Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहेन्द्रनगर म्युजियममा युवाहरूको भिड

महेन्द्रनगर म्युजियममा युवाहरूको भिड


कञ्चनपुर ।
राजमार्गकै किनारामा दरबार स्टाइलमा रातो रङ्गले रङ्गाइर एउटा भवन निमार्ण गरिएको छ । उक्त भवनका छततिर चुच्चा पारिएका गजुरहरू छन् । भित्तामा सुन्दर र आकर्षक झ्यालहरू राखिएका छन् । ती झ्यालमै बसेर सबैले फोटा नखिचेर त फर्किनै मान्दैनन् । अनि बाहिर बसको हेलिकप्टरसँग सेल्फी पनि नलिई फर्किए त सायद महेन्द्रनगर आएको नि अनर्थ हुनेजस्तो छ ।

यो कुरा हो, हालै मात्र निमार्ण गरिएको महेन्द्रगरको एउटा पर्यटकीय गन्तव्य, महेन्द्रनगर म्युजियमको । करिब सात करोड लगानीमा पाइलट वेद प्रकाश उप्रेतीद्वारा निर्माण गरिएको महेन्द्रनगर म्युजियममा निर्माण कार्य पूरा हुन नपाउँदै सेल्फी फोटा लिने र टिकटक बनाउने युवायुवतीको भिड दिनप्रतिदिन बढी रहेको छ । अन्य दिनभन्दा शनिबार भिडभाडले टिकट उपलब्ध गराउँदै धौ–धौ हुने गरेको बताउँछिन् टिकट काउन्टरमा टिकट वितरण गर्ने कर्मचारी सविता डगौरा ।

म्युजियमलाई निकै सुन्दर बनाइएको छ । गेटमा सुन्दर ढोका निर्माण गरिएको छ । घुम्न आउनेहरू ढोकामा पुगेदेखि नै फोटा र सेल्फि लिन सुरु गरिहाल्छन् । भित्र पसेपछि टिकट काट्ने ठाउँको व्यवस्था गरिएको छ । टिकट काट्ने ठाउँलाई पनि सुन्दर फोटाहरूले सजाइएको छ । टिकट लिएपछि भित्र पस्ने ठाउँमा थारु पहरिनमा सजिएर टिकट चेकजाँच गर्ने मान्छे राखिएका छन् । त्यहाँबाट भित्र पसेपछि मनै लोभ्याउने पोखरी अनि पानीका धाराहरू निमार्ण गरिएका छन्, जहाँबाट निरन्तररूपमा हिउँदमा तातो पानी र गर्मीमा चिसोपानी कलकल बग्ने गर्छ । अनि पोखरीको छेउमै रहेको हेलिकोप्टर चढ्न र फोटो खिचाउँछन् । पछिल्लो समयमा महेन्द्रनगरमा रहेको महेन्द्रनगर म्युजियम निकै चर्चित पर्यटकीय गन्तत्यका रूपमा रुचाइँदै छ ।

भीमदत्त नगरपालिकामा निर्माणाधिन नेपालकै पहिलो अप्स एण्ड डाउन म्युजियममा टिकटक, सेल्फी लिनको लागि हाल खुला गरिएको छ । क्याप्टेन बेद उप्रेती ट्रस्ट धनगढीका सञ्चालकले निर्माणाधीन महेन्द्रनगर म्युजियम र स्ट्रेच्यू अफ सिद्धनाथाबाबामध्ये सर्वसाधारणका लागि भित्री म्युजियमबाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेका छन् । फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीहरूले निकै दबाब दिएपछि निर्माणाधीन म्युजियमबाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको क्याप्टेन बेदप्रकाश उप्रेतीले बताए ।

विगत सात वर्षदेखि निर्माणाधीन उक्त म्युजियम २०७७ बैशाख महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य लिइएको भए पनि लकडाउनका कारण निर्माण कार्य ठप्प हुँदा समयमै सञ्चालनमा ल्याउन नसिकिएको क्याप्टेन उप्रेतीको भनाइ छ । यसअघि क्याप्टेन बेद उप्रेती ट्रस्टद्वारा धनगढीमा एअर क्राफ्ट म्युजियम र काठमाडौँमा एभिएसन म्युजियम सञ्चालनमा रहेका छन् ।

क्याप्टेन बेद उप्रेती ट्रस्टले यसलाई तेस्रो प्रोजेक्टका रूपमा काठमाडौं र धनगढीको म्युजियमभन्दा यो म्युजियम र पृथक खालको रहेको बताएको छ । यस म्युजियमभित्र रहेको अप्स एण्ड डाउन (उल्टा फोटो देखिने ) म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुनेछ । यस म्युजियम परिसरबाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमिङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूरपश्चिमका पर्यटकीयस्थलहरूका हवाइ चित्रहरू प्रमुख विशेषताहरूका रूपमा रहेका छन् ।

म्युजियमभित्र अप्स एण्ड डाउन, थ्रिडी र इलुजन सेक्सनहरू रहेका छन् । खासगरी युवायुतीहरूलाई लक्षित गरेर बनाइएको यो म्युजियम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि मुख्य भूमिका खेल्ने क्याप्टेन उप्रेती बताउँछन् । ‘प्रमुख टुरिस्ट सेन्टरका रूपमा म्युजियमलाई विकास गर्छौँ ।’, क्याप्टेन उप्रेतीले भने– ‘निकट भविष्यमै म्युजियमलाई पछाडीको जमीनमा पनि विस्तार गर्छौ ।’ सिद्धनाथ बाबाको जटाबाट निस्किने पानीको फोहोरा र विभिन्न देवीदेवताका शालिकहरूले पर्यटकहरू आकर्षित हुनुका साथै म्युजियमले विद्यार्थीहरूलाई प्रेरणा, सिद्धनाथ बाबाको दर्शनपश्चात् पाइने सन्तुष्टि, युवाहरूलाई थ्रिडी र अप्स एण्ड डाउनको आकर्षण र गर्मीमा याममा नौ धारासहितको स्वीमिङ पुल तथा हेलिकोप्टरभित्र बसी जोकोहीले फोटोग्राफ खिच्न पाउने अवसरले यो म्युजियम सुदूरपश्चिमको मूख्य पर्यटकीय स्थल बन्ने देखिन्छ ।

म्युजियम निर्माणका लागि क्याप्टेन बेद उप्रेती र उनकी माता सरस्वती उप्रेतीले बेद उप्रेती ट्रस्टका लागि जग्गा दान दिएका छन् । जग्गाको मूल्य करब तीन करोड रुपैयाँ र म्युजियमको निर्माणमा चार करोड रुपैयाँ समेत गरी करिब सात करोड रुपैयाँको लागतमा म्युजियम निर्माण गरिएको हो । म्युजियम निर्माण गर्न क्याप्टेन बेद उप्रेतीले विदेशमा प्रशिक्षक पाइलटको जागिरबाट आर्जन गरेको चार करोड रुपैयाँ लगानी गरेका हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया