Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपाली सेनाले बारम्बार किन खुला सीमालाई देशको प्रमुख सुरक्षा चुनौती बताउँछ?

नेपाली सेनाले बारम्बार किन खुला सीमालाई देशको प्रमुख सुरक्षा चुनौती बताउँछ?


काठमाडौं,नेपाली सेनाले जङ्गी अड्डामा हालै आयोजित एक कार्यक्रममा भारतसँगको खुला सीमालाई नेपालको प्रमुख सुरक्षा चुनौती रहेको बताएको विवरणहरू सार्वजनिक भएका छन्।

“सीमा सुरक्षा चाहिँ देशको समग्र सुरक्षाका लागि महत्त्वपूर्ण हुन्छ,” नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बीबीसीसँग भने।

“खुला सीमासँग जोडिएका सुरक्षा चुनौती राम्ररी निगरानी गर्न नसकिएको अवस्थामा साना हातहतियार ओसारपसारको सम्भावना रहने, लागु औषध कारोबार र अन्य गैरकानुनी वस्तुहरूको व्यापारको सम्भावना रहन्छ।”

नेपाल र भारतबीच पूर्व, दक्षिण र पश्चिममा गरेर १,८०० किलोमिटरभन्दा लामो खुला सीमा छ जुन उसका पाँच राज्यहरू उत्तरप्रदेश, विहार, पश्चिम बङ्गाल, सिक्किम र उत्तराखण्डसँग जोडिएको छ।
चीनतर्फ भने उसको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको झण्डै १,४०० किलोमिटर लामो दुईदेश बीचको सीमा छ, जुन भारतसँगको जस्तो खुला छैन।

तर प्रवक्ता भण्डारीले विकट भू बनोटका कारण चीनतर्फको सिमानामा समेत उत्तिकै सुरक्षा चुनौती रहेको बताए।

उनी भन्छन्, “त्यहाँ पनि पूरै सिमानामा गार्ड गरिएको अवस्था छैन। भौगोलिक अवस्थाका कारण मानिसहरूको आउजाउ भारततर्फजस्तो सहज नभएको मात्र हो। अन्यथा खुला सिमानासँग जोडिएका चुनौती उत्तरतर्फ समेत उत्तिकै नै हो।”

सीमा सुरक्षामा के सेनाको रुचि हो?

सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको भएतापनि नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन गर्न सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरेर काम गरिरहेको छ।

तर तीन वर्षअघि नै नेपाली सेनालाई नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहभागी गराउने रणनीति कार्यान्वयन गरिने र त्यसका लागि कार्ययोजना बनाइने रक्षा मन्त्रालयका अधिकारीहरूले सार्वजनिक रूपमा बताएका थिए।

त्यसबेला राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आगामी तीन वर्षको मध्यकालीन खर्च संरचनामा नेपाली सेनालाई अन्तर्राष्ट्रिय सीमाको सुरक्षामा सहभागी गराउने विषय समेटिएको थियो।

जसमा उक्त प्रावधानलाई रक्षा मन्त्रालयअन्तर्गत विक्रम संवत् २०८० भित्र कार्यान्वयनमा ल्याइने रणनीतिका रूपमा राखिएको थियो।

तर नेपाली सेनाले त्यसबारे कुनै प्रतिक्रिया जनाउने गरेको छैन।सैनिक प्रवक्ता भण्डारीले भने, “नेपाली सेनाले आफ्नो रुचिखुसीले केही गरेको छैन र गर्दैन। यसले वैधानिक सरकारले विधिसम्मत तरिकाले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने हो।”

त्यस्तो आवश्यकता सेनालाई महसुस भए नभएकोबारे सोधिएको प्रश्नमा उनले ‘त्यो सरकारलाई महसुस हुने विषय रहेको’ प्रतिक्रिया दिए।
भूराजनीतिक मामिलाका एकजना जानकार नेपालको भूअवस्थितिका कारण कमजोर सीमाको फाइदा उठाएर केही गतिविधि भएमा त्यो “देशको विश्वसीनयतासँग जोडिने” भन्दै सेनाको चासोलाई “जायज” बताउँछन्।

सेनाका अवकाशप्राप्त उपरथी समेत रहेका विनोज बस्न्यात भन्छन्, “देशभित्र देखा परेका अनेकौँ मुद्दाबीच आन्तरिक संस्थाहरू कमजोर हुँदा राष्ट्रिय सुरक्षाको विषय छायामा पर्छ र सीमा व्यवस्थापनका कुरा ओझेलमा पर्छन्।”

सीमामा कस्तो सुरक्षा?
नेपाली सेनाका प्रवक्ता व्यवस्थापनको प्रारूपबारे आफूहरूको कुनै अडान नरहेको र त्यसबारे सम्बद्ध उच्च सरकारी निकायले गर्ने निर्णय आफूहरूले कार्यान्वयन गर्ने बताउँछन्।

तर विज्ञ बस्न्यात व्यवस्थापनका प्रारूपहरू अनेकौँ हुने भए तापनि अब त्यसमा परिवर्तन गर्नका लागि ढिला भइसकेको बताउँछन्।

“अब सिडिओको अध्यक्षतामा जिल्ला सुरक्षा समितिले निर्णय गर्दै काम गर्ने तरिका निकै अव्यवहारिक र फितलो भइसक्यो,” बस्न्यातले भने।

“हाम्रो भूराजनीतिक अवस्थाले गर्दा गृह मन्त्रालय अन्तर्गत हुनेगरी अलग्गै सीमा बल आवश्यक पर्छ जुन आपत्कालीन अवस्थामा स्वतः सेना अन्तर्गत आओस्। निकट भविष्यमा त्यस्तो ढाँचामा जानै पर्ने भएकाले अहिले नै त्यसतर्फ काम गर्नु हितकर हुन्छ।”
उनले त्यस्तो सुरक्षा बलको काम गर्ने तौरतरिका, चेन अफ कमाण्डदेखि केन्द्रमा निर्देशन दिने निकायसम्म फरक हुनु आवश्यक रहेको बताउँछन्।

“किनकि यतिखेर हामीले हाम्रो सुरक्षा देशभित्रको परिस्थिति मात्र नभएर द्रुत गतिमा विकसित बाह्य परिस्थितिका आधारमा हेर्नुपर्छ,” बस्न्यात भन्छन्।

हाल सीमा सुरक्षाको जिम्मा गृह मन्त्रालय अन्तर्गत रहने सशस्त्र प्रहरी बलसँग छ।तर नेपालको सुरक्षा व्यवस्थाप्रति ‘विश्वस्त हुन नसकेरै’ भारततर्फ उच्च सङ्ख्यामा सीमा सुरक्षा बल तैनाथ गरिएको बस्न्यात ठान्छन्।

“मुख्य कुरा नेपालको सीमाको दुरुपयोग गरेर केही ठूला दुर्घटना भइहाले त्यसले लामो समयसम्म नेपालको विश्वसनीयतामाथि प्रश्न उठाउँछ।”

‘ थप छुट्टै सीमा बल चाहिँदैन’
सुरक्षा मामिला विश्लेषक इन्द्र अधिकारीले सशस्त्र प्रहरीको भूमिका मुख्य रूपमा सीमा सुरक्षाकै भएकाले तत्काल त्यसको विकल्प खोज्नुपर्ने आफूले नठान्ने बताउँछिन्।

“त्यसमाथि सीमा खुला भएकै कारण खतरा छ भन्ने हाम्रो सोचले गलत भाष्य बनाइरहेको छ,” उनी भन्छिन्।

“चुनौती सीमासँग जोडिने हाम्रा आन्तरिक संयन्त्र र संस्थाहरू चुस्त-दुरुस्त नहुनु पनि हो।”

रक्षा मन्त्रालयका अनुसार नेपालका सीमामा काम गर्ने झण्डै ३ दर्जन सरकारी निकायहरू रहेका छन्।

नेपाली सेनाले पछिल्ला केही वर्षमा खुला सीमा व्यवस्थित गर्नु पर्ने विषय अगाडि सारिरहँदा त्यसका लागि खटिने निकायबीचको कार्यक्षेत्रका बारेमा प्रष्टता हुनुपर्ने बताउँदै आएको छ।
(बीबीसी)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया