Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसिंगटी खोला जलविद्युत् आयोजनाको परीक्षण सफल

सिंगटी खोला जलविद्युत् आयोजनाको परीक्षण सफल


दोलखा ।
दोलखाको सिंगटी खोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत् आयोजनाको परीक्षण विद्युत् उत्पादन सफल भएको आयोजनाले जनाएको छ । उत्तरी दोलखाको सिंगटी खोलामा निर्मित आयोजनाको केहीदिन अघिदेखि सुरु गरिएको विद्युत् उत्पादन परीक्षण सफल भएको हो ।

विद्युत्गृह हेडवक्र्स, टनेल, पेनस्टकलगायतका भौतिक संरचनाहरूको परीक्षणपश्चात् गरिएको विद्युत् उत्पादनको परीक्षण सफल भएको सिंगटी खोला जलविद्युत् आयोजनका आयोजना प्रमुख मनहरी सापकोटाले बताए । तर विद्युत् उत्पादन गर्न आयोजना सफल भए पनि सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माण नहुँदा आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएकोले आफूहरूले आयोजना सम्पन्न गरेको खुशी मनाउन समेत नसकेको दुखेसो सापकोटाको छ ।

१२ दशमलव पाँच मेवा क्षमताका दुईवटा जेनेरेटरबाट २५ मेवा विद्युत् आयोजनाबाट उत्पादन भएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाले बताएको छ । आयोजनाले स्थानीय प्रभावितलाई सेयर वितरण गरिसकेको छ भने सर्वसाधारणका लागि आगामी चैत ६ गतेदेखि आईपीओ बिक्री गर्न लागेको आयोजना प्रमुख मनहरि सापकोटाले बताए ।

प्रारम्भमा चार अर्ब ६३ करोड रूपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले तीन अर्ब ३० करोड रूपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा एक अर्ब ४५ करोड रूपैयाँ स्वपुँजी लगानी रहेको छ । आयोजना निर्माण अवधिमा भएको मूल्य वृद्धि, भूकम्प, कोभिडजस्ता कारणले आयोजना निर्माणमा भएको ढिलाइले लागत बढेको तथा अन्तिम लगानी कति पुग्यो भन्ने हिसाब भइरहेको आयोजनाले बताएको छ । सुरुमा १६ मेवा क्षमता रहेको उक्त आयोजनाको क्षमता वृद्धि गरी पछि २५ मेवा पु¥याइएको थियो ।

आयोजनाबाट उत्पदित विद्युत् खेर जाने अवस्था अइसकेको सन्दर्भमा सिंगटी–लामासाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुंगेललाई प्रश्न गर्दा एक सय २५ वटा टावर निर्माण गरी ४० किलोमिटर डबल सर्किट तार तान्नुपर्नेमा निर्मित एक सय १७ वटा टावरहरूमा करिब ३१ किलोमिटर सिंगल सर्किट तार तान्ने काम समाप्त भएको उनले बताए ।

जग्गा विवादको कारण लामो समयसम्म बन्न नसकेका आठवटा टावरहरूको जग निर्माण गर्ने काम सम्पन्न भइसकेकोले अव काम द्रुत गतिमा हुने उनको भनाइ छ । टावर निर्माण गर्ने, सिंगल सर्किट तार तान्ने तथा विद्युत् प्रसारण गर्नका लागि सिंगटी तथा लामोसाँघुमा रहेका सबस्टेसनमा उपकरण जडान गर्न प्राविधिकरूपमा अब डेढ महिना जतिको काम बाँकी रहेको आयोजना प्रमुख ढुंगेलको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया