Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअव्यवस्थित सडक निर्माणले वर्षायाममा पहिरो, खेतीयोग्य जमिनको विनाश

अव्यवस्थित सडक निर्माणले वर्षायाममा पहिरो, खेतीयोग्य जमिनको विनाश


सुबास बस्नेत
दोलखा, असार २८
स्थानीय सरकारले हरेक वर्ष दर्जनौंको संख्यामा अव्यवस्थित रुपमा नयाँ सडक निर्माण गर्दा गाउँमा पहिरोको जोखिम बढेको छ । जिल्लामा हरेक वर्ष निर्माण भएका अव्यवस्थित ग्रामीण सडकले पहिरोको जोखिम बढाउने तथा खेतीयोग्य जमिन बगाउने गरेको किसानहरुको गुनासो छ ।

हचुवाको भरमा विना प्राविधिक, विना सर्वे निर्माण हुने सडकले वर्षायाममा धेरै मानिसको खेतीयोग्य जमिन बगाउने गरेको छ । स्थानीय सरकारका जनप्रतिनिधिले आफूखुसी सडक निर्माण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा हरेक वर्ष सडक निर्माणसम्बन्धी मुद्दा चल्ने गरेको छ । प्राविधिकको डिजाइन बिना बजेट सकाउने उदेश्यले निर्माण गरेका अस्थायी सडकका कारण जिल्लाभर सयौं मानिस पीडित बनेका छन् । नौ स्थानीय तह रहेको दोलखा जिल्लामा केन्द्र, प्रदेश तथा स्थानीय सरकार हुँदै आउने बजेटको ५० प्रतिशत बजेट सडक निर्माणमा खर्च हुने गरेको छ ।

अन्य संरचना निर्माणभन्दा सडक निर्माणले पहिरो तथा भूक्षयको जोखिम बढाउने गरेको सडक डिभिजन कार्यालयका प्राविधिकहरुको भनाई छ । दोलखाका स्थानीय निकायका जिम्मेवार व्यक्तिले आफ्नो तहमा सडक निर्माण गरेर बजेट सकाउने प्रविधि वर्षेनी बढ्दै गएको छ । अधिकांश स्थानीय सरकारले आफ्नो तहलाई विकसित साबित गर्न विना सर्वे, विना प्राविधिक सडक खन्ने गरेका छन् । जसले गर्दा जिल्लाका अधिकांश स्थानीय तहमा सडक निर्माणकै कारण सडक आसपासका बस्तीमा पहिरोको उच्च जोखिममा परेका छन् । प्राविधिकको डिजाइनविपरीत निर्माण भएको सडकका कारण एकातिर जिल्लामा वर्षेनी सयौंको संख्या सवारी दुर्घटना हुने गरेका छन् भने अर्कोतिर दर्जनौं मानिस बाढिपहिरोको शिकार हुने गरेका छन् ।

स्थानीय तहले निर्माण गरेका कच्ची सडक हिउँदमा धूलाम्मेदेखि वर्षात्मा हिलाम्मे हुने गरेका छन् । प्राविधिकको सर्वेविना निर्माण भएका सडकको वर्षात्मा नामनिशान समेत मेटिने गरेको मेलुङ गाउँपालिका स्थानीय सवारी चालक कृष्ण तामाङले बताए । लाखौं खर्च गरेर निर्माण गरेको सडक वर्षात्को भेलले सडकसँगै खेतीयोग्य जमिन समेत बगाउने गरेको उनले बताए । दर्जनौँ मानिसको सयौँ रोपनी खेतीयोग्य जमिनमा बाढी पहिरो लाग्ने गरेको दोलखा स्थानीयको गुनासो रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया