Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमीनकुमारी राणा प्रतिष्ठानद्वारा बस्नेतसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान

मीनकुमारी राणा प्रतिष्ठानद्वारा बस्नेतसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान


काठमाडौं । मीनकुमारी राणा प्रतिष्ठानले पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी कबिर राणाकी आमाको स्मृतिमा गतवर्ष स्थापना भएको मीनकुमारी राणा प्रतिष्ठानले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा आइतबार विभिन्न विधामा मुर्धन्य व्यक्तिहरूलाई सम्मान गरिएको हो ।

भक्तपुरको राधे–राधेमा भएको कार्यक्रममा साहित्यविधातर्फ प्राडा ध्रुवचन्द्र गौतमलाई सम्मान गरिएको छ । यसैगरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका ज्युँदो सहिद माथवरसिंह बस्नेत, पत्रकारिताको माध्यमबाट सशक्त भूमिका खेलेका वरिष्ठ पत्रकार हरिहर विरही र नेपाली खेलकुदमा योगदान गरेका वरिष्ठ बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङ्गलाई जनही ५१ हजार रूपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मीनकुमारी राणाले दीक्षा लिएको बैंकटेश्वर बैंकेटश्वर मन्दिरले सञ्चालन गरेको संस्कृत पाठसाल र उनका छोराछोरीले अध्ययन गरेको आदर्श माध्यामिक विद्यालय (डीएमपीए) विद्यालयलाई पनि छात्रबृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा. यादवले साहित्यकार डा. ध्रुवचन्द्र गौतमलगायतका व्यक्तिहरूलाई सम्मानित गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए । आफूले सबैलाई सम्मान गर्ने व्यक्तिहरूलाई नै पुरस्कार दिएको प्रतिष्ठानले राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे । यसैगरी कार्यक्रममा सम्मानित व्यक्तिहरू हरिहर विरहीले पुरस्कार ग्रहण गर्न पाउँदा आफू खुसी भएको बताए । अहिले नेपाली राजनीति मूल्य मान्यताभन्दा बाहिर गएको तर्फ इङ्गीत गर्दै विगतमा मीनकुमारीले खेलेको भूमिकालाई सम्झिएर अघि बढ्न सबैलाई आग्रह गरे । यसैगरी प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेतले आफू राजनीतिमा लाग्दा सम्मान पाउनका लागि नभई व्यवस्था परिवर्तन गर्ने उद्देश्य लिएर हिँडेको बताए । यसैगरी साहित्यकार डा. ध्रुवचन्द्र गौतमले साहित्यले समाजलाई चिनाउने काम गरेको बताउँदै सम्मानले आफूलाई खुसी लागेको बताए ।

कार्यक्रममा भक्तपुर कांग्रेस सभापति तथा सांसद दुर्लभ थापाले कबिर राणा र रबि राणाका साथै परिवारसँगको आत्मीयताका विषयमा कुरा गर्दै सधैँभरि साथ दिने मीनकुमारीबाट धेरै कुरा आफूले ग्रहण गरेको पनि बताए । साथै पछिल्लो समय नेपाली राजनीतिले अलि बाटो बिराएको बताउँदै यसलाई सुधार गर्नका लागि सबैले जोड दिनुपर्ने बताएका थिए । यसैगरी नेपाली कांग्रेसका युवा नेता तथा देशान्तर मिडिया ग्रुपका प्रधानसम्पादक एवं मीनकुमारीका माहिला छोरा कबिर राणाले आमाको नाम चिरकालसम्म राख्नका लागि आफू र आफ्नो सम्पूर्ण परिवार सधैँ क्रियाशील रहेने प्रतिबद्धता जनाए । सो अवसरमा नेपाली कांग्रेस भक्तपुरको पार्टी कार्यालय निर्माणका लागि एक लाख पाँच हजार सहयोग यही प्रतिष्ठानमार्फत गर्ने घोषणा पनि गरेका छन् ।

मीनकुमारीको गत वर्ष निधन भएको हो । उनको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानमा पति कोमलविक्रम राणा संरक्षक रहेका छन् भने कबिर राणा अध्यक्ष छन् । यसैगरी कान्छा छोरा रबि राणा महासचिव रहेका छन् भने नाती विक्रान्त विक्रम राणा यसको कोषाध्यक्ष रहेका छन् । त्यस्तै प्रतिष्ठानको सदस्यमा नारायणी थापा, गायत्री केसी, नन्दु देउजा, अञ्जु खड्का, रितु बस्नेत र जयन्ती देवकोटा रहेकी छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया