Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्प गएको पाँच वर्षसम्म पनि दजर्नौ विद्यालयको पुनर्निर्माण अलपत्र

भूकम्प गएको पाँच वर्षसम्म पनि दजर्नौ विद्यालयको पुनर्निर्माण अलपत्र


सुबास बस्नेत
दोलखा, वैशाख २४
दोलखाका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई कोरोना भाइरसको भन्दा पनि लकडाउन खुलेपछि भत्केको विद्यालयमा पढ्न जानुपर्ने बाध्यताले बढी चिन्तित बनाउने गरेको छ । भूकम्प गएको ५ वर्ष बितिसक्दा पनि जिल्लामा अझै दर्जन बढी विद्यालयको पुनर्निर्माण हुन नसकेको छैन । दुई नगरपालिकासहित सात गाउँपालिका रहेको दोलखा जिल्लामा सदरमुकाम आसपासदेखि दुर्गम भेगमा रहेको दर्जनौं विद्यालय भवन अझै निर्माण हुन सकिरहेका छैनन् ।

जिल्लाका करिब साढे एक सयभन्दा बढी विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको छ । भूकम्पले क्षति पु¥याएका तीन सय ६५ वटा विद्यालयमध्ये चैत मसान्तसम्म दुई सय २१ वटा विद्यालय भवनको मात्र पुनः निर्माण सम्पन्न भएको छ । केही विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेका छन् । त्यसैगरी दर्जन बढी विद्यालयले अस्थायीजस्ताका टहरामा विद्यार्थी राखेर पठनपाठन गराउँदै आएको बताएका छन् । हाल कोरोना भाइरस संक्रमण नियन्त्रण रोकथामका लागि सरकारले लकडाउन गरेका कारण पठपाठन बन्द रहे पनि लकडाउन खुलेसँगै सयौं विद्यार्थीहरूको पठनपाठन अस्थायी टहरामा नै हुने निश्चित छ ।

वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको कालिदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक राम्जी घिमिरेले अस्थायी टहरामा पठनपाठन गराउँदा साह्रै समस्या हुने गरेको बताए । वर्षाको बेलामा पानी चुहिने, जाडोमा असाध्यै चिसो र गर्मीमा असाध्यै गर्मी हुँदा पठनपाठनमा समेत असर पुग्ने गरेको उनको भनाइ छ । कालिदेवी आधारभूत सामुदायिक विद्यालय विगत पाँच वर्षदेखि अस्थायी टिनको टहरा पठनपाठन हुँदै आएको छ । स्थानीय सरकार र जिल्ला तहमा पटक–पटक भवन आवश्यक भएको जानकारी गराए पनि अहिलेसम्म कुनै गुनासो सुनुवाई नभएको उनले बताए । उक्त विद्यालयमा अहिले चारवटा अस्थायी टिनका टहरा रहेका छन् ।

जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको सदरमुकाम चरीकोटदेखि नजिकको दूरीमा रहेको सुन्द्रावती आधारभूत विद्यालयले जस्ताको टहरामा राखेर विद्यार्थीलाई पठनपाठन गराएको करिब ५ वर्ष बित्यो । भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि सदरमुकाम नजिक रहेको यस आधारभूत विद्यालय अझै निर्माण हुन सकेको छैन । विद्यालय व्यवस्थापन समितिले पटक–पटक सरकारी निकायमा भवन माग गरे पनि विद्यालयको भवन निर्माणमा कुनै चासो नदेखाएको जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका अनुसार केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाले गत वर्ष नै निर्माण सुरु गर्ने भनिएका केही विद्यालय भवन पनि अझै निर्माण हुन सकेका छैनन् । विद्यार्थी संख्या कम भएका तल्लो तहका विद्यालयको पुनर्निर्माण हुन नसकेको प्राधिकरणले जनाएको छ । भारत र चीन सरकारले शिक्षा विभागमार्फत् भूकम्पअघि नै निर्माण गर्ने जिम्मा लिएका जिल्लाका दर्जन बढी विद्यालयको अझै निर्माण सुरसार हुन नसकेको विद्यालयहरूले जनाएका छन् ।

चिनियाँ सरकारले निर्माण गर्ने भनिएको विद्यालयका लागि निर्माण कम्पनी, कामदार चीनबाटै आउने भनिए पनि नआएको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा दोलखाले जनाएको छ । कोरोना संक्रमण नियन्त्रण र लकडाउन खुलेसँगै विद्यालय निर्माणको कामले गति लिने प्राधिरकणले जनाएको छ । त्यसैगरी भारतीय राजदूतावासले निर्माण गर्ने भनिएका ग्रामीण भेगका विद्यालयको पनि हालत उस्तै रहेको छ । भारतीय राजदुतावासले दुर्गम भेगमा रहेका विद्यालयको सर्भे गरेर मात्र अलपत्र परेको स्थानीय विद्यालयका शिक्षक र विद्यार्थीको दुखेसो रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x