्दर्भमा चेम्बर अफ कमर्सले सातबुँदे ध्यानाकर्षण गराएको हो । चेम्बरले हाल कायम ८ दशमलव ५ प्रतिशतको बैंक दरलाई ५ प्रतिशतमा झार्न पनि केन्द्रीय बैंकसमक्ष आग्रह गरेको छ । विदेशी विनिमय सञ्चितिमा सुधार आएको भन्दै चेम्बरले केही वस्तुहरुको आयातमा प्रतितपत्र एलसी खोल्दा लाग्दै आएको शतप्रतिशत मार्जिनको व्यवस्थालाई हटाई सहजीकरण गर्नुपर्नेमा समेत जोड दिएको छ । यस्तै चालू पुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको कार्यन्वयन हाललाई स्थगित गरी सरोकारवाला निकायसँग छलफल गरेर पुनर्लेखन गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बरले सीडी रेसियोलाई ९० प्रतिशतको स्थानमा विगत वर्षहरुमा झैँ सीसीडी रेसियो ८५ प्रतिशत कायम गर्न वा सीडी रेसियोलाई ९५ प्रतिशत गर्न समेत केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया