प्राविधिक शिक्षातर्फ विद्यार्थीको रूचि घट्दो
दोलखा । पछिल्ला वर्षहरूमा दोलखामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या निरन्तर घट्दै गएको पाइएको छ । देशकै पुरानो दोलखाको जिरीमास्थित जिरी प्राविधिक शिक्षालयमा यसपटक न्यून विद्यार्थी मात्रै भर्ना भएका छन् ।
प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या ५० प्रतिशतले घटेको शिक्षालय जनाएको छ । डिप्लोमातर्फको फार्मेसीबाहेकका सबै कोटामा विद्यार्थीको संख्या न्यून रहेको जिरी प्राविधिक शिक्षालयमा कार्यरत कुमार अधिकारीले बताए । यहाँ प्राविधिक धारमा डिप्लोमा तथा प्रि–डिप्लोमा बाली विज्ञान, भेटेनरी विज्ञान तथा सिभिल इन्जिनियरिङमा अध्यापन हुँदै आएको छ । बाली विज्ञान, भेटेनरी विज्ञान तथा सिभिल इन्जिनियरिङ सबैतर्फ ४० जनाको कोटा भए पनि हाल ८/१० जना विद्यार्थी मात्रै भर्ना भएको अधिकारीले जानकारी दिए । यस्तै, कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले जिल्लाका अन्य चार वटा माध्यमिक विद्यालयमा खोलिएको बाली विज्ञान प्राविधिक धार सञ्चालनमा पनि सङ्कट देखिएको छ ।
सम्बन्धित निकायले चासो नदिनु, विद्यार्थी भर्ना न्यून र अन्य आयस्रोत नहुँदा बाली विज्ञान प्राविधिक धार सञ्चालनमा सङ्कट आएको बताइएको छ । लापिलाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक खड्काले प्राविधिक धारअन्तर्गत तीन वर्षअघि गाउँपालिकाको पहलमा सीटीईभीटीबाट स्वीकृत भई बाली विज्ञान सञ्चालनमा ल्याए पनि निरन्तरता दिन मुस्किल भएको बताए । उनका अनुसार सुरुको वर्ष ४० को कोटामा २५ जना भर्ना भएको थिए । उनीहरू उत्तीर्ण भई गइसकेका छन् । तर दोस्रो वर्ष ११ जना मात्र भर्ना भए भने तेस्रो वर्ष छ जना भर्ना भए । यो वर्ष भने कोही पनि भर्ना हुन नआएको उनले बताए । भर्ना भएकाहरू पनि स्थानीय नरहेको उनले सुनाए । भर्ना भएका विद्यार्थीहरू हुम्ला, जुम्ला, सिन्धुपाल्चोक, भक्तपुर, सर्लाहीलगायतका जिल्लाका छन् । उनका अनुसार यहाँ छात्राका लागि होस्टेल निःशुल्क उपलब्ध छ । छात्रका लागि पनि यहीँ नजिकै सुलभ भाडामा बस्ने व्यवस्था मिलाइएको भए पनि विद्यार्थी भर्ना हुन नआएपछि यो धारको पठनपाठन बन्द नै भएको उनले बताए ।
त्यस्तै, जिल्लाको तामाकोशी गाउँपालिकाको गोल्मेश्वर र भीमेश्वर नगरपालिकाको सुस्पा क्षमाती माध्यमिक विद्यालयमा पनि प्राविधिक धारतर्फ भर्ना शून्य भएको छ । शैलुङ गाउँपालिकाको शारदा माध्यमिक विद्यालयमा निःशुल्क भएकाले २२ जना मात्र भर्ना भएका छन् । ४० को कोटामा २१ जना नभए सीटीईभीटीबाट पाउने अनुदान नपाउने व्यवस्था रहेको विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले बताए । सीटीईभीटीकै तीन दरबन्दी रहेको भीमेश्वर नगरपालिका–४ जिलुको सर्ब माध्यमिक विद्यालयले पनि विद्यार्थी टिकाउन निःशुल्क गरेको छ । यस विद्यालयमा पनि विद्यार्थी न्यून रहेका छन् ।
यता, प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले भने प्राविधिक पढेर पनि रोजगार पाउन नसक्दा प्राविधिक पढ्न विद्यार्थीको रूचि घट्दै गएको बताउन थालेका छन् । तीन÷चार वर्ष लगाएर पढ्दा समेत स्वदेशमा रोजगार नपाएर विदेश नै जानुपर्ने बाध्यता रहेकाले प्राविधिकतर्फ विद्यार्थीको रूचि घटेको उनीहरूको भनाइ छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा, बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया